शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

एन्फाका पूर्वमहासचिव शाहीको निधन

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको ६५ वर्षका उमेरमा आइतबार राति निधन भएको हो । 

लामो समयदेखि विभिन्‍न रोगबाट पीडित शाहीको दैलेखको चौडत्तास्थित घरमा निधन भएको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शाही सन् १९७९ देखि १९८९ सम्म राष्ट्रिय टोलीका गोल रक्षक रहेका थिए ।

 सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । शाहीले चार पटक साफ खेल खेलेका थिए । सन् १९८२ मा नवौं एशियाली खेलकूद खेल्दा पनि उनी गोल रक्षक रहेका थिए । शाहीले सन् १९८९ मा राष्ट्रिय टोलीबाट सन्यास लिएका थिए । 

उनी २०५२ सालमा गणेश थापा एन्फाका अध्यक्ष हुँदा महासचिवमा निर्वाचित थिए । पछिल्लो पटक उहाँ नेपाल बक्सिङ संघको समेत महासचिव रहेका थिए । विसं २०७० मा नेपाल आइस हकी संघ स्थापना हुँदा शाही संघका संस्थापक अध्यक्षमा चयन भएका थिए । रासस