हाम्रो गाउँपालिकामा दुःखीहरू धेरै भएको हुँदा करमुक्त बनायौँ
'म त आफूलाई १० मा १० नम्बर नै दिन्छु'

नेपालको शासकीय संरचना ६ वर्षदेखि संघात्मक भएपछि स्थानीय तह स्थानीय सरकारमा परिणत भयो । सरकार भन्नुको अर्थ हो, अधिकारसहितको कार्यकारी संस्था । आफैँले निर्वाचित गरेका प्रतिनिधिबाट आफ्नै घर–आँगनमा सुलभ तरिकाले सेवा–सुविधा पाउनु मात्र संघीयताको मर्म होइन, यो पाउनु र दिनुभन्दा माथिको स्वशासित अवस्थाको महसुस हो । राज्यलाई घर मान्ने हो भने स्थानीय सरकार त्यो घरको जग हो । जग बलियो भए मात्र घर बलियो हुन्छ । तर, जग बिर्सेर माथिमाथि तला–छानाको चिन्ता गरिबस्नु घरको खास चिन्ता होइन । संघीयताको बहस र अभ्यासमा स्थानीय सरकारका संस्थापकहरूको आनुभविक आवाज घरले राम्ररी नसुनेको बोध गर्दै इकागजले संवाद शृंखला सुरु गरेको छ । पहिलो पटक संघीयता कार्यान्वयन गर्ने अवसर र चुनौतीको दोसाँधमा स्थानीय प्रतिनिधिहरूले कसरी काम गरे ? यसै सन्दर्भमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण जिसी ‘विनोद’सँग इकागजकर्मी दुर्गा आचार्यले गरेको संवाद :
स्थानीय तहको संस्थापकका रूपमा पाँच वर्ष सुनकोशी गाउँपालिकाको नेतृत्व गर्दा कस्तो महसुस गर्नुभयो ?
पहिलो निर्वाचित थियौं । चार–पाँच महिना सिक्नै लाग्यो । विभिन्न नियम–कानुन बनाएर जानुपर्ने भएकाले केही असहज पनि भयो । स्थानीय आवश्यकता रहेका सडक, खानेपानी, शिक्षामा काम गर्दा कतिपय कठिनाइ पनि आइपर्यो । त्यो सिलसिलामा आम समुदायमा सरसल्लाह गरेर अगाडि बढ्यौं । हाम्रै कार्यकालमा कोभिड महामारी सुरु भयो । जसले गर्दा राजनैतिक, आर्थिक सामाजिक रूपमा सबैतिर असर गर्यो । तैपनि संघीयतालाई मजबुत बनाउने विषयमा हामीले अभ्यास गर्यौं जस्तो लाग्छ । अबको दोस्रो स्थानीय तहको निर्वाचन घोषणाले संघीयता अझ मजबुत भएको आभास हुन्छ ।
आफैँलाई पनि सम्झनलायक काम के–के गर्नुभयो ?
हामीले करमुक्त गाउँपालिका बनायौं । हाम्रो गाउँपालिकामा सुविधासम्पन्न नागरिक हैन, दुःखी नागरिकहरू बस्छन् । स्थानीय तह सबै नागरिकको सरकार हो । यसमा उनीहरूलाई अपनत्व होस् भन्ने हेतुले र उनीहरूलाई सुविधा होस् भन्ने हेतुले करमुक्त गाउँपालिका बनायौं । त्यस्तै सुनकोसी गाउँपालिका सुख्खाग्रस्त क्षेत्र हो । पालिकाका पुछारमा भोटेकोसी बगे पनि बस्तीहरूमा खानेपानीको अभाव छ । धेरै स्थानीय आफ्नो थातथलो छाडेर विस्थापित हुने अवस्था थियो । हामी आएपछि डिपबोरिङबाट खानेपानीको व्यवस्था गर्यौं । अहिले पालिकाभर एक घर एक धारा छन् । खेलकुदका लागि कबर्डहल बनायौं । स्वास्थ्य संस्थाका भवनहरू निर्माण गर्यांै । आम मानिसका समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्यौं ।
केही कर्मचारी दलका कर्मचारी पनि भएकाले काम गर्न धेरै गाह्रो छ
चुनावमा जाँदा के के वाचा र प्रतिबद्धता गर्नुभएको थियो ?
जनतालाई झुटा नारा दिएर चुनावमा अगाडि बढेको थिइनँ । म किसानको छोरा हुँ । मैले किसानलाई राहत हुने कामलाई प्राथमिकता दिए । देशव्यापी रूपमा कर बढिरहेको थियो । सामान्य सिफारिस लिन जाँदा पनि एक सयदेखि पाँच सयसम्म कर लिएका थिए । यहाँलाई थाहा छ, विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्तालगायतमा पनि कर तिर्नुपर्छ । तर म निर्वाचित भइसकेपछि मैले कर उठाइनँ । जनताकोमा मैले जितेँ भने कर मिनाहा गर्छु भनेको थिएँ, मैले मिनाहा गरेँ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खेलकुदलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको थिएँ । त्यसलाई प्राथमिकतामा राखेर काम गरेको छु ।
काम गर्दा के कस्ता अप्ठ्याराको सामना गर्नुपर्यो ?
स्थानीय सरकार भएकाले आम जनतामा स्थानीय तहप्रति आशा, भरोसा बढी छ । त्यसमाथि दलित, जनजाति, पिछडिएका समुदायको बढी बसोबास छ । उनीहरूको अझ धेरै अपेक्षा छन् । सबैले भनेअनुरूप काम गर्न नसकिएला तर अल्पसंख्यक, दलित र जनजातिलाई भनेर वार्षिक पाँच हजार औषधोपचार खर्च दिइरहहेका छौं । खेती किसानलाई ट्रयाक्टर उपलब्ध गराएका छौं । कोभिड महामारीको बीचमा खाद्यान्न नभएका, मजदुरी गरेर खानुपर्ने तल्लो वर्गका जनतालाई खाद्यान्न र औषधोपचार उपलब्ध गराएका छौं ।
तपाईंले गरेका पाँच काम के–के हुन् ?
करमुक्त गाउँपालिका, एक घर एक धारा, किसानलाई दूध र ट्रयाक्टर अनुदान, स्वास्थ्य र राजनीतिक हिसाबले भन्दा पनि सुनकोसीका सबै जनता सबै सामान हुन् भन्ने हिसाबले काम गरेँ ।
काम गर्न खोजेर पनि हुन नसकेका काम के के हुन् ? किन हो ?
गाउँपालिकाको भवन बनाउन सकिएन । स्थानीय सरकारले सर्वसम्मतिले गाउँपालिकाको केन्द्र तोकेर सुनकोसी गाउँपालिका ३ स्यालेमा पठाइयो । जुन केन्द्र तोकेर पठाइयो त्यो जग्गा वनको जग्गा थियो । त्यसमा प्रदेश सरकारले निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने थियो । जसमा राजनीतिक चलखेल भएर त्यही वडाको मन्त्रीज्यू (अरुण नेपाल बागमती प्रदेशका वन मन्त्री थिए) विभागीय मन्त्री भएका कारण त्यो जग्गा गाउँपालिकालाई उपलब्ध भएन । त्यो फाइल दुई तीन वर्ष प्रदेशमै रोकिएर बस्यो । फाइल अगाडि बढेन । दुई वर्ष कोभिड महामारीसँग लड्दै जुध्दै गर्दा सुनकोसीका नागरिकलाई कसरी बचाउने, बालबालिकालाई शिक्षा कसरी दिन भन्ने चिन्ताले केन्द्रको विषयलाई हामीले दोस्रो प्राथमिकतामा राख्यौं ।
सम्पूर्ण गाउँपालिकालाई करमुक्त गरिसकेपछि आम्दानीको स्रोत पनि भएन ।
मन्त्रीको अवरोधका कारण भन्दा मिल्छ ?
ठ्याक्कै त्यसैलाई इगिंत गर्न चाहिनँ । तर उहाँहरूको घर–आँगनमा भएको गाउँपालिका कार्यालय अन्त लाँदा तपाईं आफँ मन्त्री हुनुहुन्थ्यो किन सिफारिस दिएको भन्ने आक्षेप लाग्ने भएका कारण हो कि जस्तो लाग्छ ।
कानुनी जटिलताले पनि रोकेको हो कि ?
कानुनी जटिलतापनि थियो होला । तर चाहँदाखेरि कानुनै बनाएर भए पनि स्थानीय सरकार सञ्चालनका लागि चाहिने प्रशासनिक भवनका लागि कानुनका धारा–उपधारा पनि परिवर्तन गर्न सकिन्थ्यो ।
अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता व्यहोर्नुपर्यो ?
नियम–कानुन बनाएर काम गर्नुपर्ने । र ती काम गर्दै गर्दा विज्ञताको पनि खाँचो पर्ने र व्यावहारिकतालाई पनि एडजस्ट गर्नुपर्ने र कानुनलाई पनि टेक्नुपर्ने हुँदा प्रशासनमा कहिले कर्मचारी नहुने र संघ र प्रदेशले भनेअनुरूप कर्मचारी नपठाउने, पठाएका पनि राजनीतिक आस्थाका आधारमा द्वन्द्व हुने भयो । आर्थिक पाटोमा गाउँपालिकाको आय एकदमै कम छ । त्यसलाई भने अनुरूप गर्न सकिएन । सम्पूर्ण गाउँपालिकालाई करमुक्त गरिसकेपछि आम्दानीको स्रोत पनि भएन । प्रदेश र केन्द्रबाट जे जति बजेटबाहेक अन्य आम्दानी भएन । विभिन्न उतारचढावका बावजुद सहज र सरल ढंगले अगाडि बढ्यो भन्ने लाग्छ ।
कर्मचारीबाट सहयोग असहयोग के–कस्तो भयो ?
मलाई सहयोग प्राप्त नै भए । सुरुका केही समय हामी जनप्रतिनिधि र कर्मचारीकाबीच मिसअन्डरस्ट्यान्डिङ पनि भए । पछि सबैसँग छलफल गर्यांै । स्थायी, करार कर्मचारी र जनप्रतिनिधि राखेर छलफल गर्यांै । पछिल्लो अवस्थामा राम्रोसँग काम गरियो ।
प्रदेश र संघीय सरकारबाट सहयोग–असहयोग के भयो ?
राजनीति केही परिवर्तन भयो । प्रदेश र स्थानीय दुवै नयाँ संरचना भयो । उहाँहरूले पनि नीतिनियम बनाएर काम गर्दा अलमलिनुभयो । हामी पनि अलमलियौं । स्थानीय सरकार आफँै पनि सबै नियम–कानुन बनाउन सक्ने निकाय हो । तर, संघ र प्रदेशबाट सोचेजस्तो सहयोग प्राप्त भएन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्ने केही माध्यम भएन । त्यसको बाबजुद पनि केन्द्र र प्रदेशबाट विनियोजित बजेटको पारदर्शिता र नियम–कानुनलाई टेकेर केही व्यावहारिकतालाई पनि हेरेर हामीले काम गर्यौं । पछिल्लो समयमा सरकार पनि परिवर्तन भयो । त्यसपछि प्रदेश र केन्द्रसँग आफैँले समन्वय गरेर काम गरियो ।
स्थानीय सरकार भ्रष्टाचारको अखडा भयो पनि भन्छन् त ?
मेरोमा नहोला तर देशभर रहेका ७५३ स्थानीय तहका केही साथीहरूलाई के दम्भ थियो भने म आजीवन स्थानीय तहको निर्वाचित प्रतिनिधि रहन्छु भन्ने आत्मामा थियो तर त्यो थिएन । पारदर्शिताका कुरामा धेरै लापरबाही भएकै थिए । कतिपय स्थानीय तह हाँक्नेहरू अनुभवी साथी प्नि हुनुहुन्थ्यो । कति राजनीतिमै नयाँ थिए । कति साथीहरू नैतिक आचरण पतन भएका पात्र पनि चुनिएर आएका थिए । सीमित पात्रहरूले गर्दा राम्रा काम गर्ने स्थानीय तहका प्रमुख तथा नगरपालिका, महानगरपालिकाका केही साथीहरूलाई आक्षेप लाग्यो । कतिपयले नराम्रो काम पनि गरे । हाम्रो गाउँपालिकाको हकमा राजनीतिक रूपमा अर्को पार्टी बलियो हुँदाहुँदै हामीले जितेका थियौं । हामीलाई एउटा चुनौती पनि थियो राम्रो काम गरेर देखाउने । नमुना गाउँपालिका बन्नुपर्छ । आर्थिक पारदर्शितादेखि लिएर राजनीतक संस्कार बोकेर जानुपर्छ र प्रतिपक्षलाई पनि हातेमाले, सहयात्रा र सहयोगी बनाएर जानुपर्छ भन्ने हिसाबले नै काम गरियो ।
अब आउने जनप्रतिनिधिलाई के भन्न चाहनुहुन्छ ?
निर्वाचित भएपछि कुनै पार्टीगत, गुटगत रूपमा काम गर्नुहुँदैन, स्थानीय सरकार आम नागरिकको अपेक्षा राजनीतिक आस्थाले नहेरियोस्, मेरो तेरो, नजिक टाढा भनेर नहेरियोस् । हामी सबैलाई साझा मानेर काम गरियोस् र सबैको दुःखसुखमा साथ दिने एउटा नेतृत्व होस् । एउटा पार्टीको एउटा व्यक्तिको गाउँपालिका नहोस् । त्यसका लागि सबैलाई मिलाएर जान सक्ने एउटा सक्षम नेतृत्व आओस् भन्ने चाहन्छु ।
जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता त प्रत्यक्ष नागरिकसँग जोडिएका विषय हुन् । त्यसमा कुनै कर कसरी लिन सकिन्छ ?
नागरिक हुँदा र नेता हुँदा नागरिकको समस्यामा के फरक पाउनुभयो ?
नागरिक हुँदा म गाउँपालिका अध्यक्ष भएँ भने गाउँपालिकालाई स्वर्ग बनाउँछु भन्ने थियो । तर म निर्वाचित भएर आएपछि मैले फरक पाएँ । किनभने त्यहाँ नियम कानुनलाई फलो गर्नुपर्ने । निर्वाचित साथीहरूले चाहेर मात्रै सबै काम हुन नसक्ने । प्रशासनको काम हेर्ने नेपाल सरकारका छुट्टै कर्मचारी हुन्छन् । कर्मचारीबीच र हामी जनप्रतिनिधिबीचमा सामीप्य भएन भने उहाँहरूसँग काम गर्न गाह्रो पनि हुने । हुने कामलाई पनि ढिलाइ गर्ने, लामो समय लगाइदिने । कर्मचारीले सहयोग नगरे हामीले चाहेर मात्रै पनि नहुने । उहाँहरूलाई काम गर्नका लागि कार्यपालिकाले निर्णय गरेर कतिपय नीति नियम बनाएर उहाँहरूलाई दिनु पनि पर्यो । कार्यान्वयन गर्ने काम कर्मचारीको । केही कर्मचारीहरू राजनीतिक दलका कर्मचारी भएकाले उहाँहरूसँग काम गर्न धेरै गाह्रो छ । कर्मचारीको हक अधिकारका लागि स्वतन्त्र संगठन बनाए पनि राजनीति गर्न नपाउने नियम बनायो भने काम गर्न अलि सहज हुन्छ ।
कर्मचारी पनि राजनीतिक दलको संगठित सदस्य हुँदा टकराव हुन्छ भन्न खोज्नुभएको ?
केन्द्रमा प्रशासकीय अधिकृत कोही कम्युनिस्टको कोही कांग्रेसको हुने स्थानीय तहमा जानासाथ अल्टर हुने हुँदा काम गर्न एकदम अप्ठ्यारो छ ।
टिम मिलेन भने सोचेअनुसार काम गर्न सकिन्न भन्न खोज्नुभएको हो ?
टिम नमिल्दा कामै गर्न सकिन्न । बजेट फ्रिज भएर जाने समस्या नै टिम नमिलेर हुने हो । बजेट फ्रिज हुने र तल्लो तहका नागरिकले भनेजस्तो सेवा–सुविधा पाउन सकेका छैनन् । यो चाहिँ कर्मचारी र जनप्रतिनिधिको टकरावका कारण भएको हो । असहयोग पनि भएका उदाहरण छन् । हाम्रो गाउँपालिकाको हकमा यस्ता समस्या अलि कम छ । हामी समयमै प्रदेश र केन्द्रबाट बजेट माग गरेर ल्याउँछौँ । जनप्रतिनिधि र कर्मचारीहरूबीच एकरूपता छ । जनताका लागि एक भएर नै साथ सहयोग दिनुपर्छ भन्ने भावना छ ।
आफ्नो कामलाई १० पूर्णांकमा कति दिनुहुन्छ ?
देशभरका ७५३ स्थानीय तहमध्ये यो मात्रै यस्तो गाउँपालिका हो, जुन करमुक्त गाउँपालिका हो । विभिन्न स्थानीय तहमा साग, कुखुरा, बाख्रा, भंैसी बेचेको पनि कर लिइरहेका छन् । वडामा विकास निर्माणको माग गर्ने नपढेका बुबाआमालाई खानेपानीको पाइपका लागि एउटा निवेदन लेखिदिएको पनि ५०÷१०० रुपैयाँ कर लिइरहेका हुन्छन् । तर, हाम्रोमा भने फोटोकपी गर्न पनि पैसा लाग्दैन । निवेदनको त परै जाओस् । जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ता त प्रत्यक्ष नागरिकसँग जोडिएका कुरा हुन् । त्यसमा कुनै कर कसरी लिन सकिन्छ ? म त आफूलाई १० मा १० नम्बर नै दिन्छु ।
भन्ने हो ।
संवाद शृंखला- १२: धनकुटा नगरबासीलाई सन्तुष्ट बनाएको छु
संवाद शृंखला- ११ : पालिका प्रमुखका हैसियतले मैले उत्कृष्ट कार्य गरेको छु
संवाद शृंखला- १० : गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ
संवाद शृंखला- ९ : संघ र प्रदेशबाट सहयोगभन्दा असहयोग नै बढी पाएको छु
संवाद शृंखला- ८ : प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्यौँ
संवाद शृंखला- ७ : तुलसीपुरका लागि गएको पाँच वर्ष स्वर्णिम काल हो
संवाद शृंखला- ६ : संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
संवाद शृंखला- ५ : गर्भवतीलाई एम्बुलेन्स सेवा निःशुल्क, सेनेटरी प्याड पनि निःशुल्क छ
संवाद शृंखला- ४ : भोट दिएर जिताएको त हो नि भन्दै यहाँका जनता कर नै तिर्दैनन्
संवाद शृंखला- ३ : म आफ्नो कार्यकाललाई १० मा ७ अंक दिन्छु
संवाद शृंखला- २ : संघीयता देशले थेग्न सक्दैन भन्ने कुरा गलत हो
संवाद शृंखला- १ : संघ र प्रदेशले सहयोग नै गरेनन्

सिंह मात्रै यता, अधिकारको दरबार चाहिँ केन्द्रमा

संघीय सरकारले राजनीतिक पूर्वाग्रह राख्यो

स्याउका सात लाख बिरुवा रोपेका छौँ, सहिद स्मृति आवासीय विद्यालय चलाएका छौँ

मैले योजना ल्याउन मन्त्री र सांसद चिन्नुपर्ने त हैन होला ?

म आफूलाई १० मा १० अङ्क दिन्छु

कान्छी उप-प्रमुख चौधरीको अनुभव : विपक्षीले नगरपालिका भवनसमेत बनाउन दिएनन्

पालिका चलाउन २६ वटा ऐन-कानुन बनाएका छौँ

प्रतिक्रिया