शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

सिआइडी प्रहरी भन्दै ठगी गर्ने पक्राउ

सिन्धुपाल्चोक– आफू अनुसन्धानतर्फको प्रहरी नायव निरीक्षक भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। सिन्धुपाल्चोक प्रहरीले सर्लाही लालबन्दी नगरपालिका वडा नं.१५ देउरालीका सुमन लामालाई पक्राउ गरेको हो ।

लामाले लागुऔषध ओसारपसारमा संलग्न एक युवालाई छुटाइदिन्छु भन्दै परिवारसँग रकम माग गरेका थिए। सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नं.४ बस्ने रमेश राना मगर आगूऔषध ओसारपसार आरोपमा बर्दिवास हिरासतमा छन्। उनलाई छुटाइदिने भन्दै ‘नक्कली’ अनुसन्धान प्रहरी बनेर पुगेका लामाले रानामगरको परिवारसँग तीस हजार रुपैयाँ माग गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

उनलाई चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१० सुकुटेबाट पक्राउ गरिएको हो। लामाले पैसा लिएर सुकुटेमा रानामगरको परिवारलाई भेट्न बोलाएका थिए।

ठगी गर्न खोजेको भन्ने सूचनाका आधारमा प्रहरी टोली सुकुटे पुगेको थियो,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी दक्षबहादुर बस्नेतले भने, ‘हामीले त्यहीबाट लामालाई पक्राउ गरेका हौं।’

उनलाई जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई ठगी उद्योग मुद्दामा आवश्यक कार्वाहीको प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ।