सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

ऊर्जा मन्त्रालयले तत्काल गर्नुपर्ने एउटा काम

विद्युत् विकास विभागले एकाएक एउटा नियम ल्याइदियो, माथिल्लो आयोजना अर्धजलाशययुक्त (पिकिङ) गर्ने हो भने त्योभन्दा तलका आयोजनाको अनिवार्य सहमति चाहिन्छ । झट्ट हेर्दा माथिको आयोजनालाई ‘पिकिङ’ गर्दा तलकोलाई आर्थिक, प्राविधिक समस्या आउन सक्छ, त्यही भएर आपसी समन्वय गर्दा पछि समस्या आउनेछैन ।

विभागको यो बुझाई कतिखेर उचित हुन्थ्यो भने तल र माथि दुवै आयोजनाका प्रवर्द्धक ‘आदर्श लगानीकर्ता’ हुन्थे भने । नेपालमा आदर्शको खडेरी हो । त्यसमाथि कहाँनेर अप्ठेरो पार्न सकिन्छ भनी व्यक्तिहरू मौका पर्खिरहेका हुन्छन् । यो ‘नियम’ले माथिका आयोजना नबन्ने स्थिति आयो । तलकाले मरिगए पनि सहमति नदिने भयो । सहमति दिँदा सहमति माग्नेले ठूलो मूल्य चुकाउनुपर्ने स्थिति आयो ।

यी त भए प्रक्रियागत र अनावश्यक नीतिगत झन्झट । यो प्रावधानले सबैभन्दा ठूलो क्षति राज्यलाई भइरहेको छ । यो विषयमा विभाग र ऊर्जा मन्त्रालयका अधिकारीहरूले नजरअन्दाज गरेको प्रतीत भएको छ । जुनसुकै मुलुकको विद्युत् प्रणालीमा ‘पिक इनर्जी’ (अत्यधिक माग भएका बखत चाहिने ऊर्जा) व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । सबैले एकसाथ बत्ती बाल्ने, राइस–कुकर चलाउने, इण्डक्सन चलाउने अनि उद्योग कलकारखाना पनि त्यही बेला चल्ने । यस्तो समयमा ऊर्जाको माग अत्यधिक (पिक) हुने गर्छ । तर आपूर्ति भने निश्चित हुन्छ र भनेको बेला गर्न पनि सकिँदैन । त्यही भएर ‘पिक’को समयमा अरु देशमा ऊर्जाको मूल्य महँगो पारिने गरिन्छ । 

नेपालमा ‘पिक डिमाण्ड’ पूरा गर्न अझै पनि छिमेकी भारतबाट विद्युत् ऊर्जा आयात गरिरहनु परेको छ । पिक डिमाण्डका बेला विद्युत् ऊर्जाको सहज आपूर्ति गर्ने भनेको कुलेखानीजस्तो जलाशययुक्त आयोजना निर्माण नै हो । तर हामीकहाँ जलाशययुक्त आयोजना छैन र नै भारतबाट आयात गर्नुपरेको हो । यस्ता जलाशययुक्त आयोजना निर्माण गर्न आज थाल्यो भने पनि कम्तीमा दस वर्ष लाग्छ । पूर्ण जलाशयको विकल्प भनेको अर्धजलाशय अर्थात् पिकिङ आयोजना हुन्, जुन नेपालको विविध भौगोलिकतामा उपलब्ध छ । यो प्रकृतिले दिएको उपहार हो, देशको स्रोत हो । यस्तो स्रोतको उपयोगले हामी पिक डिमाण्ड व्यवस्थापन गर्न सक्छौं । भारतबाट वर्षको २३ अर्ब रुपैयाँको बिजुली आयात गर्नुपर्दैन । 

राज्यले मात्र पिकिङ आयोजनामा लगानी गरेर आपूर्ति गर्न सक्दैन । त्यही भएर निजी क्षेत्र पिकिङमा आकर्षित भएको हो । लगानी गर्ने निजी क्षेत्र तयार छ, लगानी गर्ने ठाउँ पनि छ । तर विद्युत् विकास विभागको एउटा अघोषित नियमका कारण सम्भावित सम्पूर्ण पिकिङ आयोजना ‘किल’ हुँदै जाने जोखिम बढेको छ ।

गएको दुई वर्षका वर्षायाममा नेपालमा बिजुली जगेडा भयो र त्यो खेर गयो । झन्डै आठ अर्ब रुपैयाँको बिजुली खेर गयो । आन्तरिक बजार विस्तार गराउन सबै सरकार असफल भए अथवा भनौ यसतिर नेताहरूका ध्यान गएन । भारतले लिइदिएन । भारतले नेपालको बिजुली नलिनुका धेरै कारणहरू छन् । तीमध्ये सबैभन्दा प्रमुख कारणचाहिँ यही पिक बिजुलीको अनुपलब्धता हो । भारतमा पिकिङ इनर्जीको ठूलो माग छ । भारतले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेका प्रतिबद्धताले पनि उसलाई नवीकरणीय (जलविद्युत) को अंश बढाउनैपर्ने भएको छ । यसका लागि भारतले अनिवार्य जलविद्युत् खरिद दायित्व (एचपीओ) र नवीकरणीय विद्युत् खरिद दायित्व (आरपीओ) जारी गरिसकेको छ ।

निरन्तर आपूर्तिको सुनिश्चितता (आरटीसी) नभईकन भारतमा विद्युत्को कारोबार (पीपीए) हुँदैन । त्यही भएर उनीहरूले अनिवार्य रुपमा जलविद्युत्को ऊर्जालाई नीतिगत रुपमै प्रश्रय दिएका छन्, त्यो पनि अनिवार्य गराई । भारतको यो नीतिगत बन्दोबस्ती नेपालका लागि एउटा अवसर हुन सक्छ । किनभने भारतमा तापीय ऊर्जाको बाहुल्यता छ । सौर्य र वायु ऊर्जाले आरटीसीको काम गर्न सक्दैन । आरटीसी हुन हाइड्रो अर्थात् जलविद्युत् नै चाहिन्छ । त्यसकारण कालान्तरमा नेपालको जलविद्युत् उसका लागि ‘प्रिमियम’ हो । 

उता भारतको सम्भावित बजार खुल्न खुल्न लागेको छ, यता हामी भने पिकिङ आयोजना रोकेर बसेका छौँ । माथिको पिकिङले तलको नन पिकिङ (नदीप्रवाही—आरओआर) वालासँग सहमति लिनुपर्ने विभागको प्रावधान अनुचित, अव्यावहारिक र विकासविरोधी छ । त्यसमाथि अझ राज्यको स्रोत परिचालन गरी आत्मनिर्भर हुने, विद्युत् निर्यात गर्ने जस्ता अवसरबाट बञ्चित गराएको छ । 

तसर्थ, माथिकाले पिकिङ गर्ने अवस्था छ भने तलकासित सोधिरहनुपर्ने, सहमति लिइरहनुपर्ने व्यवस्था तत्काल खारेज गर्नुपर्छ । यो व्यवस्थाको खारेजीले तलकालाई कुनै अन्याय र मर्का पर्दैन, उल्टो फाइदा हुन्छ । पिकिङ आयोजनाले दिनभर वा चार, पाँच घण्टा पानी जम्मा गरेर साँझ वा बिहानीपख बिजुली उत्पादन गर्छ । तलको आरओआरले २४ घण्टा मेसिन चलाउनुको साटो चार, पाँच घण्टा चलाए पुग्छ । सामान्यतया २४ घण्टा चलाएर उत्पादन हुने ऊर्जा र पिक टाइममा चलाएर उत्पादन हुने ऊर्जामा घटीबढी हुँदैन । बरु पानी जम्मा हुने हरेक दिनमध्ये बिजुली उत्पादन नै ठप्प पारेर विद्युत् गृहको मर्मत गर्नुपर्दैन । यी लगायतका थुप्रै फाइदा सबै पक्ष (राज्य, प्रवर्द्धक र तल्लोवाला) लाई छ । 

ऊर्जा मन्त्रालयले तत्काल यो व्यवस्था खारेज गरी माथिको पिकिङ आयोजनालाई जतिसक्दो छिटो आउने वातावरण बनाइदिनुपर्छ । यसका लागि ऐन, नियमावली केही पनि संशोधन गर्नुपर्दैन, मन्त्रालयस्तरीय निर्णय काफी हुन्छ । अनि मात्र ऊर्जा मन्त्रालयले मुलुकको हितमा काम गरेको ठहर्नेछ ।