सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

मकवानपुरमा टोलमै पुगेर खोप अभियान

मकवानपुर–मकवानपुरको केही स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सुस्त पाईएपछि बागमती प्रदेश सरकारले टोलमै पुगेर खोप लगाउने अभियान शुरु गरेको छ । 

मकवानपुरको चेपाङ बाहूल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकासहित केही वडामा खोप अभियान लक्ष्यभन्दा कम पाईएपछि टोलमै पुगेर खोप लगाउने अभियान शुरु भएको हो । खोपप्रतिको गलत प्रचार, अन्धविश्वास र खोप केन्द्र टाढा हुँदा ती क्षेत्रमा खोप लगाउने स्थानीयको संख्या कम छ । यसका कारण सर्वसाधारण भएकै स्थानमा पुगेर खोप अभियान सञ्चालन गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए । 

‘सबै नागरिकलाई खाृेपको पहुँचमा ल्याउनका लागि टोलमै टोली खटेका हुन्,’ मन्त्री लामाले भने,’ ‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि खोप लगाउन स्वास्थ्यकर्मी थप परिचालन गरिएको छ ।’

गाउँमै खोप अभियान पुगेपछि यसअघि खोप नलगाई बसेका चेपाङ समुदायका स्थानीयमा उत्साह देखिएको छ । भौगोलिक विकटताका कारण समेत खोप अभियानमा सहभागी नभएका सर्वसाधारण घरदैलोमै खोप लिएर टोली पुगेपछि सो अवसरलाई सदुपयोग गरिरहेका छन् । ‘गाउँमै खोप लगाइएपछि सेवा सहज भएको अनुभूति गाउँवासीले गरेका छन्, राक्सिराङ–५, ताङराङका स्थानीय विष्णु प्रजाले भने, ‘गाउँवासीमा उत्साह भरिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले पनि सबै इकाईका स्वास्थ्य प्राविधिक र स्वयंसेविका परिचालन गरि टोल टोलमै कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ । विगतमा खोप लगाउन बेवास्ता गरेका स्थानीय चेपाङ र तामाङ समूदायको गाउँमै खोप लगाउने अभियान शुरु भएपछि भने सहभागिता बढेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले बताए ।

बागमती प्रदेश सरकारले कोरोनाविरुद्धको खोप लगाउने दर कम भएको स्थानीय तहलाई लक्षित गरेर चोक, चौतारा, पाटीपौवा, मठमन्दिर, गुम्बा, चर्च, टोल विकास संस्थाजस्ता स्थानीयको बढि उपस्थित हुने स्थानमै खोप अभियान संचालन गरिरहेको जनाएको छ ।