आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

पूर्ण बृहत् इजलास पछ्याउनु नै हितकर

प्रतिनिधिसभा विघटन जस्तो महत्वपूर्ण प्रकरणलाई संवैधानिक इजलासबाटै छिनोफानो गर्ने प्रधानन्यायाधीशको निर्णयप्रति अनेकन् कोणमा आधारित रहेर शंका–आशंका व्यक्त गर्ने क्रम बढ्दो छ । प्रतिनिधि सभा विघटन जटिल संवैधानिक विषय हो । मुलुकको भविष्य जोडिएको यो प्रकरणको सुनुवाइ ‘पूर्ण बृहत् इजलास’बाट हुनुपर्छ, अदालतको मर्यादाका खातिर पनि । एकाध शासकीय स्वार्थी समूहबाहेक आमतह प्रतिनिधिसभा विघटनको पक्षमा छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक निर्णय भएको हुँदा न्यायिक निरुपण हुन सक्दैन भन्ने चेतावनीसहित लिखित जवाफ सर्वाेच्च अदालतलाई पठाउँछन् । त्यसले नै स्पष्ट पारिसकेको छ कि राष्ट्रपति–प्रधानमन्त्रीले संविधानका धारा टेकेका छैनन् । अर्कातिर प्रधानमन्त्री खुल्लमखुला भनिरहेका छन् कि सर्वाेच्च अदालतले विघटनकै पक्षमा फैसला दिन्छ । ओलीले तुुजुक–दम्भका आधारमा गैरसंवैधानिक आधारमा विघटन गराएका हुन्, जुन तथ्य आमनागरिकसको मनमस्तिष्कसम्म गडिसकेको छ ।

प्रधानमन्त्रीको जवाफ र टिप्पणीले आमतहमा एउटा सन्देश प्रवाहित भइरहेको छ कि विघटन ‘मिलेमतो’मा भएको छ । जसमा राष्ट्रपति–प्रधानमन्त्रीको जालझेल छताछुल्ल प्रकट भएको छ । त्यसलाई न्यायालयले कसरी चिर्छ ? चौतर्फी चासो परेको छ । प्रधानमन्त्रीको खेल र अभिव्यक्ति चिर्नर्कै खातिर पनि संवैधानिक इजलासबाट पूर्ण बृहत् इजलासमा लैजानु उपयुक्त हुन्छ ।

संवैधानिक इजलास पाँच सदस्यीयभन्दा बढीको हुँदैन । थोरै न्यायाधीश हुँदा शासकीय डर–प्रभाव पर्न सक्छ । त्यसकारण पूर्ण बृहत् इजलास हुँदा अनुचित दबाब–प्रभावको मात्रा कम हुन्छ नै । त्यसमाथि २०५९ मा प्रतिनिधिसभा विघटन हुँदा एघार सदस्यीय पूर्ण बृहत् इजलासबाट सुनुवाइ भएको थियो । त्यसभन्दा अघि पनि एघार सदस्यीय इजलासबाटै विघटनका हकमा न्यायिक निरुपण भएको हो । 

नयाँ संविधान, दुई तिहाइ नजिकको सरकार, अब मुलुक सही ‘ट्रयाक’मा हिँड्छ भन्ने अपेक्षाविपरीत राष्ट्रपति–प्रधानमन्त्रीको ‘षड्यन्त्रमूलक मिल्ती’ इतिहासमा कोतपर्वझैं अंकित हुनेछ ।

यद्यपि प्रधानन्यायाधीशलाई संविधानले संवैधानिक इजलासबाट संविधानका विवादित मुद्दामा छिनोफानो गराउन सक्ने अधिकार प्राप्त छ । तर विघटन जटिल र राजनीतिक दाउपेचयुक्त प्रकरण भएको हुँदा पूर्ण बृहत् इजलास खोजेको छ । किनभने यस्ता गम्भीर मुद्दा आउँदा संविधानवादका यावत् सिध्दान्त, दर्शन, तत्व र न्यायिक अवयव केलाउनुपर्छ । जति धेरै टाउका, उति राम्रो भन्ने मान्यता छ । धेरै टाउका हुँदा खराब नजीर स्थापित गर्ने, कसैले चाहेर पनि अनुकूलमा प्रभाव जमाउने स्थिति कम हुन्छ ।

संविधान निर्माणका बेला सबभन्दा बढी बहस भएको विषय हो, शासकीय पध्दतिका सवालमा । उतिबेला स्थायित्वकै निम्ति विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार कटौती भएको हो । त्यसमा कुनै अलमल भए अदालतले विधायिकी टिप्पणी, व्याख्या र मनसाय पनि अध्ययन गर्न सकिन्छ । गरिब मुलुकमा कुबेलाको चुनावका निम्ति अथाह धन खर्च गर्नुपर्ने हुन्छ । त्यो खर्च राष्ट्रपति विद्यादेवी भण्डारी–प्रधानमन्त्री ओलीको निजी ढुकुटीबाट बेहोरिने होइन । त्यस निम्ति गरिब नागरिकको सास–गाँस खोस्दै, त्यो पनि यो अत्यासलाग्दो कोभिड बेला असुलिएको कर खर्च हुनेछ । त्यो रकम त कोराना भ्याक्सिन र नागरिकको उपचारमा खर्चनुपर्ने स्थिति छ । 

नयाँ संविधान, दुई तिहाइ नजिकको सरकार, अब मुलुक सही ‘ट्रयाक’मा हिँड्छ भन्ने अपेक्षाविपरीत राष्ट्रपति–प्रधानमन्त्रीको ‘षड्यन्त्रमूलक मिल्ती’ इतिहासमा कोतपर्वझैं अंकित छ । संविधानको धारा टेक्दै आधुनिक कोतपर्वलाई अदालतले वैधता दिनेछैन भन्ने आशा छ । त्यसकारण पनि बृहत् इजलास र त्यो पनि संविधानवादको वकालतमा संलग्न न्यायाधीश समावेश गराउँदै निर्णयमा पुग्नु उपयुक्त हुन्छ ।

कसैलाई पदको तुजुक हुन सक्छ, तर त्यो पद सधैंभरि रहन्न । कार्यकारिणी सेना, पुलिससहितका अथाह सुरक्षा घेराभित्र रहेर शासन चलाइरहेको हुन्छ । त्यही शक्तिको दम्भमा उसले राजनीतिकदेखि नागरिक अधिकार र स्वतन्त्रतासमेत कटौती गर्न उद्यत हुन्छ । त्यसबाट जोगाउने दायित्व अदालतको हो ।

अनि, अदालतको सुरक्षा भने नागरिकको आस्था–विश्वासमा आधारित हुन्छ । अदालतले संविधान–कानुनको स्पष्ट व्याख्या गरी नागरिकको मन जित्नुपर्ने हुन्छ । त्यसकारण पनि संविधानको ऐतिहासिक व्याख्या, न्यायिक निष्पक्षता र स्वतन्त्र न्यायालयको गरिमामा कतैबाट आँच पुग्न नदिन पूर्ण बृहत् इजलास पछ्याउनु हितकर हुनेछ, न्यायिक नेतृत्वका निम्ति । त्यसकारण पनि निडर, निष्ठा, संवैधानिक धारामा आधारित हुँदै न्याय निरूपण होस् भन्ने आमचाहना हो ।