आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

वडा अध्यक्षले काम नगर्ने ठेकेदार थुनेपछि (भिडियोसहित)

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ स्थित झौखेल कवासे खोला सडक पुल बनाउने ठेक्का पाएको ठेकेदार एसपीपी कन्स्ट्रक्सन एण्ड सप्लायर्सले काममा वास्ता नगरेपछि उक्त वडाका वडाध्यक्ष श्यामसुन्दर धिमालले हिजो निर्माण व्यवसायीसहित उसका प्रतिनिधिलाई वडा कार्यालयमा थुनिदिए ।

वडा अध्यक्ष धिमालले ठेकेदारलाई थुनेपछि त्यसको जानकारी प्रमुख जिल्ला अधिकारीलाई दिएका थिए । ‘पूर्वाधार विकास कार्यालय र नगरपालिकाका जनप्रतिनिधिले भोलि बिहान छलफल गरौंला भनेपछि मैले उहाँहरुलाई हिजो चार बजे छाडिदिए,’ धिमालले इकागजसँग भने, ‘यहाँ जग्गाको समस्या छैन, ठेकेदारले काम नगरेपछि जनताले दुःख पाएको हुनाले बाध्य भएर थुनेको हुँ ।’

वडा अध्यक्ष धिमालले ठेकेदार र उसको कर्मचारीलाई थुनेपछि आज बिहान निर्माणस्थलमा जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय प्रमुख, ठेकेदार र स्थानीय वासिन्दाबीच छलफल भयो । छलफलमा अस्थायी डाइभर्सन सञ्चालनका लागि स्थानीयले जग्गा उपलब्ध गराउने र ठेकेदारले काम सुरु गरिहाल्ने प्रतिज्ञा गर्न लगाइएको वडा अध्यक्ष धिमालले बताए । 

ठेक्का पाएलगत्तै गत साउनमा ठेकेदारले भइरहेको पुल भत्काइदिए । तर काम गरेनन् । यसले गर्दा चाँगुनारायण वडा नं. ३, ४, १ लगायत भक्तपुरको उत्तरी भेगका हजारौं स्थानीय बासिन्दा मर्कामा परे । उक्त पुल नबन्दै र वैकल्पिक बाटो तयार नहुँदै चाँगुनारायणकै वडा नंं. १ ले सल्लाघारी–दुवाकोट खण्डमा ढल हाल्ने काम थाल्यो । ढल बिच्छ्याउने क्रममा बाटो पूरै बन्द गरिएको छ ।

कवासे खोलादेखि झौखेलतर्फ आउने सडक खण्डमा गत वर्षायाममा गएको पहिरोका कारण सडक क्षतविक्षत छ । त्यसमा पनि ठेकेदारले समयमा काम नगरेको स्थानीय भुक्तभोगीको गुनासो छ ।