'दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा पर्न सक्छन्'
पहिलो र दोस्रो लहरजस्तो संक्रमितमा स्वाद हराउने र सुगन्ध थाहा नपाउने समस्या देखा परेको छैन

नेपालमा पछिल्लो समय नेपालमा कोभिड-१९ को संक्रमण तीब्र बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पनि तीव्ररूपमा फैलिरहेको छ । त्रिवि शिक्षण अस्पतालका डा. निरज बम संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढ्ने बताउँछन् । अहिलेको अवस्थामा संक्रमण फैलिए केही दिनमै अस्पतालहरूमा संक्रमित भरिने उनको भनाइ छ । उनी भन्छन्, 'समुदायमा पुगेको संक्रमित देखिएका छैनन् । संक्रमण समुदायमा परालको आगो जस्तै फैलिइसकेको छ ।' यसै सन्दर्भमा डा. बमसँग इकागजले गरेको कुराकानी:
धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भइरहेका छन् । उनीहरूको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
धेरै स्वास्थ्यकर्मीहरू संक्रमित भएकाले केही वार्डसमेत बन्द छन् । संक्रमितको संख्या बढेकाले मेडिकल आइसीयू बन्द छन् । १५ बेडसहितको कोभिडको जनरल वार्ड बन्द गर्नुपर्ने अवस्था छ । केही होम आइसोलेशनमा र कतिपय स्वास्थ्यकर्मीहरू उपचारका लागि आइसक्नु भएको छ । स्वास्थ्यकर्मीहरूमा देखिने गाम्भीर्यता कम भएकाले सातौ दिनपश्चात स्वास्थ्यकर्मीहरू नियमित ड्युटीमा आइसकेका छन् । अहिले उपचारमा केही सहज छ ।
अस्पतालमा संक्रमितको संख्या ह्यवात्तै बढेमा जनशक्ति व्यवस्थापन कसरी गर्नुहुन्छ ?
अहिलेको अवस्थामा तीन सय संक्रमितलाई उपचार गर्न सक्ने भौतिक पूर्वाधारको व्यवस्था छ । संक्रमितलाई अस्पतालमा जसरी पनि उपचार गर्न सकिन्छ । पहिलो र दोस्रो लहरमा जसरी शैय्या तथा अन्य स्वास्थ्य सामग्रीको अभाव भएको थियो अहिले भने अस्पतालमा विगतको जस्तो घट्ना दोहोरिने अवस्था छैन ।
कोभिड उपचार केन्द्रमा कति संख्यामा स्वास्थ्यकर्मी परिचालित छन् ?
कोभिड वार्डमा २० जना डाक्टरसहित तीन सय स्टाफ नर्स खटाइएको छ ।
संक्रमितहरू कति समयसम्ममा निको हुने गरेका छन् ?
ओमिक्रोन भेरियन्ट देखा परेको छ भने पाँचदेखि सात दिनमा निको भएर घर जाने गरेका छन् । तर, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई संक्रमणमुक्त हुन केही समय लाग्ने गरेको छ ।
अस्पताल पुग्दा संक्रमितको स्वास्थय अवस्था कस्तो रहेको पाउनु भएको छ ?
दीर्घरोगीहरूमा केही समस्या देखिएको छ । मिर्गौला, मुटु, कलेजो र क्यान्सर रोगीहरू गम्भीर अवस्था पुग्ने गरेको देखिएको छ । युवायुवतीहरूमा श्वासप्रश्वासको समस्या हुने गरेको छ । विगतको जस्तो भर्ना भएका संक्रमितमा गम्भीर समस्या कमैमा देखिएको छ ।
तेस्रो लहर सुरु भएपछि उपचार गराउन आएका संक्रमितको मृत्युदर कतिको बढेको छ ?
दीर्घरोगी हुनेहरूको मृत्युदर बढेको छ । दैनिक मृत्यु नभए पनि दिन बिराएर २-३ जनाको मृत्यु भएको छ । खोपको दुवै मात्रा लगाएका संक्रमितको पनि मृत्यु भइसकेको छ ।
संक्रमित भएर अस्पताल आउनेमा महिला वा पुरुष कसको संख्या बढी छ ?
कोभिड वार्डमा पुरुष संक्रमित भएर बस्नेको संख्या बढिरहेको छ । उनीहरू समुदायमा बढी चलायमान हुने गरेका छन् । बढी भीडभाड र बाहिर निस्कने गर्दा उनीहरूमा संक्रमण पुष्टि हुने गरेको छ । महिलाहरू बढी घरमा बस्ने र भीडभाडमा नजाने भएकाले संक्रमितको संख्या कम भएको हुन सक्छ ।
बालबालिकामा पनि संक्रमणदर बढ्दा उपचार गर्न आउनेहरू कति छन् ?
१० प्रतिशत बालबालिका संक्रमित भएर उपचारका लागि आइरहेका छन् । उनीहरूमा सामान्य रुघा-खोकी देखिए पनि त्यस्तो गम्भीर भएर आएका छैनन् ।
ओमिक्रोन भेरियन्ट ८८ प्रतिशत मानिसलाई लागेको कुरा सार्वजनिक भइसकेका छन् । यसले भयावह रुप लिए सबैभन्दा बढी जोखिममा कस्ता मानिसहरू पर्लान् ?
दीर्घरोगीहरू जोखिममा पर्ने देखिन्छ । उनीहरूसँग रोगसँग लड्ने क्षमता एकदमै कम हुन्छ । धेरै औषधि सेवन गरेका कारण पनि शरीर मजबुत भएको हुँदैन । ज्येष्ठ नागरिक पनि उत्तिकै जोखिममा पर्न सक्छन् ।
संक्रमितमा कस्ता-कस्ता लक्षण देखिएको छ ?
पछिल्लो समयमा देखा परेको संक्रमितमा घाटी दुख्ने, शरीर दुख्ने, रुघा लाग्ने र ज्वरो आउने लक्षण देखा परिरहेका छन् । पहिलो र दोस्रो लहरमा जस्तो संक्रमितमा स्वाद हराउने र सुगन्ध थाहा नपाउने समस्या देखा परेको छैन ।
दोस्रो लहरमा अस्पताल बाहिर राखेर उपचार गरिएको थियो । अहिले शैय्याको अभाव हुन नदिन के गरिरहनु भएको छ ?
संक्रमितको उपचार गर्न अहिले अस्पतालमा १३४ शैय्या तयारी अवस्थामा छन् । एचडीयूसहित ४८ वटा आइसीयू बेड छन् । संक्रमितको चाप बढेमा यसअघि प्रयोग गरिएको अधिकांश वार्ड र भवन प्रयोग गरिन्छ । अहिले पहिले जस्तो संक्रमितले उपचार गर्न नपाउने गरी स्वास्थ्य सामग्रीको अभाव हुँदैन । स्वास्थ्यकर्मी बढी संक्रमित भएकाले जनशक्तिको अभाव छ ।
संक्रमितले अस्पतालमा शैय्या पाउँछन् त ?
आजको मितिसम्म अस्पतालमा आइपुगेका कुनै पनि संक्रमितले फर्कनु परेको छैन । इमर्जेन्सीमा केही समय पर्खेमा उनीहरूले उपचारका लागि अवश्य बेड पाउँछन् । दैनिक ८ देखि १० जना डिस्चार्ज हुने गर्छन् । थप उपचारका लागि बेड पनि थप्ने तयारीमा छौ ।
अस्पतालमा अक्सिजन प्लान्ट पनि निर्माण भइसकेको छ । प्लान्टले उत्पादन गरेको अक्सिजनले उपचार गर्न आउनेलाई चाहे जति अक्सिजन पुर्याउँन सक्छ त ?
अस्पतालमा दुई वटा अक्सिजन प्लान्ट छन् । कोभिडको दोस्रो लहरमा बिग्रिएको प्लान्ट बनाइसकिएको छ । अहिले अस्पतालमा लिक्वीड अक्सिजन प्लान्ट पनि छ । प्लान्टले प्रति मिनेट ८ हजार लिटर अक्सिजन उत्पादन गर्छ । अक्सिजन चाहिने बिरामीहरू कम मात्रामा छन् । दीर्घरोगीलाई मात्र अक्सिजन चाहिने भएका छन् ।
पछिल्लो समय अस्पतालमा खोप लगाएका संक्रमितहरू भर्ना हुने क्रम बढिरहेका छन् । खोप लगाएका संक्रमितहरूको स्वास्थ्य अवस्था कस्तो पाउनु भएको छ ?
खोप लगाएका भन्दा नलगाएका मानिसहरूमा बढी गम्भीर असर परेको देखिन्छ । दीर्घरोगीमा समस्या छ । खोप लगाएका मानिसमा न्यून मात्रामा लक्षण देखिएको छ ।
पूर्ण मात्रा खोप लगाएका मानिस पनि संक्रमित भइरहेको छन् नि ?
खोपको प्रभावकारीता कम हुँदै गएको मान्न सकिन्छ । ओमिक्रोनलाई नेपालमा उपलब्ध भएको खोपले काम गर्न नसकेको जस्तो देखिन्छ । खोप लगाएर सावधानी नअपनाउदा र जनस्वास्थ्यको मापदण्ड नअपनाउदा संक्रमण फैलदो क्रममा छन्।
सुरक्षित रहन खोप अन्तिम विकल्प होइन भन्छन् । तर, खोप केन्द्रमा किन भीडभाड बढिरहेको छ त ?
नेपालमा लगाइएको खोपले मानिसहरूमा एन्टीबडी निर्माण गरिरहेको बारेमा अध्ययन हुन सकिरहेको छैन । खोप लगाएको लामो समय हुँदा एन्टीबडी घट्दा संक्रमण भएको हुन सक्छ । नयाँ भेरियन्टमा खोपले गरेको अध्ययन हुन सकेको छैन ।
यसपटक तीव्र रुपमा संक्रमण फैलदा होम आइसोलेसनमा बस्नेको संख्या किन बढ्यो ?
सञ्चार माध्यममा आएका समाचारले ओमिक्रोन गम्भीर नभएको भनेर प्रकाशित भएका छन् । आम संक्रमितमा गम्भीर नभएसम्म अस्पताल किन जाने भन्ने मानसकिता बनेको छ । होम आइसोलेसनमा बस्दा सन्चो भइन्छ भनेर अस्पताल नजानेको संख्या बढेको हो । बिस्तारै समाजले संक्रमितलाई स्वीकार्दै जाँदा पनि होम आइसोलेसनमा बस्नेहरू वृद्धि भएका हुन् ।
दिनप्रतिदिन संक्रमित बढिरहेका छन् । बाहिर सडकमा मानिसको चाप उस्तै छ । यसरी बढिरहेको संक्रमणलाई ब्रेक गर्न सम्भव छ त ?
संक्रमित बढिरहे नियन्त्रण हुन २ देखि ३ हप्तासम्म लाग्छ । संक्रमण फैलिएमा अस्पतालमा संक्रमित भरिन्छन् । समुदायका संक्रमित देखिएका छैनन् । संक्रमण समुदायमा परालको आगो जस्तै फैलिइसकेको छ । विदेश जाने र अस्पतालमा भर्ना हुनेले मात्र परीक्षण गरिरहेका छन् । महामारी नियन्त्रण गर्न लकडाउनले सहयोग गर्छ तर, यसलाई अन्तिम विकल्पको रुपमा प्रयोग गर्नुपर्छ ।
अन्त्यमा कोभिडबाट सुरक्षित रहने मुख्य उपायहरू के-के हुन सक्छन् ?
जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्छ । भीडभाडबाट जतिसक्दो टाढा रहनुपर्छ । मास्कको अनिवार्य प्रयोग गरौ । व्यक्ति आफैँ सचेत हुनुपर्ने अवस्था आएको छ । स्वास्थ्य सचेतना फैलाउनुपर्छ । सरकारले सबैमा खोपको पहुँच पुर्याउनुपर्छ । पहिलो लगाएकालाई दोस्रो दिनुपर्छ दुवै मात्रा पाएकाले बुस्टरको मात्रा पाउनुपर्छ ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया