सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

संघीयता देशले थेग्‍न सक्दैन भन्‍ने कुरा गलत हो

‘केन्‍द्रले हेर्नुपर्ने काममै हामीलाई समस्या छ, तर हामीमा समस्या छैन, समस्या केन्द्रबाटै भएको छ’ धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य भन्छन् । जीवनपुर, छत्रेदेउराली र नौबिसे गाउँ विकास समितिलाई एकीकृत गरी २०७३ सालमा धुनिवेशी नगरपालिका भएको हो । यो नगरपालिका काठमाडौँ उपत्यकासँग जोडिएको नगरपालिका हो । सरकारले स्थानीय चुनाव गर्ने तयारी गर्दै स्थानीय सरकारका संस्थापक प्रमुख आचार्यसँग स्थानीय सरकारका सफलता-असफलता, समस्या-समाधान र केन्द्र-प्रदेशसँग समन्वयका सवालमा केन्द्रित रहेर इकागज प्रतिनिधि कमल धितालले गरेको कुराकानी :

तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्‍न सकिँदैन भन्‍ने आवाज पनि छँदै छ ? स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्‍नुहुन्छ ?
होइन, संघीयता देशको लागि एकदमै आवश्यक छ र संघीयता थेग्‍न सक्दैन भन्‍ने कुरा गलत हो । स्थानीय तहको कामलाई तपाईंहरूले हेर्न सक्नुहुन्छ । अझै यसमा प्रदेश तथा केन्द्रले स्थानीय तहको कामलाई कुण्ठित पारेका छन् । स्थानीय तहले आफूले चाहेका काम राम्रोसँग गर्न पाउने हो भने संघीयता निकै जरूरी छ । पहिला १८ लाख रुपैयाँ पाउने गाउँपालिकामा आज २५-३० करोड विनियोजन भएको छ । यो ४ वर्षको बीचमा स्थानीय तहमा विकासका काम हेर्नुस् त, प्रतिस्पर्धात्मक तवरमा भएका छन् । स्थानीय तहमा भएका विकासका काम हेरेर कसैले पनि संघीयता चाहिँदैन भन्छ भन्‍ने मलाई लाग्दैन ।

स्थानीय सरकारको नेतृत्वका रुपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा धुनिवेशी नगरपालिकालाई के/कस्तो बनाउनुभयो ? 
आफ्नो कार्यकाल त मैले आफूलाई राम्रो काम गरें भन्छु, तर यसमा यहाँका स्थानीय तथा मिडियाले कसरी मूल्यांकन गर्छ भन्‍ने हो । प्रथमतः यो नयाँ नगरपालिका हो । धुनिवेशी हामी आउनुभन्दा एक महिना अगाडि मात्रै घोषणा भएको नगरपालिका हो । साबिकका तीन गाउँ विकास समिति मिलेर बनेको नगरपालिका हो । यसमा पूर्वाधारको कुरा गर्दा तीन वटा स्वास्थ्य केन्द्रमा एउटा ल्याब समेत थिएन । एम्बुलेन्स तथा सिटामोल समेत समयमा नपाउने यस्तो क्षेत्रमा गाउँ विकास समितिहरू मिलाएर नगरपालिका बन्यो । 

स्थानीय तहमा हामी निर्वाचित भएर आएपछि र चार वर्षको अवधिमा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा धेरै काम भएको छ । हाल एम्बुलेन्स तथा डाक्टरसहितको ल्याब छ । बर्थिङ सेन्टरमा गर्भवती महिला तथा बच्चाका लागि कपडा र सेन्टरमा रहुन्जेल खाने जाउलोको व्यवस्था छ । धुनिवेशीका नागरिक बिरामी भएमा २४ सै घण्टा तीनवटा एम्बुलेन्स निःशुल्क रूपमा सेवाका लागि राखेका छौँ । ६० वर्ष नाघेका वृद्ध-वृद्धाको तथ्यांक संकलन गरेर उहाँहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेका छौँ । ५-६ घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता रहेका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि नजिकको स्थानमा आवासीय विद्यालय सञ्चालन गरेका छौं । त्यहाँ अहिले ४८ जना विद्यार्थी अध्ययनरत छन् । यी बाहेक खेलमैदान, बाटो तथा शिक्षा सुधारका लागि हामीले थुप्रै काम गरेका छौँ ।

आमअपेक्षा र अप्ठेराहरू सम्बोधन भएका छन् त ?
यो त यहाँका नागरिकलाई सोध्नुपर्ने प्रश्न हो । हाम्रो तर्फबाट गर्ने र हुन सक्ने काम त हामीले गरेका छौँ । हामीकहाँ मुख्य समस्या भनेको खानेपानी, शिक्षा, बाटो लगायतका पूर्वाधारका समस्या हुन् । खानेपानीको समस्यालाई धादिङ जिल्लाकै पहिलो नमूना उच्च डिप बोरिङ सञ्चालन गरेर समाधान गरेका छौँ । आज ६० प्रतिशत घरहरूमा एक घर एक धाराको व्यवस्था गरेका छौँ । 

प्रदेश तथा केन्द्रले स्थानीय तहको कामलाई कुण्ठित पारेका छन् ।

कृषिअन्तर्गत आफ्नै नर्सरी बनाएका छौँ । यसरी करिब ४ वर्षको अवधिमा जनअपेक्षालाई सम्बोधन गर्ने काम भएका छन् । पहिला भाडामा चलेका ९ वटा वडा कार्यालयमध्ये ८ वटा वडाका आफ्नै भवन बनाएका छौँ । पहिला पानी चुहिने विद्यालय भवनहरूलाई हाल भूकम्प प्रतिरोधी भवनमा रूपान्तरण गरेका छौँ । शिक्षा सुधारका लागि सरकारले तोकेको तलब स्केलमा शिक्षकहरू राखेर गुणस्तरीय शिक्षा दिने प्रयास भएको छ । पूर्वाधारतर्फ २०८ वटा सडकका गुरुयोजना बनेका छन् । सडक कालोपत्रे गर्ने लगायतका थुप्रै काम भएका छन् । बिजुली बत्ती नपुगेका स्थानमा त्यसको व्यवस्था गर्‍यौं । यसले गर्दा नागरिकका आमअपेक्षा हामीले पूरा गरेका छौँ भन्‍नेमा हामीलाई विश्वास छ ।

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ? के तपाईंले ती वाचा पूरा गर्नुभयो ?
चुनावी घोषणापत्रमा मेरो पहिलो प्राथमिकता खानेपानीमा थियो किनभने म निर्वाचित हुँदा सबैभन्दा बढी दुःख खानेपानीको थियो । अहिले पालिकाको करिब ६० प्रतिशत घरमा एक घर एक धाराको व्यवस्था भएको छ । खानेपानीका लागि हामीले एक लाख लिटरका ट्याङ्कीसहित १४ वटा डिप बोरिङ खनेका छौँ । दोस्रो, बिजुली बत्ती नपुगेका स्थानमा बत्ती पुर्‍याएका छौँ जसकारण अन्धकारमा रहेका नागरिकलाई उज्यालोमा बस्न पाएका छन् । तेस्रो, विद्यालय सुधारका कार्यक्रमहरू गर्छौं भनेका थियौँ जसलाई हामीले पूरा गरेका छौँ । विद्यालय भवन निर्माणसँगै खानेपानीको व्यवस्था गरेका छौँ । शिक्षक व्यवस्थापनमा नगरपालिकाले करिब ८५ लाख खर्च गरेर योग्य शिक्षकको व्यवस्था गरेको छ ।

त्यस्तै, मनोरञ्जनका लागि हामीले पार्क बनाएका छौँ । १२ सय जनाको क्षमता रहेको प्यारापिटसहितको खेल मैदान बनाउँदै छौं, जसको काम अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य सुधारका कार्यक्रमअन्तर्गत तीनवटा निशुल्क एम्बुलेन्स तथा डाक्टरको व्यवस्था गरेका छौँ । १५ शय्याको अस्पताल निर्माणको कार्य सम्पन्‍न हुँदैछ । नौवटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ । कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाएका छौं । सडक दुर्घटना न्युनीकरणका उपाय अवलम्बनसँगै सडक बत्ती, नगरबस चलाउने लगायतका चुनावी घोषणापत्र बाहिरका धेरै काम गरेका छौं । काम गर्न थालेपछि थाहा भयो घोषणापत्रमा हामीले धेरै कुरा राख्न छुटाएका रहेछौं । घोषणापत्र पल्टाएर हेर्नुपर्ने आवश्यकता छैन, घोषणापत्र भन्दा धेरै काम भएका छन् ।

तपाईंले आफ्नो कार्यकालमा गर्न चाहेर पनि नसकेका कार्य के के हुन ?
वृद्ध-वृद्धाका लागि नर्सिङ सेवासहितको विश्रामस्थल बनाउने भनेपनि हामीले गर्न सकेनौं । यसका लागि भवन त बन्दै छ, तर यसको पूर्ण व्यवस्थापन गर्न अझै केही समय लाग्‍नेछ । त्यस्तै धुनिवेशी नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने योजना थियो, त्यो पनि पूरा हुन सकेन । काठमाडौँ नजिक अन्तर्राष्ट्रिय खेल मैदान हुँदा काठमाडौँमा एक खेल र अर्को खेल धुनिवेशीमा गर्ने योजना थियो । यसका लागि जग्गा व्यवस्थापन हुन नसक्दा योजनामै सीमित हुन पुग्यो । यसका लागि डिपिआर तयार भैसकेको थियो तर यो कार्य मैले चाहेर पनि गर्न सकिन ।

तिनमा अवरोध कहाँ-कहाँबाट के कसरी आयो ? अनि संवैधानिक कानुनी र व्यवहारगत जटिलता के-कस्ता आइपरे ?
जटिलताको कुरा गर्दा संघीय कानुन नबन्दा प्रदेशले बनाउन पाएन । प्रदेशले नबनाई स्थानीय तहले बनाउन सक्ने विषय नै भएन । हामी निर्वाचित भएको ६ महिनापछि संघीय चुनाव भएको थियो । एक वर्ष त उहाँहरूकै सरकार बन्‍न लाग्यो । केन्द्र र प्रदेशको कानुन नबन्दा हामीले आफ्नो कानुन बनाउन पाएनौं । अझै पनि कतिपय ऐन बनेका छैनन् । जसले गर्दा स्थानीय तहहरूले राम्रोसँग काम गर्न पाएका छैनन् । यसले गर्दा काममा ढिलासुस्ती भएकोमा कोभिडले झन् समस्या खडा गर्‍यो । समयमै कर्मचारी व्यवस्थापन नहुँदा पनि काममा समस्या आए ।

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के-के रहे ?
आर्थिकतर्फ त हाम्रो समस्या रहेन, हामीले आफ्नो कानुन बनायौँ । त्यसमा बजेट विनियोजन गर्‍यौँ । संघबाट गराउनुपर्ने लेखा परीक्षण कोभिडले गर्दा दुई वर्षसम्म भएन । केन्द्रले हेर्नुपर्ने काममै हामीलाई समस्या छ, तर हामीमा समस्या छैन, समस्या केन्द्रबाटै भएको छ । कर्मचारीहरू कहिले को आउने र कसको सरुवा हुने हामीलाई थाहा नै हुँदैन । स्थानीयस्तरमा चिनाएर काम गर्नुपर्ने हुन्छ, तर कुन बेला, कसको कहाँ सरुवा भइदिन्छ पत्तो हुँदैन । कुनै राम्रो काम गर्ने कर्मचारी आएको हुन्छ, अब हाम्रो नगरमा राम्रो काम हुन्छ भन्‍ने ठान्यो, तर भोलिपल्टै मेरो त सरुवा भयो भन्‍न आइपुग्छन् । स्थानीयस्तरमा जोडिएका समस्या हामीसँग छ त्यसको समाधान पनि हामीसँग छ । तर यसका लागि केन्द्रले समन्वय नगर्दा हामीलाई समस्या भएको हो । केन्द्रबाट समन्वय नै हुँदैन उहाँहरूले जो पठायो हामीले मान्दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कसरी जनअपेक्षा अनुसार छिटो काम गर्ने ? तर पनि हामीले आफ्नो तर्फबाट सक्दो काम गरेका छौँ । तीन तहमा सबैले आआफ्नो अस्तित्व अनुसार काम गरे संघीयताप्रति सबैले गर्व गर्नेछन् । 

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग असहयोगबारे तपाईंको अनुभव-मूल्यांकन के छ ?
स्थानीय तहले केही जानेको हुँदैन भन्‍ने मानसिकता संघ सरकारले राखेको छ । स्थानीयस्तरका कार्यक्रमभन्दा केन्द्रका कार्यक्रम नै लागू गर्नुपर्छ भन्‍ने धारणा देखियो । संघीयता राम्रोसँग अनुभव हुन नपाउँदै कोभिड तथा अन्य कारणले गर्दा हामीले स्थानीय सरकारबारे केन्द्रलाई बुझाउन पनि सकेनौँ ।

पहिलो संघीय जनप्रतिनिधिको रूपमा नागरिक के/कस्ता समस्या पाउनुभयो ?
नागरिकका खासै ठूला समस्या छैनन् भन्‍ने मलाई लाग्छ । नागरिकका पहिलो अपेक्षा भनेको सुशासन हो । कुनै पनि सेवा लिन जाँदा समयमै सेवा प्राप्त गरौं,  यसमा कसैबाट पनि अवरोध नहोस् भन्‍ने अपेक्षा नागरिकको हुन्छ । त्यसपछि विकास, शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताका समस्या हुन् । आफ्ना बालबालिकाले सुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गरुन् भन्‍ने नागरिकको अपेक्षा हो । नागरिकले नयाँ कुरा खोजेकै छैनन्, जनप्रतिनिधिले गर्छु भनेका कार्य राम्रोसँग गरिदिए हुन्थ्यो भन्‍ने नै उहाँहरूको माग हो ।

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रुपमा के सुझाव छ ?
सबैले सह-अस्तित्व तथा समन्वयका साथ अगाडि बढेमा मात्रै लक्ष्य प्राप्त गर्न सक्छौँ । तीनै तहले राम्रोसँग मिलेर काम गर्दा नै संघीयता सफल बन्छ । खर्च भयो भन्‍नु ठूलो कुरा होइन, खर्च अनुसार काम भएको छ/छैन भन्‍ने नै ठूलो कुरा हो । आउने जनप्रतिनिधिले जनतालाई सास्तीविना सेवा दिन सके मात्रै सबै सफल हुन्छौ भन्‍ने बुझ्नुपर्छ । 

आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ?
अघिल्लो वर्ष केन्द्र सरकारले ‘लिजा’ भन्‍ने स्वमूल्यांकन फारम भराएको थियो, जसमा हामीले १०० मा ७६.५ अंक पाएका थियौं । यो ६-६ महिनामा गर्ने कार्यक्रम हो, र गत पुसमा हामीले ८२.५ अंक पाएका छौँ । यसमा हामीले गरेका विकास, सुशासन कायम लगायतका कार्य हेरेर मूल्यांकन हुन्छ । देशभरिमा २० देखि ३० नम्बर भित्रपर्ने गरी कार्य गरेका छौँ ।