‘फुटबल क्यालेन्डर व्यवस्थित नहुँदा खेलाडीको फिटनेसमा समस्या’

काठमाडौँ- खेल्दा-खेल्दै मैदानमा कुनै खेलाडी लडे, उसको प्राथमिक उपचारका लागि दौडेर जाने मानिस फिजियोथेरापिस्ट हो । सामान्य भाषामा फिजियोथेरापिस्टको परिचय यही हो । हुन त फिजियोथेरापिस्टको सहयोगको आवश्यकता खेलाडीलाई मात्रै होइन, आम मानिसलाई पनि पर्छ । किनभने मांसपेसीसम्बन्धी समस्या हरेकलाई आउन सक्छ ।
मांसपेसीमा उत्पन्न समस्याको प्रकृति र यसलाई कसरी समाधान गर्ने भन्नेबारे सल्लाह दिने काम फिजियोथेरापिस्टकै हो । खेलकुदमा चाहिँ फिजियोथेरापिस्टको परिचय यतिमा मात्रै सीमित छैन । खासमा फिजियोथेरापिस्ट ‘फस्ट लाइन अफ डिफेन्स’ हुन् । कुनै बेला राष्ट्रिय फुटबल टिमका लागि काम गरेका विवेक विक्रान्त अधिकारी यसै भन्छन् ।
फुटबलकै कुरा गर्ने हो भने, टिमलाई गोल खानबाट रोक्ने मुख्य जिम्मेवारी रक्षापंक्तिको काँधमा हुन्छ । रक्षापंक्तिमा रक्षकबाहेक गोलरक्षक पनि हुन्छन् । यिनले आफ्नो टिमलाई गोल खानबाट रोक्न भरमग्दुर प्रयास गर्छन् । खेलको प्रकृतिअनुसार सफल वा असफल हुने कुरा त छँदै छ । अब यी खेलाडीलाई चोट लाग्न नदिने काम फिजियोथेरापिस्टको हो । यस अर्थमा फिजियोथेरापिस्टलाई ‘फस्ट लाइन अफ डिफेन्स’ भनिएको हो ।
यो वाक्यको सन्देश हो, खेलाडीलाई चोटबाट मुक्त पार्दै मैदानमा फर्काउने मात्र होइन, उसलाई घाइते हुनै नदिने रणनीति हुन्छ, फिजियोथेरापिस्टको । खेलाडीलाई घाइते हुन नदिन उसको फिटनेसमा ध्यान दिन आवश्यक रहन्छ । खेलाडीको शारीरिक अवस्था सधैँ बलियो अवस्थामा राख्न पालना गर्नुपर्ने नियम र गर्नुपर्ने काम धेरै हुन्छन् । फेरि फिजियोथेरापिस्ट वा खेलाडीले चाहेर मात्रै चोटबाट बच्न सकिँदैन । किनभने मैदानमा खेलाडी जुनसुकै बेला घाइते हुन सक्छ ।
सामान्यतया खेलकुदमा खेलाडीले सामना गर्नुपर्ने चोट दुई प्रकारको हुन सक्छ । पहिलो, ‘ट्रमाटिक इन्जुरी’ र दोस्रो ‘ओभरयुज अफ मसल्स’ । फुटबलको मैदानमा विपक्षी खेलाडीको ट्याकलबाट कोही खेलाडी घाइते भए, यो ‘ट्रमाटिक इन्जुरी’ हो । अनि कोही खेलाडी बल भेट्टाउन दौड्दै गर्दा ‘ह्यामस्ट्रिङ’को चोटको सिकार बन्न सक्छन् । यस्तो चोट ‘आभेरयुज्ड अफ मसल्स’का कारण हुन सक्छ । मतलब मांसपेसीमा आवश्यकताभन्दा बढी भार परे, खेलाडी घाइते बन्न पुग्छ ।
घाइते भएको खेलाडीलाई मैदानमा फर्किने गरी तयार पार्ने जिम्मेवारी फिजियोथेरापिस्टको हो । उसो त कतिपय खेलाडीको उपचारका क्रममा शल्यक्रियाको आवश्यक हुन्छ । तर शल्यक्रिया गर्नुअघि खेलाडीको प्रि-रिह्याबिलिटेसन हुन्छ । शल्यक्रियापछि गरिने रिह्याबिलिटेसन, पोस्ट-रिह्याबिलिटेसन हो । यी सबै काम फिजियोथेरापिस्टविना सम्भव छैन ।
स्पोर्टस् साइन्सको क्षितिज फराकिलो छ । यही विषयका विद्यार्थी रहेका विवेकको भूमिका पनि गहिरो छ । राष्ट्रिय फुटबल टिममा रहँदा उनको भूमिका फिजियोथेरापिस्ट तथा एथ्लेटिक ट्रेनरको थियो । खेलाडीले ९० मिनेटसम्म खेल्न गर्नुपर्ने शारीरिक तयारी र खेलपछिको रिकभरीका लागि विवेक योजना बनाउने गर्थे ।
शारीरिक श्रमपछि आराम कत्तिको जरुरी छ, यो सबैलाई थाहा भएकै कुरा हो । झन् खेलाडीका लागि त आरामको विकल्प छैन । ‘जसरी लामो यात्रापछि मोटरसाइकल सर्भिसिङ गरिन्छ, हाम्रो शरीरका लागि पनि हेरचाह आवश्यक पर्छ । खेलाडी राम्रोसँग रिकभर नभए अर्को खेलमा उसको प्रदर्शनको स्तर खस्किन्छ । अनि खेलाडीका लागि साइकोलोजिकल रिकभरी पनि उत्तिकै महत्वपूर्ण हुन्छ,’ विवेक भन्छन् ।
सामान्यतया फिजिकल रिकभरीका लागि कार्डियो ट्रेनिङ, साइक्लिङ, लाइट जगिङ गराइन्छ भने साइकलोजिकल रिकभरीका लागि मेडिटेसन, मनोरञ्जनका विभिन्न गतिविधि । फिजिकल रिकभरीका लागि खेलाडीले खानुपर्ने पौष्टिक आहाराको कुरा त छँदै छ । जसमा प्रोटिन, म्याग्नेसियम लगायतका खनिजको आवश्यकता रहन्छ ।
खेलाडीको फिटनेसका लागि चरणबद्ध काम गरिन्छ । योजना बनाइन्छ । पूरा वर्षलाई तीन भागमा विभाजन गरिएको हुन्छ । जसलाई प्रि-सिजन, सिजन र अफ-सिजन । ‘फरक फरक समयमा फरक फरक तरिकाले खेलाडीलाई फिजिकल ट्रेनिङ गराउनुपर्ने हुन्छ । ट्रेनिङको फ्रिक्वेन्सी, इन्टेनसिटी र एक्सरसाइजको छनौटमा ध्यान दिनुपर्छ,’ विवेक भन्छन् ।
फुटबल वा अन्य खेलको सिजन जारी रहँदा खेलाडीले नियमित रुपमा शारीरिक अभ्यास गरिरहेकै हुन्छन् । रिकभरीका लागि आवश्यक काम भइरहेकै हुन्छ । सिजन सकिएपछि अफ-सिजनको पालो आउँछ । ‘अफ सिजनमा खेलाडीको स्ट्रेन्थ बढाउन ट्रेनिङ गराइन्छ । किनभने खेलाडी जति बलियो भयो, घाइते हुने सम्भावना उति नै कम हुन्छ,’ विवेक भन्छन्, ‘प्रि-सिजनमा चाहिँ खेलाडीलाई छरितो बनाउन आवश्यक अभ्यास गराइन्छ । किनभने स्ट्रेन्थ बढ्दा खेलाडीको मुभमेन्टमा केही सुस्तता आएको हुनसक्छ ।’
युरोपियन फुटबलमा अथवा विकसित देशका खेलकुदमा प्रि-सिजन, सिजन र अफ-सिजनको अवधारणा नयाँ होइन । किनभने त्यहाँ सबै खेलका लागि क्यालेन्डर बनाइएको हुन्छ । नेपालमा भने फुटबल जस्तो सर्वप्रिय खेलकै व्यवस्थित क्यालेन्डर छैन । अनि यहाँको प्रि-सिजन भनेको केही अभ्यास खेल मात्रै हो ।
अस्तव्यस्त क्यालेन्डरका कारण एउटा खेलाडीले सातामै तीन-चार खेल खेल्नु नेपाली फुटबलका लागि सामान्य हो । काठमाडौँ उपत्यकाबाहिर हुने विभिन्न प्रतियोगिताका लागि एक ठाउँबाट अर्को ठाउँ रातारात पुगेर खेल्नु नेपाली फुटबलरको नियति नै हो । ‘तर यसले खेलाडी घाइते हुने सम्भावना बढिरहेको हुन्छ । अनि फिटनेस र रिकभरीमा ध्यान नपुग्दा खेलाडीको प्रदर्शनमा असर पर्छ,’ विवेक भन्छन् ।
फुटबल क्यालेन्डरलाई व्यवस्थित गर्ने जिम्मेवारी अखिल नेपाल फुटबल संघ (एन्फा)को हो । तर फिटनेस र रिकभरीका लागि सचेत हुनुपर्ने खेलाडी हो । यद्यपि यसका लागि उचित सुविधा र वातावरण मिलाउने जिम्मेवारी त एन्फा र क्लबकै हो ।
खेलाडीलाई चक्कुसँग तुलना गर्छन्, विवेक । ‘प्रयोग गरेपछि चक्कुलाई सफा गर्ने र धार लगाउने काम गरे यसको आयु लम्बिन्छ । त्यसरी नै खेलाडीको शरीरमा ध्यान दिए उसको प्रदर्शनमा एकरुपता आउँछ । तर नेपाली फुटबलमा खेलाडीको प्रदर्शन खस्किँदा यसको कारण फिटनेस पनि हो भनेर विश्लेषण गरिँदैन,’ विवेक भन्छन् ।
अमेरिकामा फिजियोथेरापी र स्पोर्ट्स साइन्स पढेका विवेक सन् २०१८ मा नेपाल फर्किएका हुन् । नेपाल आएपछि उनी एन्फासँग आबद्ध भए । त्यसभन्दा अगाडि उनले अमेरिकाको घरेलु फुटबलमा दोस्रो श्रेणीको लिग मानिने नर्थ अमेरिकन सकर लिग (एनएएसएल)मा खेल्ने क्लब सान फ्रासिस्को डेल्टाजमा काम गरे । अमेरिकी लिगमा काम गरेकाले त्यहाँ हुने विभिन्न प्रयोगबारे उनी जानकार छन् । कतिपय त्यस्ता प्रयोगलाई नेपालमा पनि अनुसरण गर्न सकिने उनको विश्वास छ ।
विवेक नेपालमा पनि खेलाडीहरूको फिटनेस डाटा संकलन गर्नुपर्ने मान्यता राख्छन् । ‘प्रशिक्षकले खेलाडीले कति गोल गर्यो, साथी खेलाडीलाई कति अस्सिट दियो भनेर हेर्लान् । हामीले हेर्ने चाहिँ उसको फिटनेस डाटा हो । उसको कार्डियो इन्डुरेन्स कस्तो छ, स्ट्रेन्थ कस्तो छ भनेर जाँच गर्नुपर्छ । तब न उसको फिटनेस बढाउन बढाउन प्रभावकारी ढंगले काम गर्न सकिन्छ,’ विवेक भन्छन् ।
कमसेकम राष्ट्रिय टिमका लागि बन्द प्रशिक्षणमा डाकिने खेलाडीहरूको फिटनेस संकलन गरिनुपर्ने सुझाव छ, विवेकको । ‘अहिलेको फुटबल डाटाबाट चल्छ । डाटा भए कुन खेलाडीको फिटनेसको स्तर के छ, कसलाई कुन स्तरसम्म पुर्याउनुपर्ने हो भन्ने थाहा हुन्छ । अर्को पटक बन्द प्रशिक्षणमा खेलाडी फर्कंदा उसको फिटेनस लेभलमा कति फरक आएछ भन्ने थाहा पाइन्छ । फेरि कोही खेलाडीको फिटनेस घटेछ भने फाल्ने भन्ने होइन, उसलाई बलियो बनाउने काम गर्ने हो । डाटा संकलन गर्नुको कारण पनि यही हो । नेपालमा चाहिँ खेलाडी डराउँछन्,’ विवेक भन्छन् ।
नेपालमा फिटनेस भन्नासाथ बडिबिल्डिङ भनेर बुझिने चलन रहेको अनुभव सुनाउँछन्ु, विवेक । उनका अनुसार जिममा गएर ‘वेट लिफ्ट’ गर्नु मात्र फिटनेस होइन । खेलाडीले आफ्नो फिटनेसमा फरक तरिकाले काम गर्न सक्छन् । तर एथ्लेटिक फिटनेसका लागि अभ्यास गर्ने ठाउँ नभएको विवेकको भनाइ छ । ‘नेपालमा एथ्लेटिक फिटनेसका लागि ठाउँ छैन । पूर्वाधार छैन । यसकारण आफ्नो स्थानबाट केही गर्न सकिन्छ कि भनेर व्यक्तिगत लगानीमा पर्फमेन्स सेन्टर खोलेको छु । तर निजी लगानी भएका कारण यहाँ खेलाडीले पैसा तिर्नुपर्छ । यसकारण सबैको पहुँच हुने प्रकारको पर्फमेन्स सेन्टर खोल्न जरुरी छ,’ विवेकको भनाइ छ ।
विवेकका अनुसार पर्फमेन्स सेन्टरमा खेलाडीले अभ्यास गर्ने मात्र होइन, अभ्यासदेखि डाइटसम्मको ज्ञान प्रदान गरिन्छ । रिह्याबिलिटेसन गराइन्छ । अनि ‘इन्जुरी प्रिभेन्सन’बारे कक्षा पनि दिइन्छ । हो यस्तै सेन्टर एन्फा जस्ता संस्थाले पनि स्थापना गर्नुपर्ने आवश्यकता रहेको ठान्छन् । आफू एन्फामा रहँदा भिन्दै एथ्लेटिक युनिट खोल्नुपर्ने सुझाव दिएको विवेक सम्झिन्छन् ।
‘खेलाडी घाइते भए उसको उपचार गर्ने ठाउँ त हुनुपर्यो नि । उसको रिह्याबिलिटेसनको कुरा आउँछ । अहिले गम्भीर घाइते भएका खेलाडीलाई कतार पठाउने चलन छ । तर प्रत्येक वर्ष दुई खेलाडीले मात्रै यस्तो अवसर पाइरहेका छन् । अनि घाइते भएका बाँकी खेलाडीलाई चाहिँ के गर्ने नि ?’ विवेक प्रश्न गर्छन् । कतारको सहयोगमा हुने उपचार र रिह्याबिलिटेसनका लागि निश्चित संख्यामा मात्रै खेलाडी पठाउनुपर्ने हुँदा बाँकी खेलाडीमा निराशा छाउने विवेकको भनाइ छ ।
‘सक्ने जति उपचार र रिह्याबिलिटेसन एन्फाले स्थापना गरेको एथ्लेटिक युनिटमै होस् न । नसकेको केस विदेश रिफर गरे भयो । वर्षभरि नै रिह्याबिलिटेसन र खेलाडीलाई अभ्यास गराउन सकिने पूर्वाधार भए नेपाली फुटबललाई नै फाइदा हुने हो,’ विवेक भन्छन् । आफ्नो कुरा एन्फाको नेतृत्वले चाख मानेर सुनेको र यस्तो पूर्वाधार स्थापनाको लागतबारे आफूलाई अध्ययन गर्न लगाएको सम्झिन्छन्, विवेक । तर लागतबारे रिपार्ट बुझाएपछि भने काम अगाडि नबढेको विवेकको गुनासो छ ।
फरक फरक पोजिसनमा खेल्ने खेलाडीलाई फरक फरक तरिकाले स्ट्रेन्थ ट्रेनिङ दिनुपर्ने आवश्यकता रहने विवेकको भनाइ छ । ‘डिफेन्डरलाई जुन स्तरको स्ट्रेन्थ आवश्यक पर्छ, त्यही स्तरको स्ट्रेन्थ मिडफिल्डरलाई नपर्न सक्छ । अनि स्ट्राइकरलाई डिफेन्डर र मिडफिल्डरको भन्दा फरक तरिकाले ट्रेनिङ दिनुपर्छ । किनभने स्ट्राइकर छरितो, भनेको समयमै टर्न सक्ने र ड्रिबल गर्न सक्ने हुनुपर्छ । यसकारण भूमिका अनुसारको एथ्लेटिक ट्रेनिङको आवश्यकता पर्छ,’ विवेक भन्छन् ।
उनको अनुभवमा नेपाली खेलाडी ‘स्पिडी’ छन् । तर ‘कार्डियो स्ट्रेन्थ’ भने कम छ । ‘राष्ट्रिय टिममा पर्ने अधिकांश खेलाडीको स्पिड हुन्छ । उनीहरू लामो पास भेट्टाउन सक्छन् । यहीकारण नेपाली खेलाडीहरूले धेरैजसो गोल रनिङ बलमा गर्छन् । तर उनीहरुको एक्सिलिरेसनमा समस्या छ । यसको मतलब तुरुन्तै तीव्र गतिमा दौडन सक्दैनन् । यहीकारण नेपाली खेलाडीले विपक्षीलाई बिट गरेर तीव्र गतिमा दौडेर गोल गरेको कमै देखिन्छ । यो समस्या समाधान भने गर्न सकिन्छ,’ विवेकको भनाइ छ ।
उनको बुझाइमा नेपाली फुटबलर तीन प्रकारका छन् । पहिलो, आफ्नो फिटनेसमा असाध्यै सजग हुने । दोस्रो, धेरै मेहेनत नगरे पनि मेन्टेन चाहिँ गर्नुपर्छ भन्ने मानसिकता भएको । तेस्रो, अहिलेसम्म यसरी नै खेलियो, धेरै मेहनत किन गर्ने भनेर सोच्ने । ‘हामी ज्लाटन, रोनाल्डो, मेस्सी जस्ता खेलाडीले ३४-३५ वर्ष कट्दा पनि विश्वस्तरीय खेलिरहेका छन् भनेर भन्छौँ । तर उनीहरूले फिट रहन कति मेहनत गरेका छन् भनेर चाहिँ विचार गर्दैनौँ । खेलाडीले एकैनासको प्रदर्शन गर्न उसको फिटनेस पनि त्यही अनुसारको हुनुपर्छ । नेपालमा अञ्जन विष्टको प्रदर्शनमा एकरुपता छ । यसको एउटा कारण उनले फिटनेसका लागि गरेको मेहनत हो,’ विवेक भन्छन् ।
विश्व फुटबलमा तरक्की गर्ने देशहरूको सूची लामो छ । अन्तर्राष्ट्रिय उपाधि जित्नेको संख्या सानो होला तर खेलाडीको अभ्यास र आहारामा ध्यान दिनुपर्छ भन्ने चेत भएका देशको संख्या भने ठूलै छ । तर नेपालमा भने अधिकांश खेल संघले फिजियो मात्रै पनि राख्न सकेका छैनन् । खेल अनुसारको स्ट्रेन्थ ट्रेनिङ र खेलाडीका लागि आवश्यक पर्ने पौष्टिक आहाराको व्यवस्थापन गर्ने त परको कुरा भइगयो ।
देशमा सबैभन्दा लोकप्रिय रहेको फुटबल खेल नियमन गर्ने संस्थाको मुख्यालयमा समेत आधुनिक अभ्यासस्थल र पूर्वाधारको व्यवस्था छैन । न त खेलाडीका लागि रिह्याबिलिटेसनको व्यवस्था छ । केही साताअघि युवा फरवार्ड रेजिन सुब्बा कुर्कुच्चाको चोटको उपचारका लागि कतार प्रस्थान गरे । विदेशमा गरिने उपचारको खर्च धान्न सक्षम खेलाडीको संख्या धेरै छैन । यस्तोमा अधिकांश खेलाडीको उपचार वा शल्यक्रिया नेपालमा हुने गरेको छ ।
जसोतसो शल्यक्रिया भए पनि रिह्याबिलिटेसनका लागि भौँतारिनुपर्ने अवस्था छ । राम्रो रिह्याबिलसेन नभएकै कारण खेलाडीलाई पुरानै चोटले सताउने र अन्ततः करियर नै सकिने खतरासँग हामी सबै साक्षात्कार छौँ । यस प्रकारका समस्यासँग जुध्न आवश्यक तयारी गर्ने र तिनको कार्यन्वयनतर्फ जान आवश्यक छ । नत्र अनुमान गरिएझै नेपाली फुटबलको स्तर जहाँको त्यही रहने खतरा उत्पन्न हुन्छ ।

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा

प्रतिक्रिया