आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

पुरानो व्यवस्था पुनर्स्थापना हुन दिइन्‍न : नेपाल

ओली ज्ञानेन्द्रजस्तै बिदा हुन्छन : रिजाल

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले देशमा पुरानो व्यवस्थाको पुर्नस्थापना हुन नदिने बताएका छन् । बुधबार नेकपाले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा कार्यक्रममा अध्यक्ष नेपालले देशमा संकटकाल लगाउने, अनेकखालका षडयन्त्र, तानाबाना बुनिएको सुनिरहेको भन्दै यस्ता षडयन्त्र सफल नुहने बताए । 

पुरानो व्यवस्थाको पुर्नस्थापना हुन्छ भन्‍नेमा कसैले सपना नदेख्‍न उनको आग्रह छ । पुरानो व्यवस्थाको पुर्नस्थापना हुने कुनै सम्भावना नरहेको र हुन नदिने उनले बताए । 

ओलीले सिंगो गणतन्त्रमाथि प्रहार गरेको नेपालको भनाइ छ । ‘नेकपाका नेतालाई तह लगाएका होला। दनक दिएको भन्‍ने नठान्‍नुहोला। सत्ताको मात खतरनाक हुँदो रहेछ। सत्ताले मानिसलाई बिगार्दो रहेछ,’ उनले भने, ‘उहाँले यो सिंगो व्यवस्था, गणतन्त्रमाथि प्रहार गर्नु भएको छ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताए । सत्तामा आएपछि नियम कानुन केही नमान्‍नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ । वैशाखमा चुनाव नहुने पनि उनले बताए । 

‘आज निर्वाचनबाट सत्तामा गएका ओली बिदा हुँदैछन् । हिजो ज्ञानेन्द्र बिदा भए । नियम र कानुन मान्‍नु पर्दैन भन्‍नेहरू इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने ।

संविधान निर्माणका क्रममा संसद् विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान तत्कालिन एमाले र एमाओवादीले नै लिएको स्मरण गर्दै रिजालले दुई कम्युनिस्ट पार्टीकै अडानले प्रधानमन्त्रीलाई केही न केही अधिकार दिनुपर्छ भन्‍ने कांग्रेस पनि सहमत भएको बताए । 

तर, संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरू संविधानको पक्षमा उभिँदा रिजालले आश्चर्य प्रकट गरे । रिजालले व्यक्ति नभएर प्रवृक्ति भएको बताए, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’ उनले कार्यक्रममा पहिलो संविधानसभा विघटन गर्ने तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराईप्रति पनि कटाक्ष गरे । 

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरू सधैभरी अग्रगमनको पक्षमा रहने बताए । प्रतिगमनको पक्षमा नजाने उनको भनाइ छ ।

पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभाको विघटन गरेसँगै राजनीतिक दलहररु यसको विरोधमा विभिन्‍न कार्यक्रमहरू गर्दै आएका छन् । बुधबार नेकपाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विभिन्‍न राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राखेका हुन् ।