प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्यौँ
प्रदेश सरकारका कारण जनप्रतिनिधि सबै यस्तै हुन् कि भन्ने परेको छ

नेपालको शासकीय संरचना ६ वर्षदेखि संघात्मक भएपछि स्थानीय तह स्थानीय सरकारमा परिणत भयो । सरकार भन्नुको अर्थ हो, अधिकारसहितको कार्यकारी संस्था । आफैँले निर्वाचित गरेका प्रतिनिधिबाट आफ्नै घर–आँगनमा सुलभ तरिकाले सेवा–सुविधा पाउनु मात्र संघीयताको मर्म होइन, यो पाउनु र दिनुभन्दा माथिको स्वशासित अवस्थाको महसुस हो । राज्यलाई घर मान्ने हो भने स्थानीय सरकार त्यो घरको जग हो । जग बलियो भए मात्र घर बलियो हुन्छ । तर, जग बिर्सेर माथिमाथि तला–छानाको चिन्ता गरिबस्नु घरको खास चिन्ता होइन । संघीयताको बहस र अभ्यासमा स्थानीय सरकारका संस्थापकहरूको आनुभविक आवाज घरले राम्ररी नसुनेको बोध गर्दै इकागजले संवाद शृंखला सुरु गरेको छ । पहिलो पटक संघीयता कार्यान्वयनन गर्ने अवसर र चुनौतीको दोसाँधमा स्थानीय प्रतिनिधिहरूले कसरी काम गरे ? यसै सन्दर्भमा कैलालीको लम्कीचुहा नगरपालिका प्रमुख महादेश बजगाईंसँग इकागजका विनोद देवकाेटाले गरेको संवाद:
तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि सुनिन्छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा के भन्नुहुन्छ ?
परम्परागत ढंगले हिँडिरहेका मानिसहरूमा संघीयता थेग्न सकिँदैन कि भन्ने बुझाइ छ । नयाँ बाटो हिँड्दा उनीहरूलाई यस्तो लागेको हो । जनप्रतिनिधि र कर्मचारी पनि धेरै भए कि भन्ने बुझाइ पनि छ । दिनप्रतिदिन मुलुकमा विकासका चरणहरूमा नयाँ नयाँ कामहरू हुँदैछन् । त्यहीअनुसारको जनशक्ति चाहिन्छ नै । पहिला गाविस/नगरपालिका हुँदा एउटा गाविसमा ४७ जना (९ वडामा प्रति वडामा पाँच जना र दुई जना प्रमुख र उपप्रमुख) जनप्रतिनिधि हुन्थे ।
अहिले धेरैवटा गाविसहरू मिलेर पालिका बनेका छन् । ती पालिकाहरूमा जनप्रतिनिधि आइसकेपछि नयाँ ढंगको अनुभव जनतालाई पनि भएको छ । डेलिभरी दिने कुरामा सहज भएको छ । पहिले समान्य बाटोको लागि काठमाडौँ पुग्नुपर्ने संयन्त्र तयार गरेका थियौँ । अहिले त्यो कुराहरू छैन । गाउँ घरमा नै सिंहदरबारका केही अधिकारहरू प्राप्त भएका छन् । धेरै सहज भएको छ ।
केही विकृति र विसंगति चाहिँ छन् भन्ने मान्नुहुन्छ ?
सुरुवातको समयमा जनशसक्ति अभाव थियो । कर्मचारी थिएनन् । प्रमुख प्रशासकीय संघीय सरकारले तोक्ने कानुनी व्यवस्था छ । आर्थिक अधिकार प्रमुख प्रशासकीयलाई नै छ । नीतिगत निर्णय गर्ने ठाउँमा जनप्रतिनिधको भूमिका हुन्छ । जनतालाई प्रसाशनिक सेवा कार्य कर्मचारीको हातमा हुन्छ । दुई वर्ष हामीले कर्मचारीको अभावै खेप्यौँ । करिब दुई वर्षपछि विज्ञापनबाट नयाँ कर्मचारी आउनुभयो । नयाँ आइसकेपछि उहाँहरूलाई पनि तालिमको अभाव भयो । काम गर्ने शैली नयाँ भएका कारण पनि केही समस्या भयो । लोकसेवा पास गरेर आउनुभयो । तर, अनुभवको अभाव थियो । त्यसपछि कोभिडले हामीलाई धेरै हिर्कायो । अहिलेसम्म पनि कोभिडकै प्रभावमा देश चलेको छ । अहिले धेरे कामहरू भएका छन् । मानिसको गुनासो त स्वाभाविकै हो । हिजो ग्राभिल नभएको हाम्रो समाजमा अहिले कालोपत्रे हुँदा पनि सन्तुष्टि छैन । यसलाई मैले कसरी लिएको छु भन्दा विकासको चरम सुखमा मानिस रमाउन चाहिरहेको छ । त्यो चाहिँ दिन सकिरहेका छैनौँ । त्यसैको प्रतिबिम्बकोरूपमा यी कुरा उठ्ने गरेका छन् ।
स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा पालिकाको खास पहिचान र सामर्थ्य के बनाउनुभयो ?
हामीले आफ्ना केही विकासका सूचकांकलाई ध्यान दिँदै अगाडि बढायौँ । तीनवटा गाविस मिलेर नगरपालिका घोषण भएको थियो । नगरपालिकाका न्यूनतम आधारहरू थिएनन् । बाटाहरू एकदमै साँघुरा र अव्यवस्थित थिए । आठ/नौ फिटे बाटामा घरहरू निर्माण भएका थिए । त्यसलाई कम्तीमा पनि ३० फिट बनाउने लक्ष्य लियौँ र पहिलो वर्षमा १६५ किलोमिटर बाटो स्तरोन्नतरी गर्यौँ । त्यसपछि थुपै अन्य बाटाहरू हामीले बनायौँ । अहिले स्तरोन्नतीको हिसाब गर्ने हो भने करिब ३५० किलोमिटर जति हामीले नगरपालिकामा बाटा फराकिला गरेका छौँ। ९६ प्रतिशत जति ३० फिटे बाटा हाम्रो नगरपालिकामा छ । अझै पनि ४ प्रतिशत कही कतै पूराना बाटा बचेका छन् ।
कोभिड नएको भए करिब ९५ प्रतिशत नागरिकलाई शुद्ध खानेपानी खुवाउने हाम्रो लक्ष्य थियो । त्यो पूरा गर्थ्यौँ । योजनाहरू सुरु भएका छन् । कार्यान्वयनमा मानिसले खाइसकेको अवस्था चाहिँ होइन । अब चुनावी अवधिमा अथवा कार्यकालको अन्तमा करिब ९५ प्रतिशत नागरिकले शुद्ध पानी खान सक्छन् भन्ने अनुमान छ । योजनाहरू सबै ठेक्कामा लागेका छन् । काम भइरहेका छन् । कही उपभोक्ता समितिले काम गरिरहेका छन् । कामहरू अगाडि बढेको छ ।
स्वास्थ्य क्षेत्रमा हामी आउँदा तीनवटा स्वास्थ्य चौकीहरू थिए । अहिले १२ वटा छन् । एक १५ शय्याको अस्पताल नगरपालिकाले सन्चालन गरेको छ । दीर्घकालीनरूपमा ५० शय्याको अस्पतालको ठेक्का भएर काम अन्तिम चरणमा पुगेको छ । तटबन्धनको प्रमुख समस्या थियो । त्यो काम पनि युद्धस्तरमा गरेका छौँ । धेरै काम अगाडि बढाएका छौँ । पुलहरूको कुरा छ । झोलुङगे पुलका कुरा छन् । विद्यालयका भवनहरू, निजी क्षेत्रका शिक्षकको कुरालगायत थुप्रै काम भएका छन् । वादी बस्तीमा करिब ११ करोडको बजेटमा विनियोजन गरेर निर्माण गर्दैछौँ । बसपार्क निर्माण भएको छ । ६५ किलोमिटर बाटो यसै वर्ष सम्पन्न हुन्छ । विकासका केही आधारहरू र सूचकांकहरू सम्पन्न गरेका छौँ । लक्षित वर्गअन्तर्गत केही महत्वपूर्ण काम गरेका छौँ ।
आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गर्नुभयो ?
नीतिगत निर्णय गरेर कार्यान्वयनन गर्ने पहिलो वर्ष कर्मचारीको अभावले धेरै काम गर्न असज भयो । तथापि जे कामहरू जनताका बीचमा प्रतिबद्धता गरेका थियौँ । तिनलाई अगाडि बढायौँ । हामीलाई सबैभन्दा सजिलो जनप्रतिनिधिहरू जुनसुकै पार्टीबाट निर्वाचित भए पनि एकमतका साथ अगाडि बढ्यौँ । त्यसले हामीलाई थप हौसला प्रदान गर्यो । हामी उत्साहका साथ जनताको साथ र सर्मथनमा काम गर्ने जमर्को गर्यौँ । हामी सफलताको अन्तिम चरणमा पुगेका छौँ । केही योजनाहरू सम्पन्न भइसकेका छन् । केही योजनाहरू अन्तिम चरणमा छन् ।
चुनावी घोषणा पत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए, ती कति पूरा भए ?
माथि नै भनेका कुरा हुन् । मेरो घोषणा पत्रमा पहिलो कुरा त अव्यवस्थित बसोबासी, मुक्तकमैया, सुकुम्वासी र बादी बस्तीको समस्या समाधान गर्न पहल गर्नेछु भनेको थिएँ । त्यसमा अव्यवस्थित बसोबासी, सुकुम्वासीहरूको लगत संकलन गरिसकेका छौँ । हिस्सा वितरण गरिसकेका छौँ । ५८० जनाको पूर्जा बाँड्न अन्तिम चरणमा छौँ । जिल्ला आयोग गठन हुनासाथ बाँडिन्छ । संघीय सरकार फेरबदल हुँदा धेरै क्षति भयो । त्यो सरकार रहेको भए हालसम्म उहाँहरूलाई पूर्जा दिइसक्थ्यौँ । नयाँ सरकारले त्यो आयोग विघटन गरिदियो । पुनः काम अघि बढेको छ ।
जनप्रतिनिधिको चाहना जनताको सेवा गर्ने हुन्छ भने कानुन चाहिँ जनतालाई कसरी बाधा बनाउने भन्ने खालको हुन्छ । यो बिचमा यत्रो अन्तर्संघर्ष छ । यो अन्तर्संघर्षलाई चिर्दै हामी अगाडि बढेका छौँ ।
स्वास्थ्यका मुद्दा उठाएका थियौँ । काम माथि भनिसकेँ । १५ शय्याको अस्पताल नगरपालिकाकै पूँजीमा सन्चालन गरेका छौँ । अव्यवस्थित बसपाक निर्माण गर्ने भनेका थियौँ । सम्पन्न भइसक्यो । खानेपानीको कुरा उठाएका थियौँ । लम्कीमा दुई/चार वडामा मात्रै खानेपानीको व्यवस्था थियो । अरुमा थिएन । ती योजनाहरू कार्यान्वयनमा आइसकेका छन् । विकासका जे मुद्दा उठाएका छौँ । हामीले पार्कको मुद्दा उठाएका थियौँ । पार्क निर्माण भइरहेको छ । जे मुद्दा उठायौँ त्यही काम गरेका छौँ ।
पहिलो कुरा बाटोघाटोको कुरा, दोस्रो कुरा स्वास्थ्यमा काम गरेका छौँ । बसपार्कलगायत बादीबस्ती, पार्कको काम गरेका छौँ । छाउपडी प्रथाको कुराहरू ९६० वटा गोठ थिए । ती हटायौँ । वडा कार्यालयका भवनहरू बनाएर सरिसकेका छौँ । पाँच वटामात्रै होइन २१ वटा त गौरवका आयोजना नै सुरु गरेका छौँ । निर्वाचनमा गरेका प्रतिबद्धताहरू प्रत्येक दिन स्मरण गरेर हामी अगाडि बढेका छौँ ।
गर्न चाहेर पनि नसकिएका काम केके हुन् ?
बेरोजगारहरूलाई स्वरोजगार बनाउने कुरा थियो । बेरोजगार दाजुभाइहरूलाई रोजगारी बढाउने कुरा धेरै कामहरू गर्न सकिएन । कोभिड नभएको भए त्यसमा पनि हामी लाग्थ्यौँ । युवाहरूलाई तालिमहरू दिएर, बैंकसँग ऋणको व्यवस्थापन गरेर स्वरोजगार बनाउने कुरामा युद्धस्तरमा लगानीसहित गर्ने जमर्को थियो । त्यति काम हुन सकेन । त्यसमा मलाई थोरै गर्न नसकएिको पीडा महसुस भएको छ ।
केही सामाजिक उत्तरदायित्वका काम थिए । लागूऔषधका कुरालाई उठायौँ । यस्ता धेरै कुराहरू हामीले मात्रै गरेन नहुँदो रहेछ । यसमा प्रदेश सरकार र संघीय सरकारले सामाजिक दायित्वअन्तर्गत सबै पालिकालाई जसरी निर्णय गर्नुपर्ने हो त्यो नगरेको पाइयो । त्यसले दुर्भाग्य भन्नुपर्छ । अरु कुरा त हामीले बोलेका कुरा कार्यान्वयनन गर्दै अगाडि आएका छौँ ।
काम गर्ने क्रममा अवरोध कहाँ-कहाँबाट के र कसरी आयो ?
बाधाहरूको व्याख्या गरेर साध्य नै छैन । अस्पताल खोल्न सुरु गरियो । सबै दाजुभाइको समर्थन रह्यो । केही एक/दुई जना सामाजिक फटाहाहरूले अहिलेसम्म पनि त्यसलाई रोक्न प्रयास गरिरहेका छन् । बाटो चौडा बनाउन खोज्यौँ । जनता खुसी भए । राम्रो काम हो भने । नगरलाई सहयोग गर्नुपर्छ भने । तर केही एक/दुई जना मान्छेहरूले विरोध गरे । केही मान्छे अवरोध कसरी पुर्याउने भनेर आएका हुन्छन् । त्यसलाई चिर्दै जनताको साथ र समर्थनमा यी काम अगाडि बढायौँ ।
अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता व्यहोर्नुपर्यो ?
हामीसँग कानुनी सल्लाहकारहरू छैनन् । अनुभवी कर्मचारीहरूको हामीलाई अभाव भयो । जुवाडबाजीबाट पनि हामी हिँड्यौँ । नीतिगत कठिनाइ धेरै छन् । नेपालमा खरिद ऐनलगायत कार्यान्वयनमा ल्याउँदा कर्मचारीहरूलाई पनि अफ्ठ्यारो, हामीलाई पनि अफ्ठ्यारो छ । जनअपेक्षा एक किसिमको हुन्छ भने कानुनी अड्चनहरू बाधक बनिदिन्छ । ती ऐनहरू जनताको लागि होइन कि जनतालाई रोक्नको लागि बनाइएको हामीले पाउँछौँ । एउटा जनप्रतिनिधिको चाहना जनताको सेवा गर्ने हुन्छ भने कानुन चाहिँ जनतालाई कसरी बाधा बनाउने भन्ने खालको हुन्छ । यो बिचमा यत्रो अन्तर्संघर्ष छ । यो अन्तर्संघर्षलाई चिर्दै हामी अगाडि बढेका छौँ ।
तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के के रहे ?
समस्याहरू त त्यस्तो चाहिँ आएन । अब केही अलिअलि मैले सुरुमा पनि भने कर्मचारी अभाव भयो । अपेक्षालाई पूरा गर्ने कुरामा अभाव नै भइरह्यो । अहिले प्रसस्तै कर्मचारी साथीभाइ हुनुहुन्छ । प्रमुख प्रशासकीय हुनुहन्न । निमित्तबाट नै हामीले काम चलाइरहेका छौँ।
प्रदेश र संघीय सरकारबाट पाएको सहयोग–असहयोगबारे तपाईंको अनुभव–मूल्यांकन के छ ?
संघीय सरकार हाम्रो अभिभावक हो । उसले अधिकार प्रत्यायोजन गर्दाखेरी कन्जुस्याइ गर्यो । केही अधिकार अहिलेसम्म प्रत्यायोजन गरेका छैन । स्वास्थ्यमा अधिकार प्रत्यायोज गरेको छैन । वन नीतिमा गरेका छैन । सुरक्षा नीतिमा गरेको छैन । अहिलेसम्म कानुन नबनाइ दिएका कारण साझा अधिकार कार्यान्वयनमा धेरै कठिनाइ भएको छ । संविधान बमोजिम स्थानीय सरकारलाई दिनुपर्ने अधिकार आएको छैन ।
प्रदेशको सन्दर्भमा त कुरै नगरौँ । प्रदेश सरकार हो/होइन भन्नेजस्तो छ । प्रदेश सरकार केही मानिसहरूको कमाइ खाने संस्था बनेको छ । त्यसले गर्दा पनि हामीलाई जनप्रतिनिधि सबै यस्तै हुन् कि भन्ने परेको छ । स्थानीय तहका जनप्रतिनिधि प्रत्यक्ष जनतासँग ठोकिएका छौँ । प्रत्यक दिन जनतासँग सरोकारका विषयमा छलफल हुन्छ । जवाफदेही हुनुपर्छ । प्रदेश सरकार जवाफदेही हुन सकेन । त्यही भएर पनि होला आलोचना पनि भएको छ । प्रदेश सरकारसँग् हामी सन्तुष्ट छैनौँ ।
अक्सर नागरिक हुँदा/सत्ताबाहिर हुँदा र शासक भइसकेपछि नजरिया अर्कै खाले बनिदिन्छ, सीमित स्रोत–साधनको अवस्था पनि बुझिन्छ होला, कत्तिको फरक पाउनुभयो, आफ्ना नागरिकमै के–कस्ता समस्या पाउनुभयो ?
स्वाभाविकै हो । हिजो हामी नागरिक हुँदा जनताको अपेक्षा कमजस्तो लाग्थ्यो । आज दिने ठाउँमा छौँ । धेरै मानिसहरू सकारात्मक कोणबाट आइरहनु भएको हुन्छ । केही मानिसहरू आफ्नो व्यक्तिगत स्वार्थको लागि काम लिन खोज्ने हुन्छन् । यदि त्यो हुन सकेन/भएन भने विरोधको स्वरहरू मच्चाउने स्वार्थी समूह, जमात अहिले पनि छ । त्यो समूहबाट जोगिन पनि हामीलाई कठिन हुन्छ । हिजो नागरिक हुँदाका कुरा, नागरिकको तर्फबाट बोल्ने कुरा र अहिले कार्यान्वयन गर्ने निकायमा स्वाभाविक ढंगले कठिनाइ छ । तर, पनि हामी नीतिगत विधि बनाएर हिँडिसकेपछि त्यसलाई त्यहीअनुसार व्यवहार गरेर अगाडि बढेका छौँ ।
अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रूपमा के सुझाव छ ?
एक चरणको विकासको काम हामीले सकेका छौँ । अब भनेको नयाँ, योजना र दृष्टिकोणका साथ आउनुपर्छ । अब सामाजिक प्रगती, लक्षित वर्गका व्यक्तिप्रतिको दृष्टिकोण र प्रगतीको नयाँ सोच र विचारका साथ आउनुपर्छ । पहिले हामी जे विकास भन्थ्यौँ । अब त्यो विकास दिने अवस्थामा छैनौँ । अहिले प्रविधिको जमाना हो । नयाँ प्रविधि र चिजका साथ आउनुपर्छ । अब भनेको जनताको नयाँ-नयाँ मुद्दा छन् । पूराना केही परम्परागत मुद्दा सकिएका छन् । नयाँ नयाँ चुनौती आएका छन् । ती चुनौतीहरूलाई सामना गर्नेगरी अघि बढ्नुपर्छ ।
आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ?
म धेरै महत्वाकांक्षी भएर भन्दिनँ । धेरै ठूलो काम गरेँ, स्वर्गै बनाएँ पनि भन्दिनँ । किनभन्दा कोभिड, हाम्रो नयाँ अनुभव, कर्मचारीको अभाव र विभिन्न निकायहरूबीच समन्वयको अभाव खेप्नुपर्यो । संघीय सरकारको नीति पनि हामीलाई बाधक बनेको छ । धेरै कुराहरू भन्न सक्दैनौँ । तथापि जनतालाई सन्तुष्टि बनाउने कुरामा प्रमुख भूमिका भएको छ भन्ने लाग्छ । मैले आफूलाई पास अंक चाहिँ दिन्छु । यतिनै अंक भनेर आफूले आफैलाई घोषणा गर्नुभन्दा पनि जनतालाई छोड्न चाहन्छु । जनताले मलाई कति नम्बर दिने जनताको सन्तुष्टिमा भरपर्छ ।
फेरि नगरप्रमुखमा दोहोरिने चाहना छ/छैन ?
मेरो व्यक्तिगत ढंगले यसमा काम गर्दैनँ । म जुन जुन पार्टीमा आबद्ध छु त्यसको आवश्यकता, पार्टीले पठाउने प्रतिनिधि र पठाइसकेपछि जनताले चुन्ने कुरामा भर पर्छ । स्वाभाविक ढंगले एउटा राजनीतिक कार्यकर्ता हुँ । राजनीति गर्ने मान्छे गर्ने भएको नाताले सरकारी अड्डामा, स्रोतसहित भएको अड्डामा बसेर जनताका मुद्दा सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने अपेक्षा स्वाभाविकै हो ।
पार्टीले आवश्यक ठान्यो भने दोहोरिनुहुन्छ ?
त्यो त पार्टी र जनतामा भर पर्छ । उहाँहरूले गर्ने निर्णय हो । मैले गर्ने होइन । मैले माथि पनि भने राजनीतिक गर्ने मानिस जनताको कुनै न कुनै ठाउँमा गएर काम गर्न पाए हुन्थ्यो भन्ने महसुस हुनु स्वाभाविकै हो ।
संवाद शृंखला- ७ - तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो
संवाद शृंखला- ६ - संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
संवाद शृंखला- ५ - गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ
संवाद शृंखला- ४ - भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्
संवाद शृंखला- ३ - म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु
संवाद शृंखला- २ - संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा गलत हो
संवाद शृंखला- १ - संघ र प्रदेशले सहयोग नै गरेनन्

सिंह मात्रै यता, अधिकारको दरबार चाहिँ केन्द्रमा

संघीय सरकारले राजनीतिक पूर्वाग्रह राख्यो

स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ

मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?

म आफूलाई १० मा १० अङ्क दिन्छु

कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्

पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ

प्रतिक्रिया