भागबन्डामै अल्झियो कर्णाली सरकार, तीन महिनासम्म पूर्णता पाएन
सुर्खेत- कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको झण्डै तीन महिना पुग्न लागिसक्यो तर यो अवधिमा सरकार विस्तारले भने पुर्णता पाउन सकेको छैन ।
गठबन्धनबीचमा भागबन्डा नमिल्दा सरकार विस्तारको काम अघि बढ्न नसकेको हाे । दलहरु आ-आफ्नै अडानमा रहेका छन् । जसका कारण मन्त्रिमण्डल विस्तारको काम रोकिएको छ ।
शाही मुख्यमन्त्रीमा नियुक्त भएयता भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्टलाई नियुक्त गरेका छन् । शाही एकीकृत समाजवादी र विष्ट नेकपा माओवादीको भागबन्डाबाट मन्त्रीमा नियुक्त गरिएको हो । अझैसम्म पनि बाँकी रहेका पाँच मन्त्रालय मुख्यमन्त्री शाही आफैले चलाएका छन् ।
यही अवस्थामा अघि बढे सरकार विस्तारको सकस भने अझै लम्बिने देखिएको छ । कर्णालीमा तीन दलीय गठबन्धनको सरकार छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा गत कात्तिक १६ गते कांग्रेस संसदीय दलका नेता शाही मुख्यमन्त्री बनेका थिए ।
विगतको सहमतिअनुसार कांग्रेस इमान्दार बन्न नसकेको आरोप सत्ता साझेदार अन्य दुई दलको छ । आठ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसले मुख्यमन्त्रीसहित दुई, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आएका छन् । सत्ता घटक दलहरू आफ्नो दाबीबाट टसमस नभएपछि सरकार विस्तार झनै पेचिलो बनेको छ ।
यता मुख्यमन्त्री जीवनबहादुर शाहीले भने सरकारले छिटै पूर्णता पाउने दाबी गरेका छन् । अधुरो मन्त्रिमण्डलका कारण सरकारको कार्यसम्पादन प्रभावित भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्री शाहीले अब तत्कालै सरकारलाई पूर्णता दिइने प्रतिक्रिया दिएका छन् ।
सरकार विस्तारका लागि सहमतिको बिन्दुुमा पुग्न आवश्यक छलफलहरू भइरहेको मुख्यमन्त्री शाहीले जनाए । ‘मन्त्रालय फुटाएर भागबन्डा मिलाउन सकिँदैन,’ उनले भने, ‘विगतको लिखित सहमतिमा टेकेर अगाडी बढ्ने हो, त्यहीअनुसार प्रयासहरू भइरहेका छन् ।’ मुख्यमन्त्रीले सरकार विस्तारमा तीन दलबीच ठूलै बिमति नरहेको बताए । उनले सत्ता समीकरणका बेला मुख्यमन्त्री साझा हुने र तीन दलबीच अन्य मन्त्रालय भागबन्डा गर्ने सहमति भएको दाबी गरे । सोहीअनुसार अघि बढ्नुपर्नेमा त्यसो नहुँदा समस्या देखिएको मुख्यमन्त्री बताउँछन् ।
यता गठबन्धनकै आलोचना हुन थालेपछि माओवादी केन्द्रले सरकार विस्तारमा आफूले पहल गर्नेगरी संस्थागत निर्णय नै गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले अबको एक साताभित्रै सरकारलाई पूर्णता दिने गरी पहल थाल्ने निर्णय गरेको हो ।
माओवादीले सत्ता समीकरण टिकाइ राख्न सरकारलाई पूर्णता दिनुको विकल्प नरहेको बताएको छ । सदस्य संख्याका आधारमा प्रदेशसभाको दोस्रो र सरकारको पहिलो दल भएकाले सरकार विस्तारको समस्या हल गर्न पहल थालेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए ।
सत्ता साझेदार अर्को दल एकीकृत समाजवादीले समतिअनुसार नै मन्त्रालयको दाबी गर्दै आएकाले त्यसविपरीत अघि बढे मान्य नहुने बताएको छ । एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा कर्णाली सरकारका पूर्वमन्त्री अम्मरबहादुुर थापाले आफूहरूले तीन मन्त्रालय लिने सहमति भएको जनाए ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया