‘केपी ओली घरमा आगो लगाएर भस्मासुर झैं खरानी बोकेर नाचिरहेका छन्’

काठमाडौंः कोरोना भाइरस महामारीले मुलुक प्रताडित भैरहेका बेला केपी शर्मा ओली बेसार लगायत आयुर्वेदिक औषधी, खानपान र जीवनशैलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च रहेको जस्ता प्रवचनमा व्यस्त थिए ।
महामारी रोक्न कुनै प्रभावकारी कदम नदेखेपछि गगन थापाले संसदमा प्रश्न गरे । ‘हाम्रो प्रधानमन्त्रीलाई कसरी थाहा भयो, नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ भनेर । कसले भन्यो, कुन अनुसन्धानले भन्यो ?’
संसदमा जवाफ दिदैं प्रधानमन्त्री ओलीले भनेका थिए, ‘मैंले भनेको सुन्नुभएन । नेपालीको रोग प्रतिरोधात्मक क्षमता उच्च छ भनेर भन्ने मैं हुँ ।’
कुनै गम्भीरता भन्दा उट्पट्याङ कुरा र आफ्नो ज्ञान र दर्शनबारे जहाँसुकै प्रवचन दिइहाल्ने केपी शर्मा ओलीलाई आज गगन थापाले जवाफ फर्काएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले देशका वडा तहसम्म विरोध कार्यक्रम गरिरहेको छ । काठमाडौं क्षेत्र नं. ४ का सांसद थापाले आज त्यहाँ आयोजितविरोधसभालाई सम्बोधन गर्दै भने ।
प्रतिनिधिसभा विघटन असंवैधानिक हो ।
‘प्रधानमन्त्रीले सोध्लान् कसले भनेको ?’
थापाले भने, ‘म भन्दैछु, मैंले भनेको सुन्नुभएन ।’
सुवास नेम्वाङ, अग्नि खरेलहरूदेखि संंविधान निर्माण गर्ने विधायक, पूर्व प्रधानन्यायाधीशहरूको भनाइ समेत थापाले प्रधानमन्त्री ओलीलाई सम्झाए । थापाले प्रधानमन्त्री ओली चरम गैर जिम्मेवार भएको र जनताको समस्याप्रति उदासीन भएको बताए ।
‘बेरोजगारी, गरिबी बढेको छ । हाम्रा सयौं व्यवसाय बन्द भएका छन् । चलेका उद्योग पनि न्यून क्षमतामा चलेको छ,’ थापाले भने, ‘पाँच जनामा ३ जनाले रोजगारी गुमाएका छन् । दशौं लाख मानिसहरू पुनः गरिबीको रेखामुनि पुगेका छन् ।’
थापाले निर्वाचनमा ३० अर्ब रुपैयाँ खर्च हुने भन्दै राष्ट्रका प्राथमिकता जनताका समस्या सम्बोधन गर्नेतर्फ हुनुपर्नेमा संविधान मिचेर पाँच वर्षमा हुनुपर्ने प्रतिनिधिसभाको निर्वाचन दुई वर्ष अघि नै घोषणा गरेको बताए ।
उनले प्रधानमन्त्रीलाई सोधे, ‘महामारीका नियन्त्रणका लागि नेपालजस्ता देशले भ्याक्सिनको तयारी गरिसके, हाम्रो तयारी खोइ ?’
थापाले प्रधानमन्त्री ओलीलाई संसदले प्रधानमन्त्री चुनेको उल्लेख गर्दै उनले संसद भङ्ग गर्नुलाई उनले आफ्नै घर जलाएको भनेर टिप्पणी गरे । प्रधानमन्त्री केपी ओली भस्मासुर जस्तो खरानी बोकेर नाचिरहेको थापाको भनाई थियो । ‘हामीले यसअघिका हाम्रै अनुभवलाई हेरेर हामीले संविधानमै संसद विघटन गर्न नसक्ने व्यवस्था गर्यौं,’ उनले भने, ‘पाँच वर्ष संसदको आयु रहन्छ । संसदले प्रधानमन्त्री चुन्न सकेन भने मात्र संसद विघटन हुन्छ । दलहरूले मात्र होइन, एउटा सांसद् पनि सरकार बनाउन प्रयास गर्न पाउँछ ।’
पाँच वर्ष संसद्को आयु रहने र एकपटक प्रधानमन्त्री निर्वाचित भएपछि दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था नेपालले आफ्नै अनुभवका आधारमा संविधानमै व्यवस्था गरेको उनको भनाई थियो । ‘हामीले त संयुक्त राज्य अमेरिकामा जस्तै यो मितिभित्र निर्वाचन गर्ने भनेर लेख्न लागेका थियौं तर एक दिन पनि तलमाथि सार्न मिल्दैन भनेर मिति नलेखेको हो,’ थापाले विरोधसभालाई सम्बोधन गर्दै भने, ‘ओलीले अहिले संसद् विघटन गरेको भनेको त्यस्तै अनधिकृत काम हो । यदि अदालतले संसद विघटन गर्न पाइन्छ भनेर फैसला गर्यो भने ओलीले भोलिपल्ट अदालत पनि विघटन गर्देलान् किनकी उनलाई संविधानसँग मतलब छैन ।’

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया