शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सातदोबाटोको पराजित लयमा पूर्णविराम

काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार संकटा क्लब सातदोबाटो युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा जितबाट बञ्चित भएपछि संकटाले शीर्ष दुईमा रहेका टिमहरूसँगको दूरी घटाउने मौका गुमायो । 

पछिल्लो खेलमा च्यासल युथ क्लबसँग बराबरी खेलेको संकटा शुक्रबारको खेलमा २२ औँ मिनेटमा पछि परेको थियो । सातदाबोटोका लागि शुसिल राईले गोल गरेका थिए । तर १० मिनेटपछि नै संकटा खेलमा फर्कन सफल भयो । संकटाका लागि जय गुरुङले बराबरी गोल गरे । 

संकटाबाट अंक खोस्न सफल भएपछि सातदोबाटोको पराजित लयमा ब्रेक लागेको छ । सातदोबाटोले पछिल्ला दुई खेलमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबसँग पराजय भोगेको थियो । आठौँ चरणको पहिलो खेल बराबरीमा टुंगिएसँगै संकटाले १४ अंक बटुलेको छ । उ तेस्रो स्थानमा यथावतमा छ । उता सातदोबाटो भने नौ अंकसहित आठौँ स्थानमा छ ।