'अस्पतालहरूमा संक्रमित भरिन थालेमा मात्र लकडाउन गर्नुपर्छ'

मुलुकमा दिनप्रतिदिन कोभिड-१९ संक्रमण दर उकालो लागिरहेको छ । ओमिक्रोन भेरियन्ट देखापरेसँगै एकपटक कोभिड संक्रमितको संख्याले त्रास पैदा गरेको छ । संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । १० गुणा बढी संख्याले संक्रमण वृद्धि भइरहँदा मुलुकले पुनः मानवीय क्षति व्यहोर्ने त होइन भन्ने शंका पनि उब्जिएको छ । सँगसँगै सकरकाले खोप वितरणलाई पनि तीव्रता दिएको छ । दैनिक चार हजार माथि संक्रमण फैलिरहेको अवस्थामा यसले कस्तो असर गर्छ, सरकारले के गरिरहेको छ ? यी र यस्तै जिज्ञासा मेट्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवद्ध संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालासँग इकागजकर्मी अतिन आचार्यले गरेको कुराकानी:
कोभिड-१९ को ओमिक्रोन भेरियन्ट देखिएपछि दैनिक संक्रमितको संख्या बढिरहेको छ । के अब कोभिडको तेश्रो लहर सुरु भएको हो ?
यसअघि हामीले कोभिडको दुवै लहर भोगिसकेका छौ । पछिल्लो केही महिनायता संक्रमणदर घटेर गएकै हो । दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा थियो । गत हप्तादेखि ह्वात्त बढेर तीन सयबाट बढेर दैनिक पाँच हजारसम्म पुगिसकेको छ । १० गुणा भन्दा बढीको संख्यामा संक्रमण फैलिरहेको छ । अरु देशको तुलनामा हेर्दा जसरी संक्रमण बढ्दै गएको छ ; जस्तै, अफ्रिका, अमेरिका र भारतमा बढेको छ, जुन किसिमले बढेको छ त्यसलाई विश्लेषण गर्दा नयाँ भेरियन्टले तेस्रो लहर ल्याएको मान्न सकिन्छ ।
पहिलो र दोस्रो लहर भोगेको नेपालले तेश्रो लहरसँग जुध्न कत्तिको तयारी गरेको पाउनुभएको छ ?
अहिलेको अवस्थालाई दुई तरिकाले हेर्न सकिन्छ – पहिलेको डेल्टा भाइरस एकदमै तीव्र रुपमा फैलनेछ भनिन्थ्यो । ओमिक्रोन भने त्यो भन्दा चार गुणा बढी फैलनेछ । यो भाइरसको स्वभाव ह्वात्तै बढेर जाने खालको छ । सबैले लापरवाही र कम सर्तकता अपनाएका छौं अर्थात जनस्वास्थ्य मापदन्ड पालना भएको छैन । सुरुमा पनि कोभिडलाई जित्यौं भनेर हेलचेक्र्याइँ गर्दा डेल्टा बढेको थियो । दोस्रो लहरपछि मास्क पनि नलगाइ भीडभाड गर्न थालेपछि संक्रमण फेरि बढेको हो । ओमिक्रोन देखापरेपछि सरकारले खुला सीमा र विमानस्थलमा कडाइँ गरेको जस्तो थियो तर, सोचे अनुरुप प्रभावकारीता अपनाउन नसकेको परिणाम हाम्रोसामु विद्यमान छ ।
कोभिड नियन्त्रण प्रभावकारी हुन नसक्नुमा को बढी देषी छन्– नागरिक वा सरकार ?
राज्य र नागरिक दुवैले कोभिडलाई विजय प्राप्त गरेजस्तो ठानेका थिए । पहिलो र दोस्रो लहरमा सरकारले कोभिडलाई परास्त गरेको जस्ता घोषणाहरू सार्वजनिक भइरहे । हामीलाई केही गर्दैन, नेपालीको रोग प्रतिरोधी क्षमता बलियो छ । हाम्रो खानेकुरामा प्रयोग हुने बेसार, मसलाको कारण रोग प्रतिरोधी क्षमता बलियो भएको भन्नेजस्ता कुराहरू सरकारमा बसेका मानिसले भनिरहे । डेल्टा भेरियन्ट आउँदा पनि तेस्रो लहर आउने प्रक्षेपण गरिएको थियो । मानवीय स्वभाव हो, उनीहरू पीडालाई बिर्सेर बस्न थाले । कहिलेसम्म डराएर बस्ने भन्दै धेरै मानिस भएका ठाउँमा २-३ सय संक्रमित देखिनुलाई नागरिकले सामान्य जस्तो पनि गरे ।
फेरि सबै कुरा सरकारको नियन्त्रणमा मात्र हुँदैन । उसले जनस्वास्थ्य मापदण्ड पालन गर्न नागरिकलाई आह्वान गर्न सक्छ, खोप वितरण गर्न सक्छ । तर नागरकिले होस नगरेसम्म संक्रमण वृद्धि भइरहन्छ । दैनिक २-३ सय देख्दा बेवास्ता गर्थे र अहिले ४-५ हजार वृद्धि हुँदा पनि गम्भीरता देखिदैंन । तर, यथार्थ के हो भने सरकार र नागरिक दुवैले बुद्धिमत्तापूर्वक होस गरेनन् कि जस्तो छ । अहिले देखा परेको भाइरस एक जनाबाट सात जनासम्म सर्न सक्ने भएकाले पहिलो जिम्मेवारी स्वयं नागरिकले लिनुपर्नेछ । सरकारले सबैभन्दा महत्त्वपूर्ण काम यसपटक खोपलाई निरन्तरता दिइरहेको छ ।
सुन्दा सरल प्रश्न लाग्ला तर, दैनिक संक्रमण बढिरहनुको कारण के होला जस्तो लाग्छ ?
संक्रमण बढनुमा मुख्य दुई कारण छन् – पहिलो, भाइरस छिटो सर्ने खालको छ । दोस्रो, भीडभाड बढिरहेको छ । अन्य कारणमा धेरैले खोप लगाइसकेका छन् । खोपले मृत्यु र आइसीयूमा पुग्नबाट जोगायो तर खोपले कोभिड सर्नबाट सुरक्षित राख्न सकेन । किनभने खोप लगाएकालाई पनि संक्रमण देखा परेको छ, लक्षण देखा परेर रुघाखोकीसते लाग्दोरहेछ ।
समुदायमा संक्रमण त फैलिसक्यो भन्नुभयो नियन्त्रणका प्रभावकारी उपायहरू पनि होलान नि ?
सुरुमा यो कसरी सर्छ भन्ने कुरा बुझ्नुपर्छ । व्यक्ति–व्यक्तिबीच एकअर्काबाट नै सर्ने गर्छ । व्यक्ति-व्यक्तिको सम्पर्क टुटाउने हो । यसले चेन ब्रेकिङको काम गर्छ । तर, मानिस सम्पर्कबाट टाढा जाने भन्ने कुरा पनि रहेन । जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने हो भने नियन्त्रण सम्भव छ ।
यहाँको अध्ययनमा ओमिक्रोन वा डेल्टा कुन भेरियन्ट बढी खतरनाक छन्?
भाइरसको कुरा गर्ने हो डेल्टाले संक्रमितलाई गाह्रो–साह्रो बनाउने गरेको छ । किनभने यसले सीधा फोक्सोमा गएर श्वासप्रश्वास प्रक्रियामा असर गर्छ । गम्भीर भएर आइसीयूमा राख्दा पनि धेरैको मृत्यु पनि भएको छ । ओमिक्रोन श्वासप्रश्वासको माथिल्लो भागमा मात्र लाग्ने हुनाले रुघामर्की मात्र लाग्छ । जीउ र टाउको दुखाएर बिरामी बनाउन सक्छ । यसको मृत्युदर कम छ तर डेल्टाभन्दा यो चाँडो फैलन्छ ।
अध्ययनले ओमिक्रोन कति समयसम्म रहने देखाएको छ?
विभिन्न देशको तथ्यांकलाई हेर्दा छिटो आएर छिटो जाने रहेछ । ६ हप्तादेखि ८ हप्तासम्म पिकमा पुगेर घट्ने गरेको छ ।
शरीरको कुन भागमा असर गर्छ ?
नाकबाट सुरु भएर घाटीमा र अन्त्यमा श्वासप्रश्वासको नलीमा असर गर्ने देखिएको छ । रुघाखोकी जस्तो हुन्छ यसलाई बेवास्ता गर्यो भने निमोनिया पनि हुन सक्छ ।
खुला सीमाकै कारण भारतबाट नेपालमा ओमिक्रोन भित्रियो भन्ने छ । सिमाना आसपासमा क्वारेन्टाइन छैनन् । अहिले पनि भारतबाट मानिसहरू गाउँ फर्किरहेका छन् । परीक्षण पनि नगरी गएका छन भन्ने छ यसले त नियन्त्रणभन्दा बाहिर जाने हुँदन र?
सीमा नाकाबाट संक्रमण फैलियो भन्नलाई पनि धेरै ढिलो भइसकेको छ । सुरुमा परीक्षण गरिनुपर्थ्यो । ओमिक्रोन भारत हुँदै वा प्लेनमार्फत नेपालमा प्रवेश गरेको हो यसै भन्न सकिने अवस्था छैन । देशभित्रबाट ओमिक्रोन फैलिएको छ । २०-२३ प्रतिशत संक्रमण देखिनुले ओमिक्रोन समुदायमा पुगिसकेको छ । देशव्यापी रुपमा संक्रमित बढ्न थालेकाले समुदायमा ओमिक्रोन पुगिसक्यो ।
दुई वर्षदेखि मुलुकले महामारी भोगिरहेको छ । महामारी पुनः देखापर्न सक्छ भनेर विभिन्न भेरियन्टले पुष्टि गरिसक्दा पनि नियन्त्रण गर्न सरकार किन पूर्वतयारी गर्न सक्दैन?
नियन्त्रण प्रयासका लागि छलफल भइरहेको छ । कसरी रोक्ने त्यस्ता विषयमा छलफल मात्र हुन्छ तर प्रभावकारी कदम कहिले चालिएको छैन । डेल्टा खुला सीमाकै कारण प्रवेश गर्यो । सीमामा हेल्थ डेस्क राखियो तर बढी ओहोरदोहोर हुने भएकाले व्यवहारिक रुपमा सम्भव नभएको भनियो । हेल्थ डेस्क नभएका ठाउँबाट मानिसहरू प्रवेश गर्न सक्छन त्यस्ता कारणले गर्दा असम्भव हुने गरेको छ । औपचारिक नाकालाई प्रयोग नगरी अन्य नाकालाई प्रयोग गरेका छन् । यसले समस्या ल्याइरहेको छ ।
उपत्यकाका तीनै जिल्लामा देशका अन्य भागमा भन्दा धेरै संक्रमित यहीँ छन् । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा संक्रमण रोक्न के गर्नुपर्छ होला ?
लकडाउन गर्ने कि नगर्ने विषयमा विवाद छ । लकडाउन गर्दा जीवनयापन गर्न गाह्रो हुन्छ । ओमिक्रोन देखा पर्नुभन्दा धेरै मानिसलाई संक्रमण भइसकेको छ । तर, अहिले भने धेरै मानिसले खोप पाइसकेका छन् । खोप लगाए पछि लकडाउन गर्नुपर्ने अवस्था नआओस, संक्रमण भए पनि लक्षण देखा नपरोस र आपतकालीन अवस्था नआएसम्म लकडाउन गर्नुहुँदैन । यसपटक म आफैँ लकडाउन गर्नु हुँदैन भन्ने पक्षमा छु । अस्पताल संक्रमित भरिन थाल्यो भनेचाहीँ लकडाउन गर्नुपर्छ ।
पहिलो र दोस्रो लहरमा पनि दैनिक २० हजार जनाको मात्र परीक्षण भएको थियो । अहिले पनि परीक्षणको संख्या बढ्न सकिरहेको छैन । परीक्षणको संख्या बढाएर संक्रमितको पहिचान गरी आइसोलेट गरेमा संक्रमण फैलिन कम हुन्थ्यो कि ?
कोभिडको कुरामा छिटो परीक्षण गरेर आइसोलेट भएमा अरुमा सर्दैन । अरुलाई सुरक्षित राख्ने माध्यम यही हो । हाम्रो मुलुकमा निजि तथा सरकारी प्रयोगशाला गरी सय भन्दा बढी प्रयोगशालाले परीक्षण गर्छन् । यद्यपि सरकारले २ वर्षसम्ममा पनि २० हजार भन्दा बढीको परीक्षण गर्न सक्ने क्षमताको विकास गर्न नसक्नुमा गैह्रजिम्मेवारीपन जस्तै हो । मूल्य मँहगो र दक्ष जनशक्ति नभएकाले समस्या ज्यूँकात्यूँ छन् । एन्टीजेन्ट परीक्षणलाई बढाएर भए पनि परीक्षण दर बढानुपर्ने हो तर किन सरकारले तीव्र रुपमा परीक्षण गर्न सकिरहेको छैन ।
महामारीको समयमा विभिन्न राजनीतिक दलले महाधिवेशन गरे । महाधिवेशनमा सहभागी भएकाहरू संक्रमित भए । यस्ता सभा सम्मेलन नगर्नका लागि जनस्वास्थ्यविदले सचेत गराउनुपर्ने होइन र ?
भीडभाड गर्नुहुदैन भनेर हामी जस्ता धेरै भन्दै आएका हौं । सरकारमा सहभागी दलले समेत अधिवेशन गरे । सरकार आफैँ जिम्मेवार जस्तो देखिएनन् । जसले नगर भनेर सचेत गराउनु पर्ने हो उनीहरूले महामारीमा बाटो बिराए जस्तो भएका छन् । नेतृत्वले महामारीमा अभिभावकको भूमिका ग्रहण गर्नुपर्थ्यो । आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्न देशका विभिन्न स्थानबाट हजारौं मानिसहरू भेला पारे। राजनीतिक दलको गतिविधिले जोखिम बढाएकै हो । मानिसहरू आए गए यसले गाउँ वा सहरमा फैलाउन पक्कै पनि सहयोग गरेकै छ । यसमा राजनीतिक दलका नेतृत्वले जिम्मेवारी लिनैपर्छ ।
संक्रमण फैलिरहेको छ लाग्छ सरकारको उपस्थित शून्य छ । फेरि खोप वितरण कार्यले तीव्रता पाइरहेकै छ । भीडभाड उत्तिकै छ सरकारको केही कार्यक्रमले गर्दा मुलुकमा संक्रमण बढिरहेको जस्तो देखिएन र?
स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहन्छ– कोभिड नियन्त्रण गर्न सबै जिम्मेवारी बनौं भनेर । भीडभाड नगरौं आदि इत्यादि तर, सरकारले जसरी भनिरहेको छ त्यसरी कार्यक्रम भएको छ कि छैन? सार्वजनिक स्थानमा भीडभाड नगर्नु भनेको छ त्यसको नियमन कसले गर्ने त खै कहाँ छ? होटलमा भीडभाड नगर्नू भनेको छ तर त्यसलाई अनुगमन कसैले गरेको देखिदैन । खोप लगाउने ठाउँमा सामाजिक दूरी कायम छैन त्यहाँबाट सर्न सक्छ । खोप लगाउँदा कम्तीमा तीन फिटको दूरीमा लाइन बस्नुपर्छ । ओमिक्रोन त ५-६ फिटसम्म जान सक्ने भनेर बताइएको छ । त्यसलाई निरीक्षण गर्ने निकाय नहुँदा सरकारविहिन जस्तो भएको छ ।
खोपको प्रभावकारीताको कुरा गरौ न । खोप लगाएका मानिसहरू संक्रमित भएर अस्पताल भर्ना भएका छन्, कसरी यस्तो भयो ?
नेपालमा खोप लगाएका ठाउँबाट संक्रमित भएर आएका छन् । खोप लगाउने ठाउँबाट भीडभाड हुँदा एकअर्कामा कोभिड सर्ने सम्भावना भयो । यो दूर्भाग्यपूर्ण कुरा हो । खोपले २-४ हप्तापछि मात्र सुरक्षा प्रदान गर्छ । भेरोसेलको हकमा चार हप्ता र कोभिशिल्डले भने तीन महिनापछि मात्र काम गर्न सक्ने जस्ता आधार बाहिर आएका छन् । डेल्टा भाइरस देखिएको समयमा एउटा खोप लगाएकाहरु अस्पताल भर्ना भएका थिए र दोस्रो खोप लगाएकाहरू धेरै कम मात्रा अस्पताल भर्ना भएका थिए ।
अहिले उपलब्ध खोपले कोभिडका नयाँ-नयाँ भेरियन्टलाई कतिको असर गर्छ?
नेपालमा पाँच वटा खोप उपलब्ध छन् । भेरोसेल बाहेक अन्य सबै खोपको अनुसन्धान भइसकेको छ । डेल्टा देखिदाँसम्म भेरोसेल र अष्ट्राजेनिकाले उस्तै-उस्तै देखिएको थियो । दुईवटा खोप लगाइसकेकालाई ५० प्रतिशत मानिसलाई संक्रमण हुँदैन र संक्रमण भए पनि सामान्य लक्षण देखिन्छ । ज्वरो र रुघाखोकी देखिए पनि अस्पताल भर्ना भएर गम्भीर बनाउँदैन । तेस्रो खोप लगाइसकेकालाई संक्रमण हुन दिंदैन ।
खोप लगाएका मानिसहरू संक्रमित हुनुले खोप अन्तिम विकल्प रहेनछ भनेर बुझ्दा भयो ?
खोप प्रभावकारी नभएको होइन । कतिपय रोगलाई खोपले विजय हासिल गरेको छ । मिजस, स्मल पक्सलाई त्यस्ताको विरुद्ध खोप लगाएमा दोस्रो पटक रोग लाग्दैन थियो । यसमा भने लक्षण नदेखाउने, मृत्यु हुनबाट बचाउने र तर, खोपले कोभिड लाग्नबाट सुरक्षित प्रदान गर्दैन । भाइरस परिवर्तन हुने भएकाले यसले चाँडै आक्रमण गर्न सक्छ ।
पहिलो लहरमा ज्येष्ठ नागरिक प्रभावित भए । डेल्टाले सबै उमेर समूहकालाई पार्यो । ओमिक्रोनले कुन उमेर समूहका मानिसलाई बढी प्रभाव पार्ने देखिएको छ ?
ओमिक्रोनले खोप लगाएका देखि नलगाएका सबैलाई असर गरिरहेको छ । भाइरसले सबैभन्दा बढी प्रभाव पार्ने भनेको दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई नै हो । बालबालिका देखि ५० वर्ष मुनिकाहरू यसबाट पीडित बनेका छन् ।
फ्रन्टलाइनरलाई आजदेखि अतिरिक्त खोप दिने भनिएको छ । केहीले पहिलो मात्रासमेत पाएका छैनन् । समान वितरण नभएको सुनिरहँदा यस्तो अभियान कतिको न्यायसंगत मान्न सकिन्छ?
फ्रन्टलाइनरको रुपमा काम गर्ने दिनुलाई सकरात्मक कुरा हो । स्वास्थ्यकर्मी, दीर्घ रोगी, ज्येष्ठ नागरिकलाई दिनु एकदमै राम्रो कुरा हो तर, अहिलेसम्म पाउँदै नपाएकालाई पनि छुटाउनु हुँदैन । पुस मसान्तसम्म राम्रै संख्यालाई दिइएको छ । पूरा मात्रा ५० प्रतिशतले पाइसकेका छन् ।
बुस्टर डोजले 'रोग प्रतिरोधी क्षमता' कम हुन्छ भन्ने कुराहरू आइरहेका छन् । कति पटकसम्म बुस्टर डोज लिँदा राम्रो हुन्छ ?
अहिलेसम्मको अध्ययनले तेस्रो खोपले राम्रो हुने देखिएको छ । पहिलो र दोस्रो लगाएको ६ महिनापछि तेस्रो खोप लगाउँदा राम्रो हुने विभिन्न अनुसन्धानलेसमेत देखाएको छ । एन्टीबडी घट्दै गएकालाई तेस्रो खोपले २० गुणा बढाइदिदों रहेछ । कोभिडबाट सुरक्षित राख्न एन्टीबडी विकास हुने गर्छ । तेस्रो खोपले इम्यून बुस्ट गर्छ भनेर अनुसन्धान भइसकेको छ । यसमा आत्तिनुपर्ने कारण छैन । विज्ञ भएको नाताले पनि तेस्रो खोपसम्म लगाउन सिफारिस गर्छु । तेस्रोले इम्यून बढाउँछ ।
तपाईलाई नेपाल जस्तो देशले खोप छिटो पाए जस्तो लाग्दैन ?
विकसित मुलुकले बनाएको नेपालले कूटनीतिक सम्बन्धकै कारणले पाएको हो । खोप अभाव भएको समयमा पाउनु एकदम राम्रो हो । थाइल्याण्ड जस्तो विकसित मुलुकभन्दा अघि नेपालले खोप पाएको थियो । यो सरकारको सुदृढ कूटनीतिक सम्बन्धको उपज पनि हो ।
केही मुलुकले नेपाललाई माया गरेर पनि सहयोग गरे । नेपालको खोप अभियानमा चीनले धेरै सहयोग गरेको छ ।
कोभिड फैलिरहँदा सरकारले गरिरहेको गतिविधिलाई कसरी हेरिरहनु भएको छ ?
ओमिक्रोन बढेपछि विमानस्थलदेखि सीमा नाकासम्म कडाइँ गरेको भन्ने बुझेको छु । अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खोपको मात्रा बढाएको छ । दैनिक २ लाखले पाउनेमा पाँच लाखलाई पुर्याउने भने पनि अहिलेसम्म साढे ३ लाखलाई लगाएको छ । बच्चादेखि अन्य मानिसलाई खोप लगाउन थालेको छ । दीर्घ रोगीलाई बुस्टर दिने भएको छ । यी गतिविधिलाई उचित मान्नुपर्छ ।
मुलुकले कोभिडको दोस्रो लहरसम्म आइपुग्दा स्वास्थ्य सामग्रीदेखि जनशक्तिको अभाव भएको सास्ती खेपेको थियो । अहिले भने सरकारले पुरानो जस्तोँ समस्या नरहेको दाबी गर्दै आएको छ । सरकारको भनाइमा कतिको साँचो छ?
विगतको तुलनामा अस्पतालले केही मात्रामा सुधार गरेका छन् । अक्सिजन प्लान्ट, सिलिण्डर, शैय्या र अन्य संरचनाको समेत विकास गरेको छ । वीर अस्पतालले छुट्टै कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । बिरामीले पहिलेजस्तो बेड र अक्सिजन नपाउने स्थिति नहोला । जनशक्तिको भने अवश्य केही कमी छन् । आइसीयू र भेन्टीलेटर चलाउने जनशक्ति अझै पनि कम छन् ।
मानवअधिकारसम्बन्धी विश्वव्यापी प्रतिवेदनकामा राज्यको असफलताले दोस्रो लहरमा धेरै मानिसको मृत्यु भयो भनिएको छ । नेपाललाई किन यस्तो आरोप लाग्यो ?
दोस्रो लहरमा कोभिडलाई कम आँक्ने काम सरकारबाट भयो । पहिलो लहरमा मृत्यु थोरै र कमै मानिसमा संक्रमण देख्दा कोभिडमाथि विजय प्राप्त गर्यो भन्ने सरकारलाई लागेको थियो । यो कुरा सरकारको आत्मविश्वासले देखाउँदा तयारी अपनाउन केही ढिला भयो । सल्लाह सुझाव दिँदा नमानेको र सरकारले कोभिड नियन्त्रण गर्न दुई साता ढिला गर्दा मानवजीवन धेरै क्षति भएकै हो ।
अन्त्यमा संक्रमितको संख्या बढिरहेको समयमा सरकारलाई केही सुझाव दिन चाहनुहुन्छ ?
तेस्रो लहरको सुरुवात भएको छ । एक सातामा १० गुणा भन्दा बढी मात्रा संख्या वृद्धि भइसकेको छ । परीक्षण दरअनुसार पनि २० प्रतिशमा संक्रमण फैलिएको छ । बढी संक्रमित भएको ठाउँमा नियन्त्रण गर्न कडा नियम लागू गर्नुपर्छ । लकडाउन नगरे पनि सामाजिक दूरी कायम गरी भीडभाड नियन्त्रण गर्नुपर्छ । सार्वजनिक स्थानमा हुने भीडभाडलाई नियन्ण गरी खोप कार्यक्रमलाई तीव्रताको साथ लैजानुपर्छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया