शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

सर्वोच्चभन्दा ठूलो अदालत जनता हो : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो जनता भएको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरुद्धमा कांग्रेसले ३३० निर्वाचन क्षेत्रमा शनिबार गरेको विरोध प्रदर्शन अन्तर्गत काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै देउवाले अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सदर गरेमा अदालतको आदेशलाई सम्मान गर्दै चुनावमा जाने बताए ।

‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो । त्यो कसैले भुल्न हुँदैन । कांग्रेस जनतामा जान डराउँदैन र अहिले जनतामा जाँदा के बिग्रन्छ  र ?’ देउवाले भने । 

प्रतिनिधि सभा विघटनको विषयमा सडकमा जुलुस र धर्ना गर्न नमिल्ने देउवाले बताए । संसद विघटन संविधान विरोधी कदम भए पनि यो अदालतमा विचाराधिन रहेकाले त्यस्तो गर्न नमिल्ने देउवाको भनाइ छ । ‘प्रधानमन्त्री ओलीको कदम संविधान विरोधी नै हो । यो कदमको निन्दा जति गरेपनि पुग्दैन, ’ देउवाले भने । 

उनले अलोकतान्त्रिक कदम भएकाले यसको विरोध जति गरेपनि नपुग्‍ने बताए । उनले भने, ‘अदालतमा विचाराधीन भएको मुद्दामा जुलुस निकालेर यो गर, उ गर भन्न मिल्दैन । हामी लोकतन्त्रमा विश्वास गर्नेहरुले अन्यको झै हरकद गर्न हुँदैन । अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’

अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेपनि प्रधानमन्त्री ओलीले चुनाव गराउँछन् भन्‍नेमा आशंका रहेको उनले बताए । 'यदी अदालतको निर्णयपछि पनि ओलीले चुनाव नगराउने रणनीति तय गरे भने सबै मिलेर ओलीको जरै ओखलेर फाल्न सकिन्छ । चुनाव नै गराएको खण्डमा भने पुष्पकमल दाहाल पनि त्यसमा जाने मेरो विश्‍वास छ,' देउवाले भने ।