सेनाले अहिले पनि सुझबुझ देखाउँछ : नेता भट्टराई

पोखरा : नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले अहिलेको राजनीतिक आन्दोलनमा नेपाली सेनाले सुझबुझ देखाउने बताएका छन् । प्रधामन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि संकटकाल घोषणा गर्न सक्ने भन्दै सेनाले विगतमा झैं सुझबुझ देखाउने विश्वास प्रकट गरेका हुन् ।
बिहीबार कास्कीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले नेपाली सेनाले आफूहरूलाई अहिलेको आन्दोलनमा साथ दिने बताए । ‘पहिलो जनआन्दोलन, ६२÷६३ को जनआन्दोलनमा सेनाले सुझबुझ देखाएको थियो, राजालाई नै साथ दिन सक्दैनौं भनेको थियो,’ भट्टराईले भने, ‘अहिले पनि संकटकाल लगाउने, सेना लगाउने हल्ला छ, तर सेनाले अहिले पनि सुझबुझ देखाउँछ ।’
नेपालको संविधानको धारा २७३ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संकटकाल लगाउन सक्ने व्यवस्था छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेको अवस्थामा आन्दोलन बढ्दै गए संकटकाल लगाउन सक्ने अवस्थामा सेनाले ओलीइतरलाई सहयोग गर्ने भट्टराईको आशा छ । अहिले आफूहरू सर्वोच्च अदालत र निर्वाचन आयोगले संवैधानिक निर्णय दिनेमा ढुक्क रहेको उनले बताए ।
तत्कालिन प्रधानान्याधीश सुशिला कार्कीमाथि महाअभियोग लगाइँदा चोलेन्द्रशमसेर जबराले अदालतका निम्ति लडेको स्मरण गर्दै अहिले पनि संवैधानिक निर्णय आउने बताए । ‘अदालत र संसदबीच त्यत्रो खाडल आउँदा अहिलेकै प्रधानान्याधीशज्यूले अदालतका लागि लड्नुभो, हामीलाई आशा छ उहाँले संवैधानिक निर्णय दिनुहुनेछ,’ भट्टराईले भने ।
निर्वाचन आयोगले दाहाल–नेपाल समूहलाई नै आधिकारिता दिने उनको भनाइ छ । आफूहरूले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित पत्र बुझाएकाले आफूहरूले आधिकारिता पाउने उनको जिकिर थियो । भट्टराईले प्रधानमन्त्री ओलीलाई ‘रेस्ट’ गर्न आग्रह गरे । अब उनले राजनीति छाडेर बालुवाटारबाट बालकोट ‘सिफ्ट’ हुने बेला आएको उनको तर्क थियो ।
प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम ल्याउने बेला पार्टीमा छलफल नगर्ने गरेको उनको आरोप थियो । पार्टीबाट नीति तथा कार्यक्रममा दिइएका आलोचनात्मक टिप्पणी पनि प्रधानमन्त्रीले नसुनेको उनले बताए । ‘३ पटक नीति तथा कार्यक्रम ल्याइयो, १ पटक पनि छलफल भएन, आलोचनात्मक टिप्पणी सुनिएन,’ उनले भने, ‘त्यही पनि सबैले समर्थन ग-यौं, कहाँनिर हामीले असहयोग ग-यौं ?’
पार्टीले सरकार चलाउन असहयोग गरेको भन्दै प्रधानमन्त्रीले झुटको प्रचार गरेको उनले सुनाए । नेकपा अध्यक्ष प्रचण्डले आलोपालोको सम्झौता त्यागेर ५ वर्ष नै प्रधानमन्त्री ओलीलाई सरकार चलाउन दिँदा पनि असहयोगको बाजा बजाइएको भट्टराईको तर्क थियो । ‘जुन व्यक्तिले आलोपालोको सम्झौता छाडेर पूरा कार्यकाल चलाउन दियो, उसैले असहयोग गरेको भन्दै झुट फैलाउने ?’ भट्टराईले भने । प्रधानमन्त्री ओलीले आयोग तथा राजदुतमा नियुक्ति गर्दा ‘पकेट’का मान्छे राखेको उनको टिप्पणी थियो । ‘पकेटबाट मान्छे नियुक्ति गरेर पठाउने अनि असहयोग भयो भन्ने ?’ भट्टराईले थपे ।
नेता भट्टराईले केपी ओलीमा सत्ता उन्माद बढेको बताए । कृष्णप्रसाद भट्टराईले आफूविरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि संसदबाट राजीनामा दिएको भन्दै ओलीले सत्ता उन्मादका कारण राजीनामा दिन नसकेको उनको जिकिर थियो । ‘कृष्णप्रसाद भट्टराईलाई अहिले कसैले नामर्द भन्छ ? ओलीले राजीनामा दिएको भए के हुन्थ्यो ? सबैले आत्महत्या गर्थे ? संसार उल्टिन्थ्यो ?’ उनले प्रश्न गरे ।
ओलीले आफूहरूको घरझगडामा समाजमा नै आगो लगाएको उनले बताए । ‘दाइभाइको झगडामा बस्तीमा नै आगो लगाउँदै हिँड्ने ? बस्ती बचाउन लागेका हामी ठीक की आगो लगाउने ठीक ?’ नेता भट्टराईले भने, ‘पार्टीबाट यो यो असहयोग भो भनेर कहिल्यै भन्नुभएन, सिधै पार्टीले असहयो ग-यो भनेर उहाँले संसद भंग गर्नुभयो ।’
प्रधानमन्त्री ओलीमा भारतीय भूतपूर्व प्रधानमन्त्री इन्दिरा गान्धिको जस्तो उन्माद बढेको भट्टराईले सुनाए । ‘सिक्किम कब्जा गरेपछि इन्दिरामा शक्ति उन्माद बढेझैं अहिले चुच्चे नक्सा सार्वजनिक गरेपछि ओलीजीमा पनि त्यस्तै भएको छ, इन्दिराको पत्तासाफ भएको याद गर्नुस्,’ उनले भने । नेता भट्टराईले अहिलेपनि आफ्नो गल्ति सुधार्न ढिला नभएको भन्दै प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरे । ओलीको कदमले प्रतिक्रियावादी र विदेशीलाई हाँसोको विषय बनेको उनको जिकिर थियो । ‘प्रतिक्रियावादी हँसाउने, आफ्ना रुवाउने कस्तो प्रकृति हो ?’ उनले भने, ‘अहिलेपनि ढिला भएको छैन, कम्युनिस्ट आन्दोलन, देशका लागि फर्कनुहोस् ।’

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया