मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

बलात्कार अभियाेग लागेकालाई अदालतले सफाइ दिएपछि कुमारी आमाद्वारा प्रदर्शन

जनकपुरधाम- जिल्ला अदालत धनुषा अगाडि कुमारी आमाले बलात्कार अभियोग लागेका युवकलाई सफाइ दिएको विरोधमा विराेध प्रदर्शन गरेकी छन्। महोत्तरीको जलेश्वर नगरपालिकाकी निहारिका सिंहलाई प्रेममा फसाएर बलात्कार गरी गर्भवती बनाउनेलाई सफाई दिएकाे भन्दै महिला अधिकारकर्मीकाे सहयाेगमा कुमारी आमाले प्रदर्शन गरेकी हुन्।

सिंहले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका शिवराज श्रेष्ठविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। साे उजुरीकाे सुनुवाई गर्दै सोमबार न्यायाधीश परशुराम भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो। श्रेष्ठलाई सफाइ दिएको विरोधमा निहारिकाले ‘अब पनि न्याय दिने कि नदिने ?, अपराधीलाई कारबाही गर, सफाइ दिनेमाथि कारबाही गर, मेरो बच्चालाई न्याय चाहियो’ जस्ता नारा लगाएकी थिइन् ।

करिव तीन वर्षअघि काठमाडाै पढिरहेकाे बेला श्रेष्ठ र सिंहबीच प्रेम भएकाे थियाे। दुवै रिलेसनशीपमा रहेकाे कारण सिंह गर्भवती भएपछि श्रेष्ठले बिहे गर्नबाट अस्वीकार गरेपछि सिंहले अदालतमा उजुरी दिएकी थिइन्। हाल उनको दुई वर्षको छोरा छन्।

सिंहले मंगलबार काखे बालक लिएरै जिल्ला अदालतबाहिर प्रदर्शन गरेकी थिइन्। उनलाई केही अधिकारकर्मीले साथ दिएका थिए। सिंहले आफूलाई प्रेम जालमा पारी शारीरिक सम्बन्ध राखेर गर्भवती बनाएर गर्भ फाल्न दबाव दिंदा आफू नमानेपछि आफूसँग बिहे गर्नबाट अस्वीकार गरि फरार भएकाे बताईन् ।

झण्डै सात महिनाअघि प्रहरीमार्फत अदालतमा हाजिर भएका श्रेष्ठलाई सुरुमा अदालतले थुनामा पठाए पनि पछिल्लाे पटक सफाइ दिएको हाे । सिंह हाल काठमाडाैमा काखे बालकलाई उपचार गराइरहेकी थिइन् । साेमवार अदालतकाे फैसला सुनेपछि निहारिका छोरा लिएर जनकपुरधाम आएर महिलाअधिकारकर्मीहरूकाे सहयाेगमा अदालत विरूद्ध प्रदर्शन गरेकी हुन् । श्रेष्ठ छुटेपछि आफूले झन् कलंकित महसुस गरेको उनले बताएकी छिन्।