शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

प्रधानमन्त्रीले संसद् बैठक स्थगित गराउनुभयो, बदनाम मेरो गरियोः दाहाल

फाइल तस्‍बिर

काठमाडौँ -  नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा प्रतिनिधिसभा बैठक स्थगित गरेको भए पनि आरोप भने आफूलाई लागेको गुनासो गरेका छन्। २७ औं ‘जनयुद्ध दिवस’को अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा बैठक आफनो आदेश र निर्देशनमा नभई प्रधानमन्त्रीको आग्रहमा स्थगित गरिएको प्रस्टाएका हुन ।

‘कतिसम्म दुषप्रचार गरियो भने सदनको बैठक दाहालको निर्देशनमा पहिला ६ दिन अनि अहिले १० दिन स्थगित गरिएको भनेर झुटो प्रचार गरियो, प्रचण्डलाई बदनाम गराउन अझै पनि लागिरहेका छन्,’ दाहालले भने, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा भन्नुभयो, प्रचण्डलाई जनतालाई भनिदिनुहोस– बैठक मेरो आग्रहमा स्थगित भएको हो, सञ्चारमन्त्रीले हाम्रै अगाडी सभामुखलाई फोन गरेर बैठक स्थगित गराउन लगाउनु भयो, प्रचार चाँही मैले गरेको भनेर आयो ।’ उनका अनुसार सशस्त्र युद्ध सुरु गरे देखि नै माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गराउन लागिपरेको र त्यो क्रम अझै रोकिएको छैन ।

‘जनयुद्ध सुरु गर्दादेखि नै आन्दोलन र नेतृत्वलाई कमजोर पार्ने अनेक षड्यन्त्र भएका थिए, नेतृत्वलाई सम्पुर्णरूपमा सखाप पार्ने भनेर टाउको काटने र झोलामा ल्याउने कुरा देख्यौं, भोग्यौं तर जनताको त्याग र बलिदानको प्रतिवद्धता अनुसार परिवर्तनको कारक बन्न हामी सफल भयौं,’ दाहालले भने, ‘अहिले पनि नेतृत्वलाई बदनाम गराउन संघर्षभिन्न रूपमा जारी छ, यो परिवर्तन उपलब्धी उल्टाउन नेतृत्वलाई के गरी बदनाम गराउन र सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन, एउटा वर्ग यही अभियानमा छ ।’

उनका अनुसार माओवादी नेतृत्वलाई कमजोर पार्न र बदनाम गराउन लागि परेको सो बर्गले एउटा मनशायले गरेको कामलाई अर्को मनशायले व्याख्या गरेर निरन्तर आक्रामण गरिरहेको छ ।