आठ जनाका हत्या आरोपित नसिमलाई छुटाउने चलखेल
मुद्दामाथि सुनुवाइ चल्दै , सोमबार फैसलाको तयारी
बुटवल - आठ हत्या, एक ज्यान मार्ने उद्योग र २ डाका चोरी मुद्दाका आरोपी नसिम खाँबारे आइतबारदेखि कपिलवस्तु जिल्ला अदालतमा अन्तिम बहस चल्दै छ । सोमबार सम्म टुंगिने र सम्भवतः सोमबार नै फैसला आउने उक्त मुद्दामा जिल्लाबासी मात्र होइन सिंगो लुम्बिनी प्रदेशकै चासो देखिन्छ । आइतबार खाँनविरुद्धका ७ हत्या तथा अपहरण र लुटपाट मुद्दामा बहस चलेको अधिकवक्ता वृजेन्द्र चौधरीले बताए ।
२ नम्बर इजलाशमा जारी उक्त मुद्दाको सुनुवाई न्यायाधीश जवाहर प्रसाद सिंहले गर्दैछन्। अदालत परिसर क्षेत्रभरि आइतबार फैसला प्रभावित पार्ने र प्रभावित पार्न नदिने समूहको व्यापक चलखेल तथा उपस्थिति थियो ।
२ बालबालिका, ४ माओवादी निकट कार्यकर्ता र १ कर्मचारी हत्या आरोपी खाँलाई २ वर्षअघि मात्रै प्रहरीले काठमाडाैँबाट सीआईबीको सहयोगमा पक्राउ गरेको थियो । त्यसपछि उनीमाथि आरोप लागेका मुद्दाको सुनुवाइ चल्दै आएको छ ।
को हुन् खाँ र के छ आरोप ?
माओवादी सशस्त्र द्वन्द्वका क्रममा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका नाइके खाँले त्यस क्रममा थुप्रै माओवादीको हत्या गरेका थिए । त्यस आरोपबाट बच्न उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भए । त्यस लगत्तै उनले हत्या, अपहरण, लुटपाट लगायतका घटनामा संलग्न भएको अदालतमा पेस गरिएका प्रहरी प्रतिवेदनहरुमा उल्लेख छ ।
२०७२ सालमा एमालेको सदस्यता लिएका खाँलाई खुसी बनाउन एमालेले उनकी श्रीमती फौजिया खाँलाई २०७४ सालमा समानुपातिक सूचीबाट प्रदेश सांसद बनाएको थियो । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा अपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हात-हतियार बेचविखन, अपहरण तथा कन्ट्रयाकमा हत्या गर्नेसम्मका काम गर्न थाले । खाँले माओवादी जिल्ला सदस्य प्रेम परियार (भुवन) को २०६३ साल फागुनमा गोली हानी हत्या गरेका थिए । त्यसै गरी खाँको समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिका स्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या तथा लुटपाट गरेको मुद्दा जाहेरी अदालतमा छ । लगत्तै उनले २०६४ मंसिर २५ गते तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरन्जन पौडेलको अपहरण गरे ।
करिब ४ लाख फिरौती लिएर ८ दिन पछि छाडेका थिए । चन्दा दिन नमानेको भन्दै तत्कालिन गाविस सचिव राममिलन गुप्तालाई खाँ र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौँमा पिपरा गाविसमै गोली हानी हत्या गरेका थिए । खाँको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानमाथि आक्रमण गर्दा स्थानीय सर्वसाधारण अकाली कोहारलाई गोली लाग्यो र उनको मृत्यु भयो ।
नसिबुल्लाह मुसलमानमाथि हत्या प्रयास गरेको भन्दै खाँलाई ज्यान मार्ने उद्योगको अर्को मुद्दा छ । लगत्तै फुलिकाका माओवादी अवध राज्यका प्रभावशाली युवा नेता राजेन्द्र तिवारीलाई उनकै योजनामा २०६७ वैशाख १३ गते पिपरा गाविसमै गोली हानी हत्या गरियो । हत्याको श्रङ्खला बढे पनि पक्राउ नपरेका उनको समूहलाई राजेन्द्र तिवारीको हत्या प्रकरणपछि प्रहरीलाई पक्राउ गर्न ठूलो दबाब आयो ।
तत्कालिन प्रहरी प्रमुख शरद चन्दले जेल बाट भागेका श्रवण मुराउ र उनको खोजी तीव्र पारे । भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिए पनि खाँ भने बच्न सफल भए । खाँ समूहले पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रेशरको मजदुर ज्ञान बहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफैँले गरेकोे विज्ञप्ति खाँले खुलाएका छन् । लगत्तै उनी पुन: भारतको चाकरचौडा क्षेत्रमा बसेर अपराधिक गतिविधी सञ्चालन गरिरहेका थिए । यसबीच उनले २०७५ फागुन ४ गते मायादेवी गाउपालिका ४ का वडा अध्यक्ष फत्ते मोहम्मदको ४ वर्षीया बालक अयमानको अपहरण गरी ८ गते हत्या गरेको थिए । बालकको शव उनकै घर अगाडि फ्याकिएको थियो ।
कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याको ६ वटा मुद्दा र एउटा डाँका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ । माथिका घटना अनुसन्धान गरेको प्रहरीको हरेक प्रतिवेदनमा खाँको संलग्नता र खाँ नै हत्या योजनाकार भएको मिसिलहरुमा उल्लेख छ । उनका हरेक हत्यामा सहयोगी श्रवण मुराउलाई अदालतले भने यस अघि नै १ सय १७ बर्षको कैद सजाय तोकी हाल कारागारमा सजाय भुक्तान गरिरहेका छन् ।
राजनितिक तथा आर्थिक चलखेल चलेको र खाँसहित उक्त घटनामा रहेका अन्यहरुलाई पनि छाड्ने योजनाअनुसार सेलाएको मुद्दा एकाएक सक्रिय भएको पीडित परिवारको आरोप छ । मृतक शिवपुजन कुर्मीका छोरा होमप्रकाश चौधरीले राजनितिक र आर्थिक चलखेलका कारण खाँ र यस घटनामा प्रत्यक्ष संलग्नहरुलाई छाड्ने हल्ला बाहिर आएको बताए ।
“हामी न्याय चाहन्छौ, सिंगो जिल्लालाई खाँको अपराध बारे थाहा छ, प्रमाण छ अब पनि न्याय मर्यो भने हामी पिडितको के लाग्छ” उनले भने । यता आरोपी खाँले आफू सशस्त्र भूमिगत समूहमा आबद्ध हुदा भएको राजनितिक घटना भएकाले यसलाई सरकार र विद्रोही पक्षको सहमतिअनुसार लिनुपर्ने जिकिर गर्छन् । अदालतमा बयान दिने क्रममा उनले सबै आरोपमा आफुलाई जर्बजस्ती फसाइएको दाबी गरेका छन् ।

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

प्रतिक्रिया