'मानिसहरू निष्फिक्री हिँडिरहेका छन्, यसले गम्भीर संकट पैदा गर्न सक्छ'

काठमाडौँ - काठमाडौँ उपत्यकालगायत मुलुकभर कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । ओमिक्रोन भेरियन्ट पनि तीब्ररूपमा फेलिरहेको छ । संक्रमण बढे पनि विगतको तुलनामा अस्पताल भर्ना हुने संक्रमितको संख्या कम छ । भर्ना भएकाहरूको अस्पताल बसाइ पनि छोटो छ । शसस्त्र प्रहरी अस्पतालका डा. प्रविण नेपाल अहिले पनि जोखिम कम नभएको बताउँछन् । 'मानिसहरू निष्फिक्री केही हुँदैन भनेर हिडिरहेका छन्,' उनी भन्छन्, 'त्यस्तो सोचाइले गम्भीर संकट पैदा गर्न सक्छ ।' यसै सन्दर्भमा डा. नेपालसँग इकागजले गरेको कुराकानी:
कोभिड-१९ संक्रमितको संख्या दैनिक बढिरहेको छ । अस्पतालमा उपचार गराउन आउने संक्रमित संख्या पनि बढेको हो ?
पछिल्लो केही सातादेखि उपचार गराउन आउने संक्रमितको संख्या बढेको छ। दैनिक १० देखि १२ जना भर्ना भइरहेका छन् । भर्ना भएका संक्रमितहरू गम्भीर अवस्थाका पनि छैनन् । अधिकांश भर्ना भएका खोप लगाएकाहरू छन् ।
अस्पताल भर्ना हुने कुन उमेर समूहका बढी छन् ?
सबै उमेर समूहका मानिसहरू छन् । १० वर्ष मूनिका बालबालिकाहरूसमेत भर्ना हुने क्रम बढ्दो छ । बालबालिकामा संक्रमणको जोखिम बढ्नाले घर-परिवारमा कोही पनि संक्रमणबाट अछुतो छैनन् भन्ने हो । अहिले भर्ना भइरहेकालाई हेर्ने हो भने यसले कुनै पनि उमेर समूहका मानिसलाई छोड्दैन भन्ने संकेत दिइरहेको छ । निरन्तर बढेको संक्रमितको संख्याले दीर्घ रोगीलाई असर गर्ने देखिन्छ । बाहिर जसरी मानिसहरू निष्फिक्री केही हुँदैन भनेर हिडिरहेका छन् त्यस्तो सोचाइले गम्भीर संकट पैदा गर्न सक्छ ।
कोभिडको पहिलो र दोस्रो लहरमा दीर्घ रोगी बढी जोखिममा थिए । विगतको तुलनामा अहिले अस्पतालमा कस्ता प्रकृतिका मानिस छन् ?
दीर्घ रोग नभएका मानिस पनि उपचाररत छन् । तर, तुलनात्मक हिसाबले दीर्घरोगी बढी छन् । अन्य रोगका उपचार गराउन आएका मानिसहरू संक्रमित भइ कोभिड उपचार केन्द्रमा छन् । जब दीर्घ रोगीमा संक्रमण फैलन्छ तब मात्र कोभिडको असर देखिन थाल्छ । महामारीको समयमा सबैभन्दा बढी संवेदनशील हुने भनेको दीर्घ रोगी र ज्येष्ठ नागरिकको लागि हो । अहिले रोग प्रतिरोधात्मक क्षमता भएका मानिसहरूले हेलचक्रयाइँ गर्ने समय होइन ।
खोप लगाएका संक्रमितहरूको भर्ना हुने दर कस्तो छ ?
अधिकांश संक्रमितले पूर्ण मात्रा खोप लगाएका छन् । खोप लगाउँदैमा कोभिडबाट सुरक्षित हुने होइन । गम्भीर अवस्था नहुने र संक्रमितको अस्पताल बसाइको समय घटाउँछ । खोपलाई राम वाण मान्न सकिँदैन । यसबाट सुरक्षित रहन मुख्यतया भौतिक दूरी कायम गर्ने र जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । सामाजिक दूरी तथा मास्क मुख्य साधन रहेको छ ।
अहिले भर्ना भएका संक्रमितहरूको अवस्था कस्तो छ ?
पहिले जस्तो गम्भीर भएर संक्रमित छैनन् । आइसीयू र भेन्टीलेटरमा बस्नेको संख्या एकदम न्यून छ । अक्सिजन चाहिने संक्रमितको संख्या धेरै नरहे पनि केहीलाई दिएर राखिने गरेको छ । संक्रमित भएकाहरू पनि चाँडो निको हुने गरेका छन् । अहिले अलिकति जोखिम भनेको ज्येष्ठ नागरिक र बालबलालिकाहरू हुन् ।
पहिलो र दोस्रो लहरमा देखिने संक्रमितमा र तेस्रो लहरमा देखिएका संक्रमितमा कस्तो फरक पाउनुभयो ?
अहिलेका धेरै संक्रमितहरू घाटी दुख्ने, ज्वरो आउने, शरीर दुख्ने र टाउको दुख्ने समस्या भएकाहरू बढी छन् । अक्सिजनको जरुरी पर्ने कमै मात्रामा आइरहेका छन् । अक्सिजन चाहिने संक्रमित नआउने पनि होइनन् । तिनीहरू सबै कमजोर र दीर्घ रोगी छन् ।
खोपकै कारण तेस्रो लहरमा कोभिडको प्रभाव घटेको हो वा यसको असर देख्न बाँकी छ ?
पहिलो र दोस्रो लहरलाई स्मरण गर्नुपर्ने हुन्छ । पहिलोमा पनि दीर्घ रोगी र ज्येष्ठ नागरिकहरू यसबाट प्रभावित बनेका थिए । अहिलेको अवस्थामा पनि दीर्घरोगी र ज्येष्ठ नागरिकमा देखिन्छ । यसको प्रभाव भनेको अहिले बाहिर निस्केका मानिसबाट देख्न सकिन्छ । तिनीहरूको घर-परिवारमा रहेका अन्य मानिसमा जब संक्रमण फैलन थाल्छ तब यसको गम्भीर्यता देखिन थाल्छ । अहिलेलाई खोपले प्रभाव पारेको छ । भाइरसलाई आफ्नो स्वरूप देखाउन दिनुहुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानवीय व्यवहार हो । अहिलेसम्म देखिएका प्रमाणले यो रोग सर्ने भनेको मानवीय व्यवहारले हो । जबसम्म मानिसको मानवीय व्यवहारमा परिवर्तन नभए सम्म समूदायबाट यसलाई टाढा राख्न सकिँदैन ।
दैनिक बढिरहेको संक्रमण कसरी नियन्त्रण गर्ने ?
भीडभाड नियन्त्रण कसरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । दुई महिनापछि गर्दा हुने पनि कामलाई सारेर गर्नुपर्छ । जरुरीको कामलाई प्राथमकितामा राखौ । जरुरी भएमा बाहिर निस्कौ र मानिससँग भेट्नुपरेमा सामाजिक दूरी कायम गरौ । अनलाइनबाट गर्न सकिने कामहरूलाई इन्टरनेटको सहारा लिनुपर्छ । मुख्य कुरा भौतिक दूरी कायम गरी काम गर्ने वातावरण बन्नपर्छ । जनस्वास्थ्यको मापदण्ड पालनालाई अनिवार्य शर्त गरौ । मास्क र स्यानीटाइजरको प्रयोगमा पहिलो प्राथमिकता हुनुपर्छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया