शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

ठगी आरोपमा अधिवक्ता अर्याल पक्राउ

पोखरा - कानुन व्यवसायी कमल अर्याल पोखरामा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीको आदेश लिएर मंगलबार उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । हाल उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

उनी ठगी आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । अन्नपूर्ण गाउँपालिकाको न्यायीक समितिले गरेको भैंसी चोरी सम्बन्धी मुद्दा न्यायाधीशलाई खुसी पारेर मिलाइदिने भन्दै पक्षबाट रकम लिएको आरोप उनीमाथि छ । 

ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रियाका लागि पक्राउ अनुमति दिइएकाे जिल्ला अदालत कास्कीका प्रवक्ता नील पनेरुले जानकारी दिए । 

‘रामबहादुर दमैको जाहेरीमा अधिवक्ता अर्याललाई पक्राउ गर्नका लागि सक्कल कागजातसहित पेस गरेको आधारमा जिल्ला अदालतले पक्राउ अनुमति दिएकाे उनले बताए।

अदालतबाट अनुमति पाएपछि अधिवक्ता अर्याललाई पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।