विदेशी स्टारबाट टाढिँदै चिनियाँ फुटबल लिग

काठमाडौं : सन् २०१७ को जनवरीमा चेल्सीका मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग खेल्न सांघाई पुगे । विश्व फुटबलमा नाम बनाएका खेलाडीहरू चिनियाँ क्लब फुटबलमा प्रवेश गर्ने सिलसिला चलिरहेको थियो । त्यसै बखत ओस्कारले सांघाई एसआईपीजीको हिस्सा बन्ने निर्णय गरे । सांघाई एसआईपीजीले अन्य चिनियाँ क्लबहरुले जस्तै युरोपियन लिग खेलिरहेका खेलाडीहरुलाई अनुबन्ध गर्न ठूलो खर्च गर्दै थियो ।
त्यसै अनुरुप सांघाई एसआईपीजीले ओस्कारलाई ६० मिलियन युरो हालेर खरिद गर्यो । जुन एसियाली क्लब फुटबलको सरुवा बजारको इतिहासमै महंगो स्थान्तरण थियो । चिनियाँ क्लबहरूले फुटबल सरुवा बजार बिगारिरहेको भन्दै आलोचना गर्ने सूचिमा चपिए, आर्सन वेङ्गर । आर्सनलका पूर्व प्रशिक्षकले ओस्कार जस्ता खेलाडी महंगो मूल्यमा चिनियाँ लिग जाँदा त्यसले विश्व क्लब फुटबलमा नकारात्मक प्रभाव ल्याउने धारणा राखे ।
ओस्कार चीन गएको चार वर्षपछि अवस्था फेरिएको छ । चिनियाँ फुटबल संघ (सीएफए) ले त्यहाँका क्लबहरूको स्टार खेलाडी किन्ने रुचिमा बन्देज लगाउने कोशिस गरेको छ । विभिन्न किसिमका नियम लगाएर । अब चिनियाँ क्लबहरूले नयाँ नियम अनुसार विदेशी खेलाडी अनुबन्ध गर्दा १०० प्रतिशत ‘ट्रान्सफर’ कर तिर्नुपर्ने छ । विदेशी खेलाडीहरुलाई तीन मिलियन युरो (प्रति वर्ष) भन्दा बढी तलब दिन नपाइने व्यवस्था पनि लागू गरिएको छ । अनि घरेलु खेलाडीहरूका लागि पनि तलब सिमा तोकिएको छ ।
विदेशी खेलाडी धेरै तलब पाउने लोभमा चिनियाँ फुटबल लिग खेल्न जाने तथ्य लुकेको छैन् । हुन पनि चिनियाँ क्लबहरू खेलाडीलाई एसियाकै अन्य ठूला लिग खेल्ने क्लबहरूले भन्दा धेरै तलब दिन्थे । त्यसकारण पनि चिनियाँ क्लबहरूको खर्च दक्षिण कोरियाली क्लबहरूको भन्दा १० गुणा धेरै अनि जापानी क्लबहरूको भन्दा तीन गुणा धेरै रहेको बताइएको छ । क्लबहरूको खर्च ठूलो भए पनि चिनियाँ खेलाडीको स्तर उकासिएको भने छैन् । न त चिनियाँ राष्ट्रिय फुटबल टोलीको भविष्य नै उज्जवल हुने संकेत देखिएको छ । यी कारणले पनि चिनियाँ फुटबल संघले आवश्यक कदम चाल्नै पर्ने आवश्यकता थियो ।
अब चिनियाँ लिग खेल्ने सबै खेलाडीले आ-आफ्ना क्लबसँग नयाँ सम्झौता गर्नेछन् । सिन्ह्वाका अनुसार क्लबहरूले हालका लागि आफ्ना महंगा स्टारलाई थप सम्झौता गराउँदै आर्कषक तलब दिइरहन सक्नेछन् । तर त्यस्तो सुविधा लामो समयसम्म रहने छैन । अर्को वाक्यमा, महंगो सरुवा रकम र आर्कषक तलब प्रस्तावका कारण हुने खेलाडी सरुवा अब रोकिनेछ ।
चिनियाँ फुटबल संघले ल्याएको नयाँ नियमको प्रभाव देखिन सुरु भइसक्यो । ओस्कारसँगै चीन पुगेका हल्कले सांघाई एसआईपीजी गत महिना छाडेका छन् । सांघाई एसआईपीजीको सम्झौता सकिएको र नयाँ सम्झौतामा विगतको जस्तो तलब नहुने भएकाले उनले चीन छाड्ने निर्णय गरेको अनुमान गर्न ग्राहो छैन् । त्यस्तै, यसै साता मात्रै इटालियन फरर्वाड ग्रजियानो पेल्लेले समेत चीनबाट बाहिरिने निर्णयमा पुगे ।
चिनियाँ लिगमा पाउलिन्हो र माराउने फेलाइनी जस्ता केही स्टार अझै छन् । तर कुनै बेला विश्व फुटबलमा नाम कमाएका खेलाडीहरुले भरिएको लिगमा ‘ग्लोबल’ स्टारको संख्या बिस्तारै कम हुदै गएको छ । त्यसो त पछिल्ला ‘ट्रान्सफर विन्डो’ मा चिनियाँ क्लबहरु चिनिएका फुटबलरको खरिदमा सक्रिय देखिएनन् । २०१९ मा वेस्टह्यामबाट मार्को आरनाउटोभिच सांघाई एसआईपीजी जानुबाहेक अर्को स्टार चीन गएको देखिएन ।
अधिक मात्रामा स्टार खेलाडीलाई अनुबन्ध गर्ने सिलसिला रोकिने भएपनि चिनियाँ लिगले विश्वस्तरिय प्रशिक्षकलाई स्वागत गरिरहने बताउछन्, त्यहाँका फुटबल प्रशासकहरु । ठूलो रकम खर्च गरेर स्टार भित्र्याएर मात्रै घरेलु फुटबलको विकास नहुने रहेछ भन्ने निचोडमा पुगेका चिनियाँ, एकेडेमीमा लगानी गर्ने र युवा प्रतिभाको विकासमा लाग्ने बताउँछन् । कोभिड-१९ ले चिनियाँ अर्थतन्त्रमा प्रभाव पारेका कारण पनि चिनियाँ लिगमा नयाँ सिजनका लागि ओस्कार वा हल्क जस्ता स्टार अनुबन्धित हुने सम्भावना छैन् ।
फुटबल संघको नयाँ नियम र कोभिडले बिगारेको अर्थतन्त्रका कारण, चिनियाँ क्लबहरुले विगतमा जस्तो खर्च अब फेरी गर्ने छैनन् । वेङ्गरले कुनै समय प्रिमियर लिगलाई असर पुर्याउन सक्ने लिगका रुपमा ब्याख्या गरेको प्रतियोगिता, अब मितब्ययी हुने प्रयासमा छ । सरुवा बजारमा ठूलो खर्च गरे पनि चिनियाँ क्लबहरुले एसियन च्याम्पियन्स लिगमा समेत राम्रो प्रदर्शन गर्न नसकेपछि चिनियाँ फुटबल प्रशासकहरु घरेलु फुटबलको संरचनामै परिवर्तन ल्याउने निर्णयमा पुगेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया