आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

चौदण्डीगढीमा एकमहिने खेलकुद महोत्सव

उदयपुर- कोभिड सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेपछि उदयपुरको चौदण्डीगढी नगरपालिकाले फागुन १ गतेदेखि महिनाभरि खेलकुद महोत्सव सञ्चालन गर्ने तयारी गरेको छ। चौदण्डीगढी नगरपालिकाका अनुसार फागुन १ गतेदेखि फागुनको अन्तिम हप्तासम्म नगरका विभिन्न स्थानमा झण्डै दुई दर्जन खेलकुदका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताए।    
    
स्थानीय तहमा आन्तरिक पर्यटन विकाससँगै खेलकुद विकास प्रवद्र्धनका लागि फागुन अन्तिमसम्म महिनाभरि नै खेलकुद कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख राईले बताए। फागुन १ देखि ४ गतेसम्म नगरको ऐतिहासिक चौदण्डीगढी क्षेत्रबाट दैनिक प्याराग्लाइडिङ उडान गर्ने र बेल्टार क्षेत्रमा भलिबल खेल सञ्चालन गर्ने उपप्रमुख राजकुमारी चौधरीले जानकारी दिए। यस्तै फागुनको ७ देखि १० सम्म नगरको सुन्दपुर सिवाई खेलमैदानमा नगरमेयर फुटबल कप खेल सञ्चालन हुने भएको छ ।    
    
फागुन १० देखि १५ गतेसम्म बेल्टार बजारको ज्योति माविमा जिल्लाव्यापी अन्तर माविस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ भने फागुन २० सम्म विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको चौदण्डीगढी नगरपालिकाले जनाएको छ । यस्तै फागुनको तेस्रो हप्तामा नगरको समावेशी खेलमैदानमा महिला, पुरुष हयाण्डबल खेल हुने र तेक्वान्दो सितोरिया करातेसहितका खेल सञ्चालन हुने भएका छन् । यस्तै फागुन २५ देखि राप्रसाद राई खेलमैदान बसाहामा चौदण्डीगढी गोलकप खेल सञ्चालन हुने नगरपालिकाले जनाएको छ।    
    
महिनाभरि सञ्चालन हुने खेलकुद महोत्सवले नगरको सांस्कृतिक तथा आन्तरिक पर्यटन विकासका साथै खेलकुद विकासमा टेवा पुग्ने लक्ष्यका साथ खेलकुद महोत्सव आयोजना गरिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख राईले बताए । एक महिने खेलकुद महोत्सवको आयोजना चौदण्डीगढी नपा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन हुन लागेको हो।