सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

महिला भलिबल टोली वर्षको उत्कृष्ट टिम घोषित, पौडीबाज सिंह र करातेका श्रेष्ठ उत्कृष्ट खेलाडी

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) ले आयोजना मंगलबार आयोजना गरेको पल्सर स्पोटर्स अवार्ड २०७६ मा राष्ट्रिय महिला भलिबल टोली वर्षको उत्कृष्ट टिम घोषित भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको कार्यक्रममा महिला भलिबल टिमलाई उत्कृष्ट टिम घोषणा गर्दै पुरस्कृत गरिएको हो । 

महिला भलिबल टिमले गत वर्ष बंगलादेशमा सम्पन्‍न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्‍नुका साथै घरेलु भूमिमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक पनि हात पारेको थियो । 
 
नेपाली महिला टिमले अन्तराष्ट्रिय भलिबलमा उपलब्धि हासल गर्दा मुख्य खेलाडी रहेकी अरुणा शाहीले पिपुल्स च्वाइस अवार्ड जितिन् । भलिबल टिमकी कप्तान शाहीले ई-सेवामार्फतको भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकहरूले दिएको मतको आधारमा सो अवार्ड जितेकी हुन् । शाहीले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई पछि पार्दै पिपुल्स च्वाइस अवार्ड हात पारेकी हुन् । 

त्यस्तै, गत वर्ष भएको सागमा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्‍वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए । सागमा नेपालले १३ स्वर्णका अलावा ६ रजत र ११ काश्य पदक जित्दा नेपाली टोलीका नेतृत्वकर्ता रहेको श्रेष्ठले उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई अवार्ड दौडमा पछि पारे । 

उता उत्कृष्ट युवा वर्ष खेलाडी गल्फका सुवास तामाङलाई घोषणा गरियो । उनले गत वर्ष काठमाडौंमा सम्पन्‍न १३ औ सागमा दोहोरो स्वर्ण पदक जितेका थिए । वर्षको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा तामाङ बाहेक तेक्‍वान्दोका भूपेन श्रेष्ठ, जुडोकी पूनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी, तेक्‍वान्दोकै सिना लिम्बु मादेन रहेका थिए । 

वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडी भने पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ घोषित भए । पौडीबाज गौरिका सिंहले १३ औं सागमा चार स्वर्ण जितेकी थिइन् भने श्रेष्ठले सोही प्रतियोगितामा दुई स्वर्ण जितेका थिए ।  पुरस्कृत सिंहले तेक्‍वान्दोकी आयशा शाक्य, कराँतेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारिन् । उता, करातेका श्रेष्ठले गल्फका सुवास तामाङ, एथ्लेटिक्सका गोपीचन्द्र पार्की तेक्‍वान्दोका कमल श्रेष्ठ र फुटबलका विकेश कुथुलाई पछिपर्दै वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्‍न सफल भए ।
 
त्यसैगरी, तेक्‍वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठलाई संयुक्त रूपमा स्पेशल अवार्ड प्रदान गरियो । १३ औं सागमा शाक्यले २ स्वर्ण र श्रेष्ठले एक स्वर्ण जितेका थिए । पारा एथ्लिट अवार्डबाट भने ह्वीलचियर बास्केटबल र क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई सम्मानित गरियो ।  

मञ्‍चले नेपाली खेलकुदमा सम्झनलायकको योगदान गरेको भन्दै टेबल टेनिसका पुराना खेलाडी सिजरन शाह र गीता क्षेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गर्‍यो । यी दुईले नेपाललाई कोलोम्बो सागमा टिम इभेन्ट्स तर्फ स्वर्ण पदक जिताएका थिए । 

मञ्‍चले वर्षेनी आयोजना गर्ने अवार्ड कार्यक्रममा मंगलबार सम्मानित हुने खेलाडीहरूलाई बजाज पल्सर मोटरसाइकल र नगदले प्रदान गरियो । वर्ष खेलाडी पुरुष, महिला, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पुरस्कारका रुपमा मोटरसाइकल प्राप्त गरे भने अन्य विधाका विजेतालाई भने जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर दिइयो । २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा खेलाडी तथा प्रशिक्षकहरुलाई अवार्डका लागि मनोनयन गरिएको थियो ।