सस्तोमा चाइनिज र भारतीय कम्बलले बजार ओगटेपछि भेडिहर जातिको व्यवसाय संकटमा

जनकपुरधाम : जाडो छल्न न्यानो कपडा कम्बल बुन्ने भेडिहर जातिको पेशा बढदै गएको आधुनिकताले संकटमा परेको छ । कुनै समयमा धनी वर्ग र जमीन्दारहरुले जाडो छल्न मात्र होइन सौखले प्रयोग गर्ने भेडाको कपालबाट बनेको कम्बल प्रयोग गर्ने गर्थे । तर चाईनिज र भारतीय निर्मित सस्तो दरमा आकर्षक कम्बलले बजार ओगटन थालेपछि भेडिहर जातिको पेशा नै संकटमा परेको छ ।
केही दशक अघिसम्म भेडाको कपालबाट बनेका कम्बल, पुजा गर्ने आसनी, चादर लगायतका राम्रो बजार थियो । यसबाट सयौं भेडिहर जातिको आर्थिक उपार्जन हुन गर्थ्यो । प्रदेश २ का महोत्तरी, सिरहा, पर्सा र सप्तरीसहित भेडिहर जाति बसोबास गर्ने जिल्लाहरुमामा भेडाको कपालबाट कम्बल बुन्ने व्यवसाय सञ्चालनमा थियो ।
भेडा पाल्नबाट तिनीहरुले त्यसको कपालबाट कम्बल, चादर र आसनीसहित न्यानो लुगा निर्माणका साथै बाख्रा जस्तै मासुका लागि राम्रो दाममा भेडा बिक्री गर्ने हुन्थ्यो । एउटै भेडाबाट दुई दुईवटा आम्दानीको श्रोत भेडिहर जातिको थियो । तर बढदै गएको आधुनिकताले तिनीहरुको पेशा संकटमा परेपछि चिन्तित छन् ।
अहिले बजारमा न्यूनतम ५ सय रुपैयाँमा पनि काम चलाउ आकर्षक देखिने चाईनिज र भारतीय निर्मित कम्बलहरु पाइन्छ तर हातबाट भेडाको कपालबाट निर्मित कम्बल न्यूनतम २ हजारसम्म पर्ने भएको हुनाले कम मात्रामा विक्री भइरहेको व्यवसायी रामरत्न पाल (भेडिहर) ले बताए । 'म यो पेशामा ५० वर्षदेखि संलग्न छु । एक दशक अघिसम्म चाइनिज र भारतीय निर्मित कम्बलको बजार नभएको अवस्थामा बेच्न भ्याई नभ्याई हुन्थ्यो तर अहिले त दुई/तीन दिनमा मुश्किलले एउटा कम्बल बेच्न गाह्रो नै छ,' उनले भने ।
सिरहा जिल्ला गोलबजार नगरपालिका-१२ बेतौना निवासी ६९ वर्षीय रामरत्न पाल १९ वर्षको उमेरदेखि नै भेडाको कपालबाट बनेको कम्बल लगायतका न्यानो लुगा व्यवसायमा संलग्न छन । एक दशक अघिसम्म कम्बल बेचेरै नै परिवारको भरणपोषणका साथै केही जग्गा जमिन समेत आर्जन गरे । तर अहिले व्यवसाय नै संकटमा परेपछि दिनभरि घुमेपनि परिवार धान्न गाह्रो भएको छ । पहिला हामी एउटा कम्बल ३ हजारदेखि ५ हजारसम्म विक्री गर्ने गर्थ्यौं । तर अहिले व्यापार छैन् । जुन समयमा यस कम्बलको बजार थियो त्यो समयमा भेडाको कपाल एक सय रुपैयाँ प्रतिकिलोको दरले विक्री हुने गर्थ्यो तर अहिले निशुल्क पनि कसैले लिन मान्दैनन खेर जाने उनले बताए ।
आधुनिकताले बजार पाएन
भेडाको कपालबाट बनेको कम्बल पुरानै शैलीको वजनमा भाडी र खस्रो भएको कारण मानिसहरु प्रयोग गर्न रुचाउँदैनन । चाइजिन र भारतीय निर्मित कम्बल वजनमा हल्का र मुलायम र हेर्नमा आकर्षक भएको कारण त्यसको व्यवसाय फस्टाएको भेडिहरको भनाई छ । हुनत राम्रो गुणस्तरका चाइनिज र भारतीय कम्बल भेडाको कपालबाट बनेको कम्बलभन्दा महँगो छ । त्यो कम्बल हेर्नमा आर्कषक र मुलायम भएको कारण ती कम्बलहरु नै रुचाउने गर्छ । तर गर्मी ती कम्बलभन्दा भेडाको कपालबाट बनेका कम्बल नै हुन्छ । यसलाई जुनसुकै अवस्थामा जहाँ पनि प्रयोग गर्न मिल्ने भेडा पालक सुरेन्द्र गडेरीको भनाई छ ।
भेडाको कपालबाट बनेको कम्बलमा पुरानै शैलीमा हातबाट बनाउने भएको कुनै परिवर्तन नआएको गडेरीले बताए । 'बढ्दो आधुनिकतासँगै यसको बनावटमा पनि आधुनिकता ल्याउन जरुरी छ । तर त्यो किसानबाट सम्भव नरहेकोले सरकारलाई ध्यान पुर्याउनुपर्छ,' उनले भने 'उलेन, पोलिस्टर र सिल्कबाट बुन्ने मेसिन जस्तै भेडाको कपालबाट बन्ने कम्बलको पनि मेसिनको व्यवस्थापन सरकारले गर्नु पर्यो । यसले भेडा पालक किसानलाई कम्बल व्यवसाय फस्टाउनुका साथै भेडा पालनमा आकर्षित गर्छ ।'
पहिला हालको प्रदेश २ का सिरहा, सप्तरी, महोत्तरी, पर्सा लगायतका जिल्लामा प्रत्येक भेडिहर जाति कम्बल व्यवसायमा बुन्नेदेखि विक्री वितरणमा संलग्न थियो । तर अहिले यी कम्बलले बजार नपाएपछि सिरहा र सप्तरीको कही गाउँमा मात्र सिमित हुन गएको छ । हाल सप्तरीको सिलहर, कञ्चनपुर र सिरहाको महनौर, बेतैनाका केही भेडिहर जाति मात्र भेडा पालन र त्यसको कपालबाट कम्बल बुन्ने व्यवसाय सञ्चालनमा छन । व्यवसाय संकटमा परेपछि कयौं व्यक्ति वैदेशिक रोजगारमा गएका छन् भने बाँकी रहेका व्यक्तिहरु अन्य व्यवसायमा संलग्न भएका छन ।
भेडाको कपाल संकलन गरी कर्घा भनिने हाते मेसिनबाट बुन्ने भएको कारण एउटा कम्बल तयार पार्न तीन/चार जना लगाएर कम्तिमा दुई/तीन दिन लाग्छ । निकै मेहनत पश्चात एउटा कम्बल तयार हुन्छ तर बजार नहुँदा उचित पारिश्रमिक पाउन भेडा पालक किसान पाउन गाह्रो छ ।
भेडिहर जाति किसानको मुख्य पेशा भेडा पाल्नतर्फ संघीय र प्रदेश सरकार दुवै बेवास्ता गर्दै आएको आरोप राम एकवाल पालको आरोप छ । उनले भने 'प्रदेश २ कृषि पेशा मध्ये भेडा पालन पनि प्रमुख रहेको छ । सरकारले बाख्रा, गाई, कुखुरा लगायतका पालनमा कृषकहरुलाई विभिन्न अनुदान दिने गरेको छ । तर भेडा पालनतर्फ कुनै अनुदानको व्यवस्था गरेको छैन ।' जाडोको समयमा सरकारले गरीब विपन्न वर्गहरुलाई चाइनिज र भारतीय निर्मित कम्बलहरु वितरण गर्ने गर्छन । तर आफ्नै देशमा सीप निर्मित स्वदेशी लगानीको भेडाको कपालबाट बनेका कम्बल किन्दैनन् ।
भेडिहर जातिको व्यवसायमा ध्यान पुरयाउने ः मन्त्री साह
भेडिहर जातिको व्यवसायप्रति प्रदेश सरकारले ध्यान नपुर्याएको भन्ने जिज्ञासामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले भने 'भेडा पाल्नको प्रोत्साहनका लागि विगतमा केही अनुदान गरिएको छ । तर व्यवसाय प्रवर्द्धनका लागि ध्यान पुर्याउनेछु ।'
'प्रदेशको सप्तरी र सिरहा जिल्लामा सिमित संख्यामा भेडा पालन भइरहेकोले अनुदानको व्यवस्था गरियो तर त्यसबाट बन्ने कम्बलको व्यवसाय नभएको कारण किसानहरु आकर्षित हुन सकेको छैन,' उनले भने । प्रदेश सरकारले कम्बलको बजार प्रवर्द्धनको लागि आगामी दिनमा कार्ययोजना बनाएर व्यवस्थापन गरिने उनले प्रतिबद्धता जनाए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया