२४ वर्षीया युवती सुधा–जसले अमेरिका लैजान्छु भन्दै यसरी ठगिन्
दम्पती मिलेर अमेरिका पठाइदिन्छु भन्दै बीचमै बन्धक

काठमाडौं–राजधानीको बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान व्यूरोमा २४ वर्षिया एक युवती र उनका श्रीमानविरुद्ध उजुरी पर्यो । एक महिनाको बीचमा उस्तै प्रकृतिका दुई वटा उजुरी उनीहरूको नाममा परेको थियो ।
२१ कात्तिक २०७६ र १८ मंसिर २०७६ मा परेको उजुरीको मूल घटना थियो–२४ वर्षीया युवती सुधा र उनका श्रीमान् मुक्तिनारायण केसी मिलेर बेचबिखन गरे ।
घटना यत्तिमै सीमित थिएन । दम्पती मिलेर अमेरिका पठाइदिन्छु भन्दै बीचमै बन्धक बनाएको आरोप लगाउँदै उनीहरूविरुद्ध पीडितहरूले जाहेरी दिएको मानव बेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ ।
उनै सुधा सो जाहेरीका आधारमा पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएका प्रहरीले पक्राउ गरेका हुन् । व्यूरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीबाट उनलाई पक्राउ गरिएको जानकारी दिए । सुधा दाङस्थित तुलसीपुर उपमहानगरपालिका–१९ कि स्थायी बासिन्दा हुन् ।
उनीविरुद्ध बबरमहल–४ (परिवर्तित नाम) र बबरमहल ९(परिवर्तित नाम)ले जाहेरी दिएका थिए । दम्पत्ति मिलेर पीडितलाई अमेरिका पुग्नका लागि २७ लाख रुपैयाँ माग गरेका थिए । ‘मासिक ३ लाख रुपैयाँ तलब हुने भन्ने प्रलोभन दिइयो,’ पीडित बबरमहल ४ ले दिएको जानकारीका आधारमा प्रहरी अनुसन्धानबाट खुलेको छ । सो प्रलोभनमा केसीको भान्जाले सात हजार अमेरिकी डलर बराबरको रकम साट्न लगाई पीडितसँग पटक पटक गरी उन्नाइस लाख दस हजार रुपैयाँसमेत लिएका थिए ।
पीडितलाई २५ जनवरी २०१९ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्तामा पुर्याइएको थियो । ‘त्यहाँबाट बोलेभिया हँुदै अमेरिका जाने भनी जाकार्ताको एयरपोर्टमा पुर्याउँदा सेटिङ नमिलेको भनी फर्काइ दियो,’ पीडित भन्छन्, ‘पुनः इथोपियामा पठाई बोले भन्ने शहरबाट मेक्सिको हुदै अमेरिका जानुपर्छ भन्दै एउटा कोठामा राखियो ।’
उनीरूले बाहिर कतै निस्कन नदिई साँढे तीन महिनासम्म बन्धक बनाई राखेका हुन् । बन्धक रहँदा परिवारसँग पीडितले सम्पर्क गरेका थिए । अमेरिकाको सपना देख्दै बीच बाटोमै समस्यामा परेपछि नेपालबाटै उनका लागि टिकट पठाइएपछि पीडित नेपाल फर्कन सकेका हुन् । नेपाल आएलगत्तै २१ कात्तिक २०७६ मा दम्पत्तिविरुद्ध जाहेरी दर्ता गरिएको हो ।
त्यस्तै, पन्ध्र लाख रुपैयासमेत लिई काठमाडौंको स्वयम्भुबाट बस चढ़ाई भारतको नयाँ दिल्ली पुर्याई २ महिनासम्म बबरमहल ९ (परिवर्तित नाम) लाई खान बस्नसमेत नदिएको र यातनासमेत दिएको आरोप सुधामाथि छ ।
‘नयाँ दिल्लीबाट काम हुन सकेन, अब नेपालबाट चाँडो हुन्छ भनी फिर्ता बोलाईयो,’ पीडितले दिएको जाहेरीमा उल्लेख छ, ‘पछि इन्डोनेसियाबाट अमेरिका जाने भनी जाकार्तामा लगेर बन्धक बनाइयो ।’
अमेरिका जाने भनी सन् २०१९ फेब्रुअरी २४ मा मलेसिया हुँदै इन्डोनेसियाकी बाली हुँदै जाकार्तामा पीडितलाई ७ महिनासम्म शारिरीक तथा मानसिक यातना दिई बन्धक गरिएको हो । बन्धकबाट उम्किई जाकार्ताको इमिग्रेसनबाट पक्राउ परेका थिए । १४ दिन जेलमा बसेर १३ मंसिर २०७६ मा नेपाल फिर्न सफल भएका हुन् । त्यसपछि उनीहरू विरुद्ध व्यूरोमा जाहेरी दिइएको हो ।
पछिल्लोसमय भारतपछि वैदेशिक रोजगारीका नाममा विभिन्न देशहरूमा बेचविखन भइरहेको छ । ‘अमेरिका पुर्याइदिन्छु भनेर बीचमै अलपत्र पार्ने अनि बेचबिखनमा संलग्न गराउने गिरोहहरू धेरै छन्,’ व्यूरोका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी धमलाले भने, ‘यस्ता उजुरी धेरै छन्, हामी पीडकहरूको खोजी गरिरहेका छौं,’ उनले बेचविखनको स्वरुप फेरिँदा राहदानीको दुरुपयोग गरी कानुनी रुपमा बेचविखन भइरहेको बताए।
पक्राउ परेकी सुधालाई प्रहरीले अदालत पेश गरेको थियो। काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको धमलाले जानकारी दिए । उनीमाथि मानव बेचविखन तथा ओसारपसारि विरुद्धको ऐन २०६४ अनुसार कारवाही गरिएको धमलाको भनाई छ ।
व्यूरोको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा नौ सय ७१ बेचविखनका मुद्धा दर्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीका क्रममा भएका मुद्धाहरू धेरै छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया