शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

देउवा, दाहाल र नेपालबीच भएको भेटवार्तामा एमसीसीको नाम नै उच्चारण भएन- नारायणकाजी श्रेष्ठ

फाइल फाेटाे

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएकाे भेटवार्तामा एमसीसीका बारे कुनै पनि कुरा नभएकाे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी  दिएका छन् ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो । 
‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा नेता श्रेष्ठले भने, ‘अन्य समसामयिक विषयमा छलफल भयो ।’ 

एमसीसी संसदमा टेबल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभेद रहँदै आएको छ । 

माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस हालकै अवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ । 

यसै साता देउवा र दाहालले संयुक्त रुपमा एमसीसीलाई फागुन भित्र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दुरी बढेको हो । 

यसैबीच बुधबार दाहाल र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए । 

साझा धारणा लिएर आज दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटवार्तामा दाहाल र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे । 

‘आजको भेटघाट शुद्ध रुपमा चीया गफ जस्तो भयो,’ उनले भने ।