‘ए मेरो हजुर’को गीत रिलिज कार्यक्रममा श्रीकृष्णको चर्चा

काठमाडौँ - अनमोल केसीले कुनै बेला सिक्वेल फिल्ममा काम नगर्ने घोषणा गरेका थिए । यही कारण उनले आफ्नै डेब्यु फिल्म ‘होस्टल’को दोस्रो भाग बन्दा काम गर्न मानेका थिएनन् । निर्माताले सुशील श्रेष्ठलाई लिएर यही नाममा दोस्रो फिल्म बनाए जुन सफल पनि भयो ।
तर अनमोल आफ्नो यो घोषणामा लामो समय टिक्न भने सकेनन् । उनले ‘ए मेरो हजुर ३’ साइन गर्दै खासै चर्चामा नआएको पूर्व घोषणाबाट पछि फर्केको जनाऊ दिए । यो फिल्म बन्यो र अत्यधिक चल्यो पनि । अहिले फेरि यही ब्रान्डको चौथो फिल्म रिलिजको संघारमा छ । शुक्रबार यसको शीर्ष गीत सार्वजनिक भयो । गीत सार्वजनिक कार्यक्रममा अनमोलले किन यो फिल्मको हिस्सा बन्न स्वीकार गरे ? यसको घुमाउरो उत्तर पनि दिए ।
श्रीकृष्णमय बनेको गीत सार्वजनिक कार्यक्रममा अनमोलले श्रीकृष्ण श्रेष्ठले धेरै वर्ष पहिले सपनामा देखेको र बिहान उठ्दा उनको मृत्युको समाचार सुनेको प्रसंग सम्झेका थिए । ‘उहाँले मलाई सपनामा किप इट अप राम्रो गरिराछौ भन्नु भएको थियो तर बिहान उठ्दा उहाँ बितेको समाचार सुन्नु परेको थियो,’अनमोलले भने । उनले श्रीकृष्ण श्रेष्ठले स्थापित गरेको ब्रान्डलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताएका थिए ।
‘ए मेरो हजुर’ २० वर्षअघि सुनिलकुमार थापाले नै झरना थापा र श्रीकृष्ण श्रेष्ठको जोडीलाई लिएर बनाएका थिए । शिव रेग्मीले निर्देशन गरेको यो फिल्म उसबेला अत्यधिक सफल भएको थियो । अभिनेत्री झरना थापाले निर्देशनमा डेब्यु गर्दा यही फिल्म रोजिन् । यसको दोस्रो शृंखला हिट भएपछि उनले यही नाममा थप दुई बनाइसकेकी छिन् । उनले पनि गीत सार्वजनिक कार्यक्रममा श्रीकृष्ण श्रेष्ठकै कारणले आफूलाई अभिनयमा आत्मविश्वास पैदा भएको बताइन् ।
‘ए मेरो हजुरमा एउटा दृश्य थियो जहाँ मैले १२ टेक खानु परेको थियो । मबाट अभिनय हुन सक्दैन भन्ने लागेर म सुटिङ छाडेर भागेकी थिएँ । बाटोमा श्रीकृष्ण दाइले भेट्नु भयो’ झरनाले भनिन्, ‘ उहाँले के भयो किन भागेकी भनेर सोध्दा मैले आँशु थाम्न सकिँन । उहाँलाई आफूले काम गर्न नसकेको बताएपछि उहाँले मलाई ल यसरी गर भनेर सम्झाएर त्यही अनुसार गरेपछि त्यो सट ओके भयो । यति मात्र होइन पछि फिल्ममा त्यही संवाद हिट पनि भयो ।’
झरनाले श्रीकृष्ण श्रेष्ठसँगै यसका निर्देशक शिव रेग्मीको पनि सम्झना गरेकी थिइन् । वैशाख १ गते प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोलसँगै सुहाना थापा, सलोन बस्नेत, निराजन प्रधान आदि कलाकारको महत्वपूर्ण भूमिका रहेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया