शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

सदस्य मनोनयनमा पक्षपात नगरेको राप्रपा अध्यक्ष लिङ्देनको दावी

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी सदस्यहरु मनोनयनमा कुनै पक्षपात नगरेको दावी गरेका छन्। बुधवार पार्टी कार्यालयमा आयोजित नवनिर्वाचत मनोनित पार्टी सदस्यहरुलाई शपथ ग्रहण गराउँदै अध्यक्ष लिङदेनले आफूमाथि मनोनयनमा पक्षपात गरेको आरोप लगाइरहे पनि त्यो सत्य नभइ निष्पक्ष ढंगले पार्टी सदस्यहरु मनोनित गरेको बताए।

उनले आगामी दिनमा पार्टीलाई सडक र निर्वाचन दुवै मोर्चामा सशक्त ढंगले प्रस्तुत गर्ने बताए। ‘पार्टीले राजसंस्था, हिन्दुराज्य पुनः स्थापनाको मुद्दासँगै भ्रष्टाचारबिरुद्ध, जनजीविकासँग सम्बन्धित, रोजगारसँग सम्बन्धित अन्य मुद्दाहरुसमेत लिएर अघि बढ्नेछु,’ उनले भने, ‘पार्टीमा मनोनयन सदस्यहरुको परिपूर्ति अहिले नै भइनसकेकोले अबका दिनमा लैङ्गिक, समावेशी र समानुपातिकताका हिसावले गरिनेछ ।’ उनले पार्टीमा महिलाको संख्यालाई संविधान बमोजिम पूर्ण गरेर जाने बताए।

सदस्य मनोनयनमा आन्तरिक प्रतिष्पर्धामा सहयोग गरेको नगरेको कुरालाई आधार नबनाएको उनको दावी छ।  ‘आवश्यक र अनिवार्य व्यक्तित्वहरुलाई हामीले ल्याउने काम गरेका छौँ,’ उनले भने, ‘करिब यसले पूर्णता प्राप्त गर्ने काम सुरु भएको छ ।’ असन्तुष्ट पक्षलाई समेत समेटेर लैजाने उनले दावी गरे । 

‘आगामी दिनमा राप्रपा सशक्त ढंगबाट अघि जान्छ । कुनै विवादमा अल्झिँदैन, अल्मलिँदैन,’ उनी भन्छन्, ‘अहिले हामीले मनोनयन गरेको सन्दर्भमा केही भ्रमहरु पनि साथीहरुका बीचमा आएको छ ।’ उनले समावेशी, समानुपातिक, विधानले निर्दिष्ट गरेका लैङ्गिक समावेशी, समानुपातिकताका कुराहरूमा ध्यान दिइने बताए । 

अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराज्य अहिले जनताको बीचमा लोकप्रिय मुद्दा बनेकाले अबका दिनमा यसलाई आफ्नो मूल मुद्दाको रुपमा लिइएको भएपनि जनताले पत्याउने ढंगको रणनीति नहुँदा विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताए।