शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

दाहालको होला त भारतमा राजनीतिक भेटघाट ?

फाइल तस्बिर

काठमाडौँ : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्‍नी सीताको उपचारका लागि परिवार भारतको मुम्बई प्रस्थान गरेका छन् । उनी लामो समयदेखि आफ्नो पत्‍नी सीताको उपचारमा समय दिँदै आएका छन् । भारतको दिल्‍ली, थाइल्याण्डको बैंकक र अमेरिका डीसीमा उपचार गराईरहेका उनले यसपटक भारतको मुम्बई लगेका हुन । दिल्लीमा लैजाँदा राजनीतिक भेटघाटको निकै ठूलो हल्ला हुन सक्ने भएपछि उनले मुम्बईको अस्तपताल चयन गरेका हुन् । एअर एम्बुलेन्समार्फत उनी अहिले मुम्बई प्रस्थान गरेका हुन् ।

पत्‍नीको उपचारका लागि चिकित्सकसँग छलफलपछि दाहाल बुधबार स्वदेश फर्कनेछन् । कूटनीतिक स्रोतका अनुसार दाहाल मुम्बईबाट दिल्ली हुँदै काठमाडौँ आउने बताइएको छ। यद्यपि दाहाल-नेपाल खेमाको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष दाहालको कुनै राजनीतिक भेटघाट भारतमा नहुने दाबी गरेका छन् ।

‘दाहाल मुम्बई जानु भएको हो । उहाँ फर्कंदा दिल्ली भएर फर्किए पनि विमानस्थलबाट बाहिर ननिस्कने हुँदा भेटघाटको सम्भावना देख्दिन,’ श्रेष्ठले भने, ‘यहाँ यस्तो राजनीतिक अवस्था छ । त्यसैले छोरीहरुलाई छोडेर उहाँ काठमाडौँ फर्कने हतारमा नै हुनुहुने हुनाले भेटघाटको सम्भावना छैन् ।’

सचिवालयका एक सदस्यले भने 'पूर्व प्रधानमन्त्री दाहाल भारत जाँदैहुनुहुन्छ अनि उपचारको प्रक्रियामा गएपछि पक्कै राजनीतिक भेटघाट हुनेछ ।' ‘नेपालसम्म आएर घरमा भेट्‍न पुग्‍ने भारतीय राजनीतिज्ञ, प्रशासकहरु दाहाललाई भेट्न मुम्बई वा दिल्लीको एअरपोर्ट नपुग्‍लान भन्‍न सकिँदैन,’ ती सदस्यले भने, ‘हामी जाँदा त भेटघाट हुन्छ । उहाँ त मुलुकको पूर्वप्रधानमन्त्री अनि ठूलो दलको डाइनामिक लिडर ।’  

दाहाल आजै मुम्बईमा पत्‍नीको उपचार प्रक्रिया अघि बढाएर मंलबार दिउँसो दिल्ली उड्‍ने र दिल्लीमा एक रात बिताएर भेटघाटको प्रक्रिया अघि बढाउने तयारी पनि रहेको दिल्लीस्थित अधिकारीले जानकारी दिए । 

दाहालले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धमा यसअघि नै अन्तर्राष्ट्रिय समर्थन खोजेका थिए । दाहालले युरोप र अमेरिकी देशहरूले समेत प्रतिनिधि सभा विघटनमा नबोलेको देख्दा आफू अचम्मित भएको बताएका थिए ।

प्रतिनिधि सभा विघटन गर्न ओलीलाई भारतले साथ दिएको संकेतका रूपमा दाहालले भनेका थिए, ‘भारत त म भन्दिनँ, आफूलाई लोकतन्त्रको हिमायती भन्ने युरोपेली र अमेरिकी देशहरू समेत प्रतिनिधि सभा विघटनको विरोधमा नबोलेको देख्दा मलाई अचम्म लागेको छ ।’