शुक्रबार ०६ असार, २०८२
Friday, June 20, 2025

'गज्जुबाबु'का आंशिक मुद्दा पूरा, इतिहासमा सीमित सद्भावना

जनकपुरधाम– संघीयताबारे पहिलो पटक आवाज उठाउने मधेशका मसिहाका रूपमा परिचित स्व. गजेन्द्रनारायण सिंह ‘गज्जबाबु’को २१औं पुण्यतिथि । तर पुण्यतिथिको अवसरमा उनलाई यादसम्म पनि गरिएन । कुनै समय मधेशीका प्रणेता सिंह र उनको पार्टी इतिहासको पानामा सीमित हुन पुगेको छ । 

उनकै पार्टीमा रहेर उनकै नाम र विचार बोक्नेहरू सांसद–मन्त्री बनिरहेका छन् । मधेश प्रदेशका राजधानी जनकपुरधाममा उनको विचार बोक्दै राजनीतिको उच्च ओहदामा पुगेकाहरूले कुनै कार्यक्रम आयोजना गरेनन् । औपचारिकताले हिसाबले रामकुमार महतो नेतृत्वको सद्भावना पार्टीले पुण्यतिथि मनाएका छन् ।

मुलुकले पाउनुमा संघीयता सिंहकै देन छ । हुन त, संघीयताको आवाज २००८ मा बलदेवदास यादव र कुलानन्द झा लगायतकाले आवाज उठाएका थिए । तर अधिकारिक रूपमा आफ्ना ९ बुँदे मागसहित २०४८ मा पहिलो पटक नेता सिंहले संघीयताका आवाज उठाएका थिए । सिंहको ३० वर्षअघि उठाएको संघीयता उनको निधनको ७ वर्षपछि पहिलो संविधानसभाको निर्वाचनबाट २०६५ सालमा स्थापित भएको थियो ।

मधेश र मधेशीको हक अधिकारको वकालत गर्दै आएका नेता सिंहको ९ बुँदे मागमध्ये अधिकांश आंशिक पूरा भएको उनीसंँगै राजनीति गरेकाहरू बताउँछन् । सिंहसँगै लामो समयसम्म राजनीति गरेका मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहका अनुसार, गज्जुबाबुका ९ बुँदे मागमा संघीयता, नागरिकता समस्या समाधान, छुट्टै मधेशी रेजिमेन्टसहितको सेनामा सामूहिक प्रवेश, जनसंख्या, भाषा र संस्कृतिका आधारमा निर्वाचन क्षेत्र तथा समानुपातिक समावेशी निर्वाचन प्रणाली, स्वशासित प्रदेशको स्थापना र हिन्दी भाषालाई नेपाल दोश्रो राष्ट्रिय भाषाको रूपमा दर्जा दिनुपर्ने मध्ये प्रमुख थियो ।

उनका यी मागहरूमध्ये अधिकांश आंशिक रूपमा पूरा भएको मन्त्री साहको भनाइ छ । उनी भन्छन्, ‘संघीयता देशमा आइसकेको छ, तर कार्यान्वयनमा प्रक्रियामै छ । नागरिकता समस्या पहिलो संविधानसभाको निर्वाचन अघि केही समाधान भयो । तर फेरि समस्या खडा भएको छ ।’

त्यस्तै आरक्षणको आधारमा सेना र देशका प्रशासनिक निकायमा केही संख्यामा मधेशी समुदायको सहभागिता भएको छ । तर जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र पूर्ण समानुपातिक समावेशी निर्वाचन प्रणाली लागू हुन सकेको छैन । स्वशासित प्रदेशका सन्दर्भमा सिंहले पूर्व र पश्चिमी गरी दुई मधेश प्रदेश सहित मुलुकमा ५ प्रदेशको माग गरेका थिए । साह भन्छन्, ‘जसमा हामीले ८ जिल्लाको मधेश प्रदेश त पायौं, तर स्वशासित होइन, केन्द्र शासित पाएका छौं ।’

सिंहसंगै लामो समयसम्म सद्भावना पार्टीमा रहेर काम गरेका मधेश प्रदेश सभा सदस्य मनिष सुमन ‘सिंहले कहिले पनि शान्तिपूर्ण आन्दोलनको विकल्प नखोजेको’ उल्लेख गर्छन् । सुमन भन्छन्, ‘मधेशीको हकअधिकार लागि कयौं पटक काठमाडौ सिंहदरबार अगाडि आन्दोलन गर्नुभयो, तर त्यो हिंसक र विरोध प्रदर्शन नगरी शान्तिपूर्ण अनशन थियो ।’

त्यस्तै गज्जुबाबुका विचारबाट प्रेरितमध्येका एक हुन्, मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह । उनी भन्छन्, ‘गजेन्द्रनारायण सिंह मधेसवादी नेता थिए, तर देश एवं लोकतन्त्र उनका निम्ति सर्वोपरि थियो । इमानदारी, नैतिकता, सदाचार, अनुशासन एवं दलित प्रेम उनको राजनीतिको प्रमुख अस्त्र थियो । जातिवाद, परिवारवाद र भ्रष्टाचारका उनी विरोधी थिए ।’ 

मधेसी समस्याको समाधानका निम्ति उनले शान्तिपूर्ण संघर्षको बाटोलाई रोजेका थिए । संविधानसभाबाट निर्मित संविधानबाट मधेसी समस्याको समाधान होस् भन्ने उनको चाहना थियो । उनी देशमा व्याप्त आर्थिक, सामाजिक एवं राजनीतिक असमानताको अन्त्य भएको हेर्न चाहना उनको पूरा हुन सकेको छैन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रमण पाण्डेले स्व. नेता सिंहको मागमध्ये केही आंशिक रूपमा मात्र पूरा भएको अन्य मागहरू यथावत् जिकिर गर्छन् । 

नेता सिंहको संघर्ष 
गजेन्द्रनारायण सिंह शान्तिपूर्ण एवं अहिंसाको राजनीतिका माध्यमबाट समस्याको समाधान गर्न चाहन्थे । उनी बाँचुन्जेलसम्म तराई–मधेसमा न त कुनै सशस्त्र समूह अस्तित्वमा आएको थियो, न त कसैले राष्ट्र विखण्डनको सवाल नै उठाएको थियो । उनी बाँचुन्जेलसम्म उनको सद्भावना पार्टीले बन्द, हडताल तथा हिंस्रक प्रदर्शनजस्ता विरोधका कार्यक्रम गरेन । 

पहिलो पटक २०४८ सालमा लिखित रूपमा आफ्ना नौ बुँदे माग सरकारसमक्ष अघि सारेका थिए । ती मागलाई लिएर २०५० मा सिंहले नौ दिनसम्म काठमाडौँमा अनशनमा बसेका थिए, त्यसपछि ०५५ मा पनि पार्टीका नेताहरू १० दिनसम्म आमरण अनशनमा बसेका थिए । नेपालमा अनशनको राजनीतिलाई बढी चर्चामा ल्याउने काम गजेन्द्रनारायण सिंहले नै गरेका थिए । 

यसअघि कांग्रेसमा रहँदा उनले मधेशीको हक अधिकारका लागि पार्टी भित्रै संघर्ष गरेका थिए । कांग्रेसमा उनको मागलाई बेवास्ता गरेको दाबीसहित २०४० मा कांग्रेसबाट अलग भई छुट्टै सद्भावना परिषद गठन गरेका थिए । त्यसपछि २०४७ वैशाख ३ गते सद्भावना पार्टी गठन गरी राजनीतिक रूपमा मधेशीका मुद्दा अघि बढाए । हुन त, उक्त दल २०४८ सालको निर्वाचनमा ६ सिट समेत प्राप्त गरे । 

नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको हातबाट सदस्यता लिँदै विद्यार्थी राजनीति शुरु गरेका थिए । भट्टराई कुनौली क्याम्पसको इन्चार्ज रहेको समयमा उनको हातबाट नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उनले २००७ सालको जनक्रान्तिमा समेत योगदान पुर्याएका थिए । राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएर पंचायती व्यवस्था लागू गरेपछि २०३६ सम्ममा ११ वर्ष निर्वासित जीवन बिताए । यो अवधिमा उनले पटक पटक गरी ७ वर्ष जेलमा समेत रहे ।

फूट श्रृंखलाले इतिहासमा सद्भावना
गजेन्द्रनारायण सिंहले मधेश–मुद्दालाई लिएर स्थापना गरेको नेपाल सद्भावना पार्टी अहिले अस्तित्वमा छैन, यसअघि पाँच टुक्रामा विभाजित भएको थियो । २०४८ मा राष्ट्रियसभा सदस्य मनोनयनमा नपरेपछि रामजनम तिवारीले नेपाल सद्भावना पार्टी (आर) खोलेर पहिलो पटक नेपाल सद्भावना पार्टी फुटाए । अर्का नेता हृदयेश त्रिपाठीले सार्वजनिक लेखा समितिको सभापति बन्ने आफ्नो इच्छामा पार्टी तगारो भएपछि २०५३ मा नेपाल समाजवादी जनता दल गठन गरे । 

गजेन्द्रनारायण सिंहको निधनपछि त पार्टीभित्र यति चलखेल चल्यो कि पञ्चायतकालीन मन्त्री बद्रीप्रसाद मण्डल नै यसका अध्यक्ष हुन आइपुगे । जो तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ असोजमा गठन गरेको सरकारमा सामेल भएर सद्भावनालाई तिलाञ्जली दिए । 

मण्डलले ‘प्रतिगमनलाई समर्थन गरेपछि’ राजविराज महाधिवेशनमा नेपाल सद्भावना पार्टी दुई चिरा भयो । राजेन्द्र महतो, भरत विमल यादव लगायतका नेताहरूले संस्थापक नेता सिंहकी पत्नी आनन्दीदेवीको नेतृत्वमा नेसपा (आनन्दीदेवी) बनाएर २०६१ सालको शाही ‘कू’ विरुद्ध आन्दोलनमा उत्रेका थिए । 

२०६४ जेठमा नेसपा (आनन्दीदेवी) र बद्रीप्रसाद मण्डल अध्यक्ष रहेको नेसपाबीच एकीकरण हुँदा आनन्दीदेवी अध्यक्ष र बद्री मण्डलको पार्टीका तर्फबाट लक्ष्मणलाल कर्ण वरिष्ठ उपाध्यक्ष भए । त्यसको तीन महीनापछि छुट्टै अधिवेशन गरी राजेन्द्र महतोले पार्टी कब्जा गरे । तर निर्वाचन आयोगले आनन्दी देवी समूहलाई अधिकारिता दिए । अधिकारिता नपाएपछि महतोले छुट्टै सदभावना पार्टी गठन गरे । 

सद्भावना (आनन्दीदेवी) नाम पाएको समूह पनि टुक्रेर सरिता गिरीको नेतृत्वमा नेपाल सद्भावना पार्टी र श्यामसुन्दर गुप्ताको नेतृत्वमा नेपाल सद्भावना पार्टी (युनाइटेड) गठन भयो । २०६८ साउनमा सद्भावनाबाट अलग्गिएको संघीय सद्भावना र नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) फुटेर बनेको नेसपाबीच २०७१ फागुनमा एकीकरण भई नेपाल सद्भावना पार्टी बन्यो । फूट श्रृंखलामा अनिल झाले पनि छुट्टै सद्भावना पार्टी गठन गरेर सरकारमा सहभागी भए । 

को हुन् गजेन्द्र नारायण सिंह ?
बि.सं. १९८२ मा सप्तरीको कोइलाडीमा सम्पन्न परिवारमा गजेन्द्रनारायण सिंह जन्मेका थिए । सिंहले भारतको बनाररसबाट प्रविणता तह उतीर्ण गरेका थिए । सिंह प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, मधेश आन्दोलनका प्रणेता, मधेशका मसिहा आदि उपनामले परिचित छन् । उनीसँगै काम गरेका नेताहरूलाई उनलाई ‘गज्ज् बाबु’ भनेर सम्बोधन गर्दै आएका छन् । 

सानै उमेरमा तल्लो तहबाट राजनीति सुरु गरेका सिंहले २००७ सालको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका कारण कांग्रेसको केन्द्रीय सदस्यसम्म भएका थिए । मधेशविरुद्धको विभेद समाप्त गर्न भन्दै सिंहले कांग्रेस केन्द्रीय समितिमा विशेष प्रस्ताव दर्ता गराएका थिए । तर, सिंहलाई उक्त प्रस्ताव फिर्ता लिन वाध्य पारिएको थियो । सोही कारण सिंहले २०३४ सालमा पार्टी नै परित्याग गरे ।

२०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि मधेशको अधिकारका लागि खुलेर बोल्न उनी शुरु गरे । उक्त क्रममा कैयौँ पटक प्रहरीबाट उनी काठमाडौंमा कुटिएका र लेखिएका थिए । यसै क्रममा उनी राजधानी काठमाडौंमा दुई पटक अनशन बसे । मेचीकाली यात्रा गरे र पटक–पटक आन्दोलन गरेका थिए ।