आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

गृह प्रशासनलाई सुधार गर्दै लैजाने गृहमन्त्रीको प्रतिबद्धता

फाइल फाेटाे

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । 

सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को सम्बन्धमा भएको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले मुलुकमा शान्ति स्थापनाका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका हुन् । 

द्रुत विकासको चाहनालाई पूरा गर्न मुलुकमा शान्ति आवश्यक रहेको भन्दै उनले गृह प्रशासन र सुरक्षामा प्रदान गरिने बजेटले मुलुकलाई शान्त र सम्मुन्नत बनाउन मद्दत गर्ने बताए । 

संविधानले दिएको मौलिक अधिकारहरुलाई स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको आवश्यकता रहेको उनले उल्लेख गरे । 

 गृहमन्त्री खाँणले भने – ‘गृह प्रशासन र सुरक्षामा लगाइएको प्रदान गरिने बजेटले राष्ट्रलाई शान्त र सम्मुन्नत गराउन मद्दत गर्छ । सरसर्ती हेर्दाखेरी यसलाई बिकास बजेटको रुपमा नहेरियतापनि मुलुकको द्रुत विकासको चाहानालाई पुरा गर्नका लागि पनि मुलुकमा शान्ति आवश्यक छ । र शान्ति स्थापना गर्नका लागि गृह प्रशासनलाई सुदृढ र सुधार गर्दै लानुपर्ने पनि हाम्रो औचित्य र आवश्यकता छ । यो संविधान बनिसकेपछि संविधानमा मौलिक अधिकारहरु जनताको चाहाना अनुसार, आवश्यकता अनुसार नै व्यवस्थापन गरिएको छ । ति जनताका मौलिक अधिकारहरु स्थापित गर्नका लागि पनि मुलुकमा शान्ति, सुरक्षाको त्यति नै ठुलो आवश्यकता छ । त्यसकारण यो गृह प्रशासन सुधार कार्ययोजना, २०७८ को निर्माण गरिएको छ ।’

गृहमन्त्री खाँणले अध्यागमन प्रयोग गर्नेको संख्या दिनप्रतिदिन बढिरहेकाले नेपाल आउने र नेपालबाट बाहिर जानेहरुको तथ्यांक र यथार्थ विवरण अध्यागमन प्रशासन र सुरक्षा निकायसँग हुनुपर्ने बताए । 

अध्यागमनका गेटहरुलाई आधुनिकिकरण गर्नुपर्ने पनि उनले बताए । पछिल्लो समय भिजिट भिसामा विदेशिने र त्यहाँ गएर रोजगारीको शिलशिलामा नेपालीहरु भौतारिएका विभिन्न घटनाहरु आइरहेको भन्दै यस सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले संयुक्त रुपमा गम्भिरतापूर्वक कदम चालिरहेको पनि उनले उल्लेख गरे । 

गृहमन्त्री खाणले बदलिँदो परिवेश अनुसार गृह प्रशासनको उत्तरदायित्व र कार्यशैलीमा गतिशिलता ल्याउनुपर्नेमा जोड दिए । कार्यशैलीलाई पनि तीव्र गतिमा आधुनिकीकरण गर्नुपर्ने उनले बताए ।