शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

संविधानअनुसार प्रतिनिधि सभा विघटन हुँदैन भनेर सर्वोच्चलाई स्पष्ट भन्‍नुपर्छ : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतलाई संविधानअनुसार प्रतिनिधि सभा विघटन हुँदैन भनेर दलहरूले स्पष्ट भन्‍नुपर्ने बताएका छन् । प्रतिनिधि सभा पुनस्थापना गर्न अदालतलाई सिधै भन्‍नुपर्ने उनको भनाइ छ । 

जनता समाजवादी पार्टीले मंगलबार बानेश्‍वरमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘प्रतिनिधि सभा पुनस्थापना गर्नुपर्छ भनेर अदालतलाई सिधा भन्नुपर्छ । अदालतमा भएका मुद्दाबारे बोल्न हुने कि नहुने भन्ने बहस चलिरहेको छ । हामी राजनीतिक दलहरू मुद्दाको एक पक्ष भएकोले वकालत र जिकीर गर्न पाइन्छ । बोल्न मिल्छ ।’

मोही माग्‍नेले ढुंग्रो लुकाएर समस्याको समाधान नहुने पौडेलको तर्क छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । संविधानअनुसार विघटन गर्न नमिल्ने भएकाले कारणसहित सिधा अदालतलाई भन्नुपर्ने तर्क उनले गरेका हुन् । 

अदालतले संविधानमा उल्लेख भएका अक्षर र भावना समेटेर फैसला दिनुपर्ने पौडेलले बताए । आफूलाई न्यायालय र न्यायमुर्तिहरूबाट संसद पुनस्थापनाको फैसला हुने आशा रहेको पौडेलको भनाइ थियो ।