आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

प्रदुषण न्यूनीकरण गर्न कर लिइन्छ, प्रभावकारी कार्यक्रम छैनन्

काठमाडौंः दश दिनअघि आयल निगमले गत आर्थिक वर्षको वासलात सार्वजनिक गर्दै आफूले १२ अर्ब ८७ करोड रुपैयाँ नाफा गरेको र सरकारलाई ६६ अर्ब राजस्व बुझाएको तथ्यांक प्रस्तुत गर्दा प्रदुषण करबापत् झण्डै दुई अर्ब ९४ करोड रुपैयाँ बुझाएको उल्लेख गरेको छ । 

पछिल्लो दशकमा सरकारले प्रदुषण शुल्क ९ अर्ब ३२ करोड रुपैयाँ संकलन गरेको छ । निगमले यसरी उपभोक्ताबाट मोटो रकम असुल्छ तर, त्यस्तो रकम प्रदुषण नियन्त्रणमा सरकारसँग प्रभावकारी कार्यक्रम छैनन् । इन्धनको अत्यधिक खपतका कारण पछिल्ला वर्षमा उक्त शुल्क ५० करोड रुपैयाँभन्दा बढी संकलन हुँदै आएको छ । जुन, सीधै राजश्व शीर्षकमा जम्मा हुन्छ ।

सरकारले निश्चित शीर्षकमा जनताबाट कर असुलेपछि सोही शीर्षकमा मनासिव देखिनेजति रकम खर्च गर्नुपर्छ । तर, प्रदुषण शुल्कका नाममा असुल गरिएको ज्यादै सानो अंश पनि यसमा खर्च गरिएको छैन । तथापि, काठमाडौं उपत्यकालगायत मुख्य शहरी क्षेत्रमा बढेको प्रदुषणको स्तर हेर्दा उक्त शीर्षकमा असुलेको कर सही ढंगले खर्च नभएको अनुमान  लगाउन सकिन्छ ।

मंगलबार काठमाडौबासीले संसारकै डरलाग्दो विषाक्त वायुप्रदुषण सामना गर्नुप¥यो । विश्वका प्रमुख सहरमध्ये प्रदूषणका हिसाबले विश्वका ५० प्रदुषित सहरमध्ये काठमाडौं पहिलो नम्बरमा रह्यो । काठमाडौँको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ रहेको थियो । 
प्रदूषणका हिसाबले दोस्रोमा किर्गिस्तानको बिस्केक, तेस्रोमा पाकिस्तानको कराँची, चौँथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोई रहेका थिए । ३०० एक्युआई नाघेपछि जनस्वास्थ्यका हिसाबले विपद्काल घोषणा गर्नुपर्छ ।

हिउँदमा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । विज्ञहरूका अनुसार, जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कणको मात्रा सबभन्दा अधिक हुने गरेको छ ।
सरकारले पेट्रोलियम पदार्थको प्रयोगबाट निम्तिने वातावरण प्रदुषण न्यूनीकरणका लागि उपभोक्ताबाट यस्तो कर असुल गर्छ । ईन्धन खरिद गर्दा उपभोक्ताले प्रतिलिटर ५० पैसा बुझाएका हुन्छन् । अहिले उक्त शीर्षकमा मासिक साढे ६ करोड रुपैयाँभन्दा बढी संकलन हुँदै आएको छ ।

पेट्रोलियम पदार्थमा संसारभरी प्रदुषण कर लगाइन्छ । छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य नेपालको भन्दा महँगो छ । सरकारले प्रदुषणलगायत शुल्क जोड्दै जाँदा नै भारतमा पेट्रोलियमको भाउ उच्च हुन पुगेको हो । वातावरण संरक्षण ऐन, २०५३ मा त्यसका लागि कोष खडा गरेर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । 
सडकको दुरुह अवस्था, सवारीको संख्या र मापदण्ड, उद्योग कलकारखानाको प्रदुषण नियन्त्रणसम्बन्धी नियमनको अभाव लगायत नै प्रदुषण नियन्त्रणको प्रमुख चुनौती भएको वातावरणविद् भुषण तुलाधर बताउँछन् ।