मंगलबार २७ जेठ, २०८२
Tuesday, June 10, 2025

प्रतिनिधि सभा विघटनविरुध्‍द सडकमा ओर्लंदै नागरिक अगुवा

काठमाडौं : अल्पायुमै प्रतिनिधि सभा विघटन गरी मुलुकमा प्रतिगमनको खतरा निम्त्याएको निस्कर्षसहित नागरिक समाजका अगुवाहरु अब संस्थागत रुपमै सडक आन्दोलनमा ओर्लने भएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले सत्ता टिकाउने चलखेलस्वरुप गैरसंवैधानिक पद्धतिबाट प्रतिनिधिसभा विघटन गराएपछि नागरिक अगुवाहरु पनि तात्‍न पुगेका हुन् ।

२०४६ र २०६२/०६३ को आन्दोलनमा अग्रपंक्तिमा रहेका संस्था र नागरिक समाजका अगुवाहरुले मंगलबार नागरिक सभा गर्न लागेका हुन् । प्रज्ञा प्रतिष्ठानको डबलीमा सोमबार दिउँसो दुई बजे नागरिक सभा गरेर उनीहरु सडकमै ओर्लिने भएका हुन् । 

जसमा मानव अधिकारवादी नेता कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तासिंह तामाङ, सिएन थारु र अपांङ्गता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठ वक्ता छन् ।

नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले आइतबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति-प्रधानमन्त्रीको गलत क्रियाकलाप सच्याउँदै प्रतिनिधि सभा पुनः सुचारु हुने व्यवस्था आह्वान गरिसकेका छन् । उनीहरुले प्रतिनिधि सभा विघटन गैरराजनीतिक, गैरसंवैधानिक, जनआकांक्षाविरोधी र मुलुकको हित विपरित भएको धारणा सार्वजनिक गरिसकेका छन् ।