आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

पार्टीमा फरक भूमिका खोज्‍दै नारायणकाजी

काठमाडौँ : नेकपा (पुष्पकमल दाहाल-माधवकुमार नेपाल खेमा) का प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ पार्टीमा फरक भूमिका खोज्दैछन् । उनको चाहना महासचिव पदमा देखिन्छ । उनी पार्टी प्रवक्ता भन्दा पनि ‘कन्स्ट्रक्टीभ’ भूमिकामा आफूलाई उभ्याउन खोजेको बताएका छन् ।

‘प्रवक्तामा रहेको लामै भयो अब फरक ढंगले अघि बढ्ने सोच राखेको छु । सबैको सल्लाहमा हुने विषय भएकाले छलफल चलिरहेको छ,’ उनले भने, ‘पद र जिम्मेवारी पार्टीभित्रबाट तय हुने विषय हो । पदकै बारेमा धेरै सोचेको पनि छैन ।’

दलभित्र विभिन्‍न कार्य र संगठन बलियो बनाउने कार्यलगायतमा काम गर्ने चुनौती छ । त्यसतर्फ आफू केन्द्रित हुन चाहेको उनले स्पष्ट पारे । उनी पार्टीमा सचिवालय सदस्य मात्र होइन, अध्यक्ष पुष्पकमल दाहालको विश्वास पात्र समेत हुन् । शान्ति प्रक्रियामा तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला जोड्ने भूमिकामा उनी थिए ।

उनले स्पष्ट नखुलाए पनि दाहाल-नेपाल खेमामा उनी पनि महासचिवका लागि बलिया प्रतिश्‍पर्धी मानिन्छन् । उनले प्रवक्ता भन्दा संगठनका काममा सक्रिय रहने इच्छा नेतृत्वसँग राखेको एक नेताले बताए । यद्यपि माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलले दिने सुझावमा आधारित पद तय हुनेछ । कसैले पनि कार्यदलको सिफारिस तलमाथि नगर्ने र छलफल गरेर टुंगोमा लैजाने मनमुटाव नराख्‍ने सहमति भएको एक नेताले बताए ।

महासचिव पदका लागि सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, भीम रावल, श्रेष्ठ मात्र होइन अन्य आकांक्षी पनि छन् । तर, पाण्डे यसअघि पनि विष्णु पौडेलसँग झिनो मतले पछि परेका हुनाले उनलाई त्यहाँ लैजाने तर्क छ । पाण्डे आफैँमा सरल, काविल र सुझबुझ भएका नेतामा पर्ने हुनाले उनीमाथि विमत्ति रहने सम्भावना पनि कम देखिन्छ । रावल पनि बुद्धिजिवी नेता स्पष्ट वक्ता, राष्ट्रवादी छवि मात्र होइन मेहनती नेतामा पर्छन् । तर, ओलीतर्फ यस प्रकारको नेता नरहेकाले पनि दाहालतर्फ छनौट धेरै रहने देखिन्छ । जिम्मेवारी फरक-फरक राखेर व्यवस्थापन गरिने कार्य अध्यक्ष नेपालको समितिले तय गर्न सक्ने एक सदस्यले जानकारी दिए ।

‘तपाई पनि आंकाक्षी हो ?’ भन्‍ने जिज्ञासामा रावलले भने, ‘पद र पार्टी होइन, यहाँ मुलुकका लागि सबै एकताबद्ध भएर अघि बढ्न पर्ने अवस्था छ ।’ सरकारले मुलुकलाई संकटमा पारेको हुँदा त्यो भूमरीबाट निकास दिने विषयमा सबै लाग्‍नुपर्ने धारणा राखे । उनले भने, ‘पार्टीमा अध्यक्षज्यूको नेतृत्वमा बनेको कार्यदलले पद तय गर्नेछ । पछि त महाधिवेशनमा चुनिएर आउने हो । यतिखेर त काम गर्ने हो जहाँ जसरी हुन्छ राष्ट्र हितमा काम गर्नुपर्छ ।’