स्थानीय निर्वाचन हुन ‘९३औँ दिन’ : चुनावी मुडमा दलहरू
काठमाडौँ- सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनसम्बन्धी गतिविधिमा क्रियाशील भएका छन् ।
उम्मेदवारको सिफारिस माग्नेदेखि स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षणसँगै निर्वाचनमा गठबन्धन गरेर अघि बढ्नेसम्मका निर्णय दलहरूले गर्न थालेका छन् । केही दलहरू भने केन्द्रीय समिति बैठक राखेर नेताहरूलाई निर्वाचन केन्द्रित जिम्मेवारीमा खटाउने तयारीमा छन् ।
यसरी दलहरूको तीव्र तयारीले देश ‘निर्वाचनमय’ हुँदै गएको छ । मतदाताले आफ्ना प्रतिनिधिलाई मतदान गरेर निर्वाचित गर्दै स्थानीय सरकारमा पठाउन भने ९३ दिन बाँकी छ । यहीबीचमा प्रमुख विपक्षी दल एमालेले सातै प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण र अभिमुखीकरण गर्दैछ ।
आगामी फागनुको १ र २ गते प्रदेश १ को विराटनगरमा, ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, ६ र ७ गते बागमती प्रदेशको काठमाडौँमा, ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा र ११ र १२ गते लुम्बिनी प्रदेशको बुटवल र दाङमा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने तय भएको छ ।
१४ र १५ गते कर्णाली प्रदेशको सुर्खेत र १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्ने एमालेले जनाएको छ । प्रशिक्षणमा प्रदेश कमिटी इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका स्कुल विभागलगायत सहभागी हुने छन् ।
एमाले यसरी निर्वाचनको तयारीमा जुट्दा सत्तारूढ गठबन्धनको एउटा घटक एकीकृत समाजवादीले निर्वाचनमा गठबन्धनलाई कायम राख्नुपर्ने निष्कर्ष निकालेको छ । सिंगो गठबन्धन निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको छ ।
मंगलबारको सचिवालय बैठकपछि महासचिव डा. वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनको एकता कायम राख्दै गठबन्धनको शक्ति सम्पूर्ण रूपमा निर्वाचनमा केन्द्रित गर्नुपर्दछ । यस सन्दर्भमा हाम्रो पार्टी गठबन्धनमा सामेल सबै दलहरूलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आव्हान गर्दछ ।’
एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्ध उभिएका पाँच दलको गठबन्धन छ । गठबन्धनकै सरकार छ । एकताबद्ध भएर निर्वाचनमा गएको अवस्थामा मात्रै एमालेलाई गठबन्धनले पराजित गर्न सकिन्छ भन्ने बुझाइ एकीकृत समाजवादीको छ ।
कुनै बेला स्वतन्त्र मधेसको एजेन्डा बोकेका डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले त उम्मेदवारको स्वघोषणा वा सिफारिस गर्न आव्हानसमेत गरिसकेको छ ।
उम्मेदवार हुन स्वघोषणा गर्ने वा सिफारिस गर्ने अन्तिम मिति आगामी १५ फागुन भनिएको छ । डा. राउत नेतृत्वको पार्टीले हालै मधेसमा किसान आन्दोलन गरेको थियो । यो दलले मधेस प्रदेशको सत्ता नेतृत्व दल र संघीय सरकारमा पनि सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा)लाई चुनौती दिन सक्ने कतिपयको विश्लेषण छ ।
यस्तै, सहमहामन्त्री भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो ३ बजे स्थानीय तह निर्वाचनलगायत एजेन्डामा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार पनि बसेको थियो । बिहीबार भने कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
माओवादी केन्द्रले पनि २८ र २९ माघमा स्थानीय तह निर्वाचन केन्द्रित जिम्मेवारी नेताहरूलाई दिने गरी केन्द्रीय समिति बैठक बोलाएको छ । स्थानीय निर्वाचन आगामी ३० वैशाखमा हुने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया