विश्व पौडेलको प्रवचनमा उठेका र छुटेका कुरा

‘देश के हो ? आखिर देश भन्नु, मुलुक भन्नु हाम्रो पुर्खाले देखेको एक सपना हो । नेपाल भन्ने कुरा छामेर छाम्न सकिँदैन । जसले राज्य विस्तार गर्दा जिते, तिनले सायद आफ्ना सन्तान यो मुलुकमा फलून् फुलून् भन्ने सोचेका थिए । जसले त्यो बेला हारे र पराजय स्वीकारेर यो मुलुकमा बस्ने निर्णय गरे, तिनले पनि लडिराख्नुभन्दा पराजय स्वीकार्नुमै आफ्ना सन्तानको भविष्य देखेका हुँदा हुन् । देश विजेताले मात्र बनाएका होइनन् कर तिरेर, आँसु पुछेर पराजितले पनि बनाएका हुन् । हामीले कोर्नुपर्ने, भन्नुपर्ने पनि सबैको कथा हो ।’
अर्थशास्त्री डा. विश्व पौडेलले अघिल्लो साता पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा दिएको मुख्य सम्भाषण (कि-नोट स्पिच) को निष्कर्ष हो, यो । एकजना अर्थशास्त्रीले साहित्यसँग अर्थशास्त्रको वा साहित्यबाट अर्थशास्त्रको सम्बन्ध स्थापना गरेर यस अनुच्छेदमा देशको अभौतिक नक्साङ्कन गरेका छन् ।
त्यसो गर्नुअघि साहित्यका मोटामोटी विधाबाट मानवजीवनका अर्थशास्त्रीय विषयको सिला खोजेका छन् । नेपालमा साहित्य लेखनको इतिहास नै त्यति धेरै लामो नभएको अवस्थामा एकजना अर्थशास्त्रीले भएका साहित्य केलाउँदै गरेको अध्ययनले ‘कला कलाका लागि’ वा ‘साहित्य भनेको कोरा कल्पना’ हो भन्ने मतलाई अस्वीकार गर्दै त्यो मानव जीवनको अभिव्यक्ति र देशको अभौतिक चित्र हुने तथ्यलाई पनि स्थापना गर्दछ । तर यसै सन्दर्भमा के कुरालाई पनि हेर्नु सान्दर्भिक हुन्छ भने साहित्य मानव जीवनको अभिव्यक्ति र देशको अभौतिक चित्र कोर्ने माध्यम चाहिँ भाषा हो । भाषा मानवका रूपमा हामी अहिलेको अवस्थासम्म आइपुग्दा कुनै न कुनै रूपमा थियो र त्यसमा विभिन्न परिवर्तन हुँदै हाम्रा पुर्खाको सम्पत्ति हामीले पाएका छौं ।
भाषा त्यतिमा मात्र सीमित पनि छैन, हाम्रा भावी पुस्तालाई पनि हामीले भाषा हस्तान्तरण गर्दै जानुछ । साहित्य वा गैरसाहित्यिक रचनाहरूको अध्ययनको खोजीको आधार त्यसलाई बनाउने हो भने अझ प्राचीन र सुन्दर साहित्य र देशको वास्तविक वा भौतिक चित्र पनि स्पष्ट हुन्छ । र सुदूर भविष्यमा हामी त्यसलाई लेखाउन र देखाउन सक्छौं ।
यस टिप्पणीमा ती सबै कुराको विश्लेषण गर्ने उद्देश्य छैन र त्यसो गर्नु सम्भव पनि छैन । एकजना अर्थशास्त्रीले गरेको साहित्यिक विश्लेषणबाट मावन जीवन देखाउने पाटोका कमजोरी केलाउनु पनि यसको ध्येय होइन । बरु डा. पौडेलका तर्क र तथ्यलाई पुनर्पुष्टि गर्दै नेपाल र नेपाली जीवन बुझ्ने हाम्रो अध्ययन परम्परामा लादिएका केही सीमा केलाउँदै असीमित र अन्तर्विषयक अध्ययनका केही पक्ष यसमा केलाइएको छ । त्यसको क्षितिज व्यापक रहेको कुरालाई डा. पौडेलले उजागर गरिदिएका छन् । उनी धन्यवादका पात्र छन् ।
प्रसङ्ग सुरु गरौँ देशकै कुराबाट । सम्भाषणको निष्कर्षमा ‘देश के हो ?’ भनेर प्रश्न आफैं गरेर देशको परिभाषा गरिएको छ । देशको भूगोलबारे वर्णन छैन, बरु ‘पुर्खाले देखेको सपना’ भनिएको छ । अर्थात् देश भन्नका लागि भूगोलभन्दा पनि त्यहाँका बासिन्दा प्रमुख हुन् भन्ने अर्थ बुझिन्छ यसको ।
देश निर्माणका कारकमा पुर्खा परापूर्वकालमा हालको नेपालको भूभागमा बसोबास गरेका वा हालको भूभागभन्दा पनि विस्तारित भूक्षेत्रमा रहेका बासिन्दा हाम्रा पुर्खा हुन् । तर तिनीहरू यही भूक्षेत्रमा थिए कि अन्यत्रबाट आए ? भन्नेमा एकमत छैन । हामीलाई सिकाइएको र हामी अभ्यस्त भएको अध्ययन परम्पराले हालको नेपाल वा अझ विस्तारमा भन्दा भारत वर्षको निर्माण हुनुअघिको पुस्ता हाम्रो पुर्खा थियो कि थिएन भन्ने हेर्दैन ।
वैज्ञानिक अध्ययनहरूले मान्छेको विकास बाँदरबाट भएको भन्ने तथ्य स्थापना गरिसकेका छन् । त्यस तथ्यलाई स्वीकार गर्दा हाम्रा पुर्खा खोज्न पुराना बाँदर नै खोज्नुपर्छ । तर हाम्रो अध्ययन परम्पराले हालको बुटवल-पाल्पा खण्डको सिध्दबाबा नजिक तिनाउ खोला किनारमा सन् १९३२ मा फेला परेको रामापिथेकस अथवा रामनरमानव (मानव पुर्खा) को जीवावशेषको लेखाजोखा गर्दैन ।
नेपालको इतिहास हामीले सीमा निर्धारण गरेभन्दा असीमित छ ।
करिब ९ करोड वर्षदेखि ९ करोड ५० लाख वर्षअघिको हुनसक्ने अनुमान गरिएको मान्छेका बङ्गाराजस्तै देखिने टाउकाको अवशेष रामापिथेकसको मानिएको थियो । अध्ययनहरूले रामापिथेकसलाई बाँदरबाट विकास भएको तर मानव भइनसकेको प्रजाति बताएका छन्, जुन लुप्त भइसकेको प्राणी हो । तर, फेरि सन् १९७५ र १९७६ तथा १९८२ मा त्यही नमुनाको अध्ययनबाट यो रामापिथेकसको नभई सिभापिथेकसको भएको मानिएको छ । यसलाई उराङउटानको पुर्खा भनी संशोधित नतिजा भनिएको छ । जे भए पनि नेपालमा पाइएका यो जीवावशेषको प्राप्तिले माया सभ्यताको रहस्य उद्घाटन गर्न योगदान दिएको छ ।
नेपालकै अन्य क्षेत्रमा पाइएका अरू जलचर र स्थलचरका जीवावशेष पनि पाइएका छन् । यी सबैले हाम्रो यस क्षेत्रलाई मानव पुर्खा र जीवजन्तुका लागि उपयोगी बासस्थान रहेको प्रमाणित गर्छ । तथापि हामी त्यही बाँदरका प्रजाति हौँ कि होइनौँ त्यसको उत्तर सहज छैन । अध्ययनहरूले हालको नेपालको भूक्षेत्रका बासिन्दामध्ये कुनै उत्तर र कुनै दक्षिणबाट यायावरीय जीवनयापन गर्दै आएका बताउँछ । तर ती त्यसअघि त्यही नरमानवका वंशका रूपमा दक्षिण वा उत्तर गएका थिए कि थिएनन् ? र पुनः आफ्नो पुर्खा खोज्दै फर्केका हुन् कि होइनन् ? भन्ने चाहिँ अध्ययन गर्दैन ।
खासमा हाम्रो अध्ययन परम्परा सीमाबध्द छ । त्यस्तो सीमा भूक्षेत्र, वंश परम्परा, शासक वर्ग, शासकीय परम्परा, लडाइँका विजेता वा पराजित वर्ग आदिका आधारमा तय भएको छ । नेपालको भूक्षेत्र काठमाडौं उपत्यका हो वा त्यसबाहिरको विस्तारित थियो ? भन्ने विवादमा हामी विभाजित छौं । त्यस्तै विभाजन पृथ्वीनारायणले राज्य विस्तार गरेपछि हालको नेपालको स्वरूप बनेको हो कि उनले एकीकरण नै गरेका थिए भन्ने आधारको छ । खासमा शासकीय इतिहास लेखन र अध्ययन परम्पराले हामीलाई त्यो विभाजनमा नै रमाउन दिएको छ ।
हाम्रो इतिहास, हाम्रो उद्भव, हाम्रो वंश परम्परा त्यसअघि नै थियो भन्ने कुरालाई बिर्साउने गरी शासकीय इतिहास लेखिएका छन् । त्यसैमा हामी अन्धभक्त छौं र नेपालको नक्सा र नेपाली पुर्खाको विरासतबारे आआफ्नै ढंगले अथ्र्याउन लागेका छौं । यो सबै पाइने शास्त्र भनेको इतिहास हो ।
हाम्रो इतिहास लेखनबारे पनि इतिहासकारहरूबाट नै बेला बेला प्रश्न उठ्ने गरेको पाइन्छ । ती प्रश्नमध्ये हाम्रो इतिहास कसले लखेको छ वा लेखाइएको छ ? भन्ने प्रश्न अहम् छ । त्यसको उत्तर खोज्दा शासकहरूले विदेशीलाई पैसा दिएर इतिहास लेखाएका थिए भन्ने तथ्य पनि पाइन्छ । यस आधारमा एक किसिमले भन्ने हो भने हामीलाई शासकीय असहिष्णुताको विषाक्त इतिहास घोकाइएको छ भन्ने बुझ्न सकिन्छ । हामी अर्कालाई लेख्न लगाएको वा अरूले लेखिदिएको इतिहासका गलत तथ्य नपर्गेली विभाजित मानसिकतामा रमाएका छौं । नेपाली वा नेपालका भाषाको ऐहिासिक अध्ययनमा पनि यो समस्या देखिन्छ ।
इतिहास लेखन वा अध्ययन-अनुसन्धान परम्परा प्राज्ञिक परम्परा हुनुपर्छ । प्राज्ञ जन्माउने वा प्राज्ञिकता प्रष्फुटन गराउने संस्था भनेका विश्वविद्यालय हुन् । तर हाम्रो विश्वविद्यालयको इतिहास नै लगभग छ दशकको मात्र छ । नेपालको पहिलो र ठूलो विश्वविद्यालयका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति रहिसकेका प्रा. केदारभक्त माथेमाको विचारमा हाम्रो विश्वविद्यालयको परम्परा शासकीय इतिहास स्मरण गराउने मात्र रह्यो । विश्लेषणात्मक क्षमता बढाउने वैकल्पिक वा जनताको इतिहास लेख्न सिकाउनेतिर हाम्रो प्राज्ञिकता लागेन बरु एनजीओ÷आईएनजीओमा परामर्शदाता हुन रमाएको छ ।
विश्लेषण गर्न सक्नुपर्ने, आफ्नो विचार दिन सक्नुपर्ने, अर्काको विचारलाई केलाउन सक्ने, नयाँ कुरा राख्ने, समस्या सुल्झाउने हाइयर कग्निटिभ लर्निङ नसिकाएर सबैभन्दा लोएस्ट कग्निटिभ लर्निङमा जोड दिएका छौं, स्मरण शक्तिको परीक्षणमा मात्र । त्यही परम्परा कर्मचारीतन्त्रको वा प्राज्ञिक क्षेत्रको भर्ना प्रक्रियामा पनि छ । त्यसले विद्यामा क्षयीकरण भएको छ, घोकन्ते र टापटिपे सिकाइले प्रश्रय पाएको छ ।
यो त्यसै भएको होइन सिकाइएको नै त्यही छ । नेपाल भन्नेबित्तिकै पृथ्वीनारायण शाहपछिको र शाहवंश परम्पराको मात्र भन्ने भान पार्ने शिक्षा पध्दतिबाट हामीलाई सम्झाउन खोजिएको छ । नेपालबारे शिक्षादीक्षाको आधार नै एउटा राजनीतिक पध्दतिलाई टिकाउने गरी नेपाल परिचयको पाठ्यक्रमबाट खडा गर्न खोजिएको छ । अहिलेको प्रबुध्द वर्गको अधिकांशको धरातल यही हो ।
हाम्रो पहिचान बहुजातीय र बहुभाषिक नै हो । त्यो नै हाम्रो राष्ट्रियताको आधार हो, तर त्यसमा यसरी विभाजनको वैचारिक दरार पैदा गराइएको छ कि त्यसलाई छिचोलेर समग्रताको राष्ट्रियताको आधार विन्दुसम्म पुग्न नै कठिन छ । राष्ट्रियतालाई केन्द्रमा राखेर सत्यापनका लागि चाहिने बहुस्रोतगत खोजी र अन्तर्विषयक अध्ययन परम्परा नै हामीकहाँ संस्थागत बन्न सकेन वा अझ भनौँ बनाउन नै खोजिएन ।
यस सन्दर्भमा डा. पौडेलले साहित्य र अर्थशास्त्रको कडी पहिचान गर्न खोज्नु आफैंमा एउटा सकारात्मक पक्ष रहेको छ । साहित्यका रसिला हरफबाट अर्थशास्त्रका निरस तथ्याङ्क खोज्नु आफैंमा एउटा दुस्साहस हो । त्यसको जस उहाँलाई दिनैपर्छ, अझ त्यसमा लाग्न अरूलाई प्रेरित गर्नसक्नु उहाँको विशेष क्षमता हो । तर माथि चर्चा गरिएझैं डा. पौडेल पनि नेपाल र पुर्खा खोज्ने क्रममा पृथ्वीनारायण शाहपछिको नेपालको चक्रमा मात्र पो फसेको हो कि भन्ने उहाँले वर्णन गरेका साहित्य र समयसीमा तथा परिघटनाले देखाउँछन् ।
हुन त साहित्य भनेर केलाई भन्ने वा केलाई नभन्ने भन्ने पनि बहसकै विषय बन्ला । यहाँ साहित्य र अर्थशास्त्रको विधागत परिपक्वताको विश्लेषणको आधार खोजिएको होइन बरु आम रूपमा लेखिएका अन्तर्विषयक बहुस्रोतलाई साहित्यका रूपमा बुझ्दा अरू सहज हुन सक्छ भन्न खोजिएको हो । अध्ययन-अनुसन्धान परम्परामा लिटरेचर रिभ्यु अर्थात् पूर्वअध्ययनलाई त्यसले न्याय गर्न सक्छ, जसमा लिटरेचर वा साहित्यको अर्थ साहित्यका मूल विषय क्षेत्रभन्दा पनि समग्र सामग्रीको अध्ययन हुन जान्छ ।
नेपालको पुर्खाको समयसीमा र साहित्यका विधागत खस्रा परिभाषामा सीमित नहुने हो भने किरात कालमा ग्रिसेली परम्परामा नेपालबाट युरोपमा हुने गरेको तेजपातको व्यापार, लिच्छविकालमा युरोप र खाडी क्षेत्रमा हुने गरेको कस्तूरी र अन्य जडीबुटीको व्यापारलाई नेपालको अर्थशास्त्रका तथ्य र तथ्याङ्कका कडीका रूपमा प्रस्तुत गर्न ज्यादै सहज हुन्थ्यो । यसले नेपालका पुर्खा र उनीहरूको विस्तारित भूक्षेत्र (देश) देखाउन पनि सहयोग गर्थ्यो ।
तीभन्दा अझपछि आउँदा सन् १६८२ देखि सन् १६९३ को बीचमा आर्मेनियाली व्यापारीले गरेको भारत-नेपाल-तिब्बत त्रिदेशीय व्यापारको शृङ्खला थप्न सकिन्थ्यो । एउटा व्यापारीको दैनिक स्याहा-से्रस्ताले काठमाडौंभन्दा बाहिर हालको भारतको हाजिपुरमा नेपालको भन्सार पत्ता लगाएर नेपालको भूक्षेत्र निर्धारण गर्न सकिन्थ्यो ।
त्यस्तै कर, भन्सार, नेपाली उत्पादन, कर छली, नाफा घाटाको प्रतिशत र प्रवृत्ति तथा आयात निर्यात व्यापार र अर्थव्यवस्थाका अरू पनि तथ्यबारे चर्चा गर्न सकिन्थ्यो । त्यो भनेको मल्लकालको नेपाल थियो, तर त्यो मल्ल राजाहरूको मात्र आर्थिक विवरण थिएन, जनस्तरको अर्थतन्त्रको कुरा पनि थियो । किरात र मल्ल कालअघिको लिच्छिवि कालको नेपालका आर्थिक प्रशासनका कुरा पनि धेरै आएका नै छन्, तिनलाई पनि उल्लेख गर्नु सान्दर्भिक हुन्थ्यो ।
हाम्रो इतिहास कसले लखेको छ वा लेखाइएको छ ? शासकीय असहिष्णुताको विषाक्त इतिहास घोकाइएको छ भन्ने बुझ्न सकिन्छ ।
माथि पनि संकेत गरिए जस्तै साहित्य र अर्थशास्त्र वा अरू जेजे विषय क्षेत्र भने पनि भाषामा नै बोलिन्छन् वा लेखिन्छन् । भाषामा प्रविधिको प्रयोगले भाषाको मूल रूप कथ्यलाई भन्दा पनि दोस्रो रूप लेख्यलाई सङ्ग्रहमा सहज बनाएको छ । भाषाको यही प्रयोगकोे कडीलाई जोड्दै डा. पौडेलले पनि युरोपमा छापाखानाको विकास भएपछि ‘सन् १८२० सम्म आइपुग्दा युरोपमा प्रिन्टिङ प्रेसको निकै विकास भइसकेको’ र धार्मिक किताब छपाइको प्रसङ्ग उल्लेख गर्नुभएको छ । त्यो त नेपाली भाषा र साहित्यका लागि समेत छापामा प्रवेशको समय थियो ।
हालसम्म मानिँदै आएको तथ्य अनुसार सन् १८२१ मा भारतको पश्चिम बङ्गालको सेराम्पुरमा नयाँ करारको बाइबल नेपाली भाषामा प्रकाशन भएको र त्यसलाई सेराम्पुरे बाइबल भन्ने गरिएको हो । तर नयाँ तथ्यले त्यसको धेरै अघि सन् १७५९ मा नै रोमबाट अल्फाबेटम तिबेतानम नामक पुस्तकमा देवनागरी लिपिमा नै नेपाली भाषामा सामग्री छपाइको चरणमा प्रवेश भइसकेको देखाएको छ ।
अर्थशास्त्र र साहित्यको वा अन्य यावत् अन्तर विषयक अध्ययनमा निकटता भाषिक व्यवस्थाले देखाउँछ । त्यसैले हामीले खोजी पस्ने माध्यम नै भाषा बन्दछ । भाषाका विशेषता वा नियमले समाजको स्वरूपको समेत खोजी गर्न सहयोग गर्दछ । त्यस्तै, भाषिक नियम रहेको नेपाली लगायत देवनागरी लिपिमा लेखिने नेपालका अन्य भाषाको वर्णमाला वा व्याकरणको बीज पनि सन् १७७१ मा नै रोमबाट ल्याटिन र देवनागरी लिपिको नेपाली भाषा मिश्रित अल्फाबेटम ब्रह्मानिकममा पाइन्थो । यी सबै पुस्तकाकार कृति थिए ।
तर ल्याटिन स्रोतका यी र अरू पनि थुप्रै सामग्रीलाई बेलायती अध्ययन परम्पराले उपेक्षा गरेको छ । विडम्बना नै भन्नु पर्छ हाम्रो अध्ययन परम्परा पनि त्यही बेलायतीकै पथमा रहेको छ । त्यस अध्ययन परम्पराले पूर्ण अध्ययन वा पूर्वअध्ययन (लिटरेचर रिभ्यु) लाई या त उपेक्षा गर्छ या बेलायती अध्ययन परम्पराभन्दा उता जानै दिँदैन । त्यसैको हदबन्दीमा पर्दै हामी एक प्रकारले अङ्ग्रेजी अध्ययन परम्पराको स्वैच्छिक उपनिवेशमा फसेका छौं ।
युध्दको अर्थशास्त्रको पीडामा नेपाली भाषा परेको छ । भारतमा उपनिवेश जमाएको इस्ट इन्डिया कम्पनीका सेनाले नेपाली सेनासँग गरेको पटक पटकको युध्दपछि नेपालीको वीरता बुझेर आफ्नो सेनामा नेपालीको भर्ती खोलेका थिए । तत्कालीन शासन सत्ता जोगाउन नेपालको एक तिहाइ भूभाग गुम्ने गरी सन् १८१६ मा गरिएको सुगौली सन्धिले वैधानिक बाटो खोलिदिएपछि ब्रिटिस गोर्खामा नेपालीलाई लैजान थालियो ।
बेलायली सेनामा रहेका नेपालीबीच र उनीहरूसँगको भाषिक सम्पर्क कायम गर्न भाषाको पनि खोजी भयो । वीर गोर्खा जस्तै उनीहरूले प्रयोगको सम्पर्क भाषालाई पनि ‘गुर्खा भाषा’ भनिदिए । गोर्खा त पछि भनेका हुन्, अझै पनि अङ्ग्रेजीमा गुर्खा नै लेख्छन् । यसले त्योभन्दा धेरैअघि सन् १७१७ मा नै जोसेप्पे दा मोर्रोले नेपालबाट रोममा पत्र लेखी नेपाली भाषाको नामबाट नै ल्याटिन परम्परामा नेपाली भाषाको अध्ययन परम्पराको जग बसाइसकेका थिए भन्ने तथ्यलाई धुलीसात बनाइदियो ।
त्यसले नेपाली भाषा त पृथ्वीनारायणको शासनकालपछि लादिएको गोर्खा भाषा हो भन्नेसम्म भ्रम छर्ने षडयन्त्रमा सहयोग गरेको छ । बहुभाषिक समाजमा त्यस्ता भ्रम ज्यादै हानिकारक हुन्छन् । भाषिक उपनिवेशको रूप अर्काको भाषा लादिनेमा मात्र होइन हाम्रा आफ्ना भाषाको अपमान र अवमूल्यनमा अझ बढी हुन्छ । हामीले त्यो अनुभव गर्नै सकेका छैनौँ ।
नेपाली समाजमा शासक वर्गका वंशका आधारमा इतिहास विभाजन भएजस्तै नेपालबारे अध्ययन परम्परामा पनि देशगत र भाषिक रूपमा बेग्लाबेग्लै अध्ययन परम्परा पाइन्छन् । भारतमा उपनिवेश जमाएर बसेका अङ्ग्रेजहरूको अप्रत्यक्ष औपविनेशिकतामा जकडिएको हाम्रो अध्ययन परम्पराले त्यसअघिका ती सबैलाई उपेक्षा गरिदिन्छ ।
उद्देश्य नेपाल र तिब्बतमा क्रिस्चियन धर्म फैलाउने नै रहेको भए पनि जेसुइट वा केपुचिन पादरीहरू वा त्यसअघिका विभिन्न व्यक्तिहरूले नेपालका भाषा, धर्म, संस्कृति आदिबारे गरेका अध्ययन हाम्रो भाषा, साहित्य, संस्कृति, राजनीति, भूगोल, अर्थशास्त्र लगायत अन्तर विषयमा सम्पत्ति हुन् अर्थात् नेपाल विद्याका सम्पत्ति हुन् । तिनको खोजी गरी एकल विषयक वा अन्तर विषयक अध्ययन गर्ने हो भने नेपालको विश्व मानचित्रमा नेपालको ऐतिहासिक तस्बिर अरु स्पष्ट देखिन्छ । तर हाम्रो बौध्दिक जमात त्यति पूर्वअध्ययनमा जान नै रुचाउँदैन ।
साहित्यका रसिला हरफबाट अर्थशास्त्रका निरस तथ्याङ्क खोज्नु आफैंमा एउटा दुस्साहस हो । उहाँको विशेष क्षमता हो, यो ।
अबको पुस्ताले त्यता जान डराउन हुँदैन । राजनीतिक प्रणाली र शासकीय परिवर्तनले फेरि एकपटक हामीलाई त्यस्ता अनेक गतल परम्परालाई परास्त गर्दै नयाँ परम्परामा अध्ययनको क्षेत्रमा प्रवेश गर्न अवसर प्रदान गरेको छ । युवा पुस्ताले त्यसको नेतृत्व लिनु पर्दछ ।
यस सन्दर्भमा हामीले आफूलाई नै केन्द्रमा राखेर सोच्नुपर्ने हुन्छ । अर्थात् सबैभन्दा पहिले म को हुँ भनेर चिन्नुपर्छ । म को हुँ भन्ने बित्तिकै कसैले पनि भुइँफुट्टा पाउँदैन, उसका आमाबाबु, बजैबाजे, जिजु हुँदै पुर्खाको अस्तित्वको खोजी गर्न पुग्छ । खोजी गर्दै जाँदा उसले आफ्नो वंशको मूल र उद्गम पत्ता लगाउला ।
अब फेरि उसले आफूभन्दा पछाडिका पुस्ताको अनुमान गर्न थाल्यो भने आफूलाई पुर्खा र भावी पुस्ताको कुनै बिचतिर पाउला । अनि आफू बसेको धरातल अर्थात् देश आफूमा कसरी प्राप्त भयो भन्ने सोच्न सक्यो भने देश र पुर्खाप्रति गर्व र सम्मान गर्नुपर्ने धेरै तत्त्वहरू पाउन सक्छ । त्यसैमा अलिकति कर्तव्यबोध गर्न सक्यो भने अविच्छिन्न भावी पुस्तामा सग्लो नेपाल पुस्तौं पुस्तासम्म हस्तान्तरण गर्न योगदान गर्नुपर्ने पाउँछ ।
समग्रमा यसको अध्ययन परम्परा कुनै पनि साहित्यभन्दा पनि नेपाल विद्याको कडी हुनु पर्दछ, जसको अध्ययन स्वदेशी वा विदेशी जो कोहीले जहाँबाट पनि गर्न सकिन्छ । हाम्रो अध्ययन परम्परामा आफ्नै देशीय अध्ययन परम्पराको नेपाल विद्याको खाँचो छ । देश चिन्ने र चिनाउने कडीका लागि यो नै उपयुक्त माध्यम बन्नसक्छ । सपनाको अमूर्त देशभन्दा विपनामा नै सीमा हेरफेर भएको वास्तविक नेपालमा भावी पुस्ताले गर्व गर्न पाउँछ ।
राज्य वा देशको निर्माण युध्दबाट मात्र भएको हुँदैन, विजय र पराजयको चक्रमा मात्र देश परेको हुँदैन । भूक्षेत्र खनीखोस्रीमा देशको नाम, साहित्य र अर्थव्यवस्था पाइन्छ । तिनको अध्ययन भाषाबाट स्थाननाम खोज्दै गर्न सकिन्छ । नेपालको इतिहास हामीले सीमा निर्धारण गरेभन्दा असीमित छ । (केदार वाशिष्ठ पत्रकार, अध्यापक तथा लेखक हुन् । उनले लेखेको ‘नेपाल विद्या : सिध्दान्त र प्रयोग’ नामक अनुसन्धानात्मक गहकिलो ग्रन्थ अघिल्लो महिना प्रकाशनमा आएको छ ।)
विश्व पौडेलको प्रवचन : अर्थशास्त्री र साहित्यकारको भेटघाट सधैं सोचे जस्तो राम्रो हुँदैन

स्ववियु र विद्यार्थी आन्दोलनको मार्ग: इतिहास र भविष्यको अवलोकन

राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ

जरुर उठ्छ-उठ्नुपर्छ माओवादी आन्दोलन

सांसदले जनताको विश्वास जित्न काम गरेर देखाउनुपर्छ

संघीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

श्रमिक महिलाको पीरः आमा बन्ने कि जागिर रोज्ने ?

प्रतिक्रिया