सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

के म्यानचेस्टर सिटीमा सर्जियो अग्वेरोको उपयोगिता सकिएको हो ?

काठमाडौं : सर्जियो एग्वेरोले म्यानचेस्टर सिटीमा साढे नौ वर्ष गुजारिसकेका छन् । सिटीमा तीन सय ७९ खेल खेल्दै दुई सय ५६ गोल गरेका अग्वेरो इतिहादमा लगातार पहिलो रोजाईको स्ट्राइकरका रुपमा रहे । तर जारी सिजनमा उनले पाँच लिग खेल मात्र खेल्न पाएका छन् । त्यसमा पनि दुई खेलमा मात्र उनलाई पहिलो एघारमा राखिएको थियो । लिगमा सिटीले खेलेका १७ खेल मध्ये पाँचमा अग्वरो चोटका कारण उपस्थित थिएनन् । 

तर बाँकी खेलका लागि भने उनी शारीरिकरुपमा तयार थिए । सिटीका पछिल्ला चार लिग खेलमा उनले २८ मिनेट मात्रै खेल्न पाए । प्रश्न उठ्छ, के सिटीमा अग्वेरोको उपयोगिता सकिएको हो ?  यस प्रश्नको उत्तर सिटीले जारी सिजनमा खेलेको शैलीले दिइसकेको छ । अग्वेरो चोटका कारण गएको छ महिनामा चोटका कारण टिम भित्र बाहिर हुँदैगर्दा प्रशिक्षक पेप ग्वार्डिओलाले फरक प्रकारको अग्रपंत्तिको प्रयोग गरेका छन् । अर्जेन्टिाइन फरर्वाड पटक पटक चोटका कारण मैदान बाहिर रहँदै आएका कारण पनि उनी सिटीका लागि अब भरपर्दा खेलाडी नरहेको निचोडमा ग्वार्डिओला पुग्न बाध्य भएको हुनसक्छ ।  

सिजनको सुरुवाती खेलहरूमा अग्वेरोको अनुपस्थितीमा सिटी गोलका लागि संर्घषरत रह्यो । पछिल्ला तीन सिजनमा सबैभन्दा धेरै गोल गरेको सिटीले यस सिजन सुरुवाती आठ खेलमा १० गोल मात्र ग¥यो । स्ट्राइकरहरूले गोल नगर्दा, टिमका अन्य खेलाडीले पनि गोल गर्नुपर्ने बताउने ग्वार्डिओलाको टिममा यस पटक १० खेलाडीले गोल गर्न सफल भएका छन् । त्यसमध्ये तीन खेलाडीले सात–सात गोल गर्न सफल भएका छन् ।

आफ्ना सहकर्मीले टिमका लागि आवश्यक गोल गर्दैगर्दा अग्वेरो भने ग्वार्डिओलाको पहिलो रोजाइको स्ट्राइकर बन्न संर्घषरत छन् । प्रिमियर लिगमा बुधबार ब्राइटनको सामना गर्ने सिटी अहिले बलियो लयमा देखिन्छ । सिटीले पछिल्ला सात खेलमा जित दर्ता गर्दा १४ गोल गरेको छ । त्यसकारण पनि गवार्डिओलाका लागि अग्वेरोलाई खेलाईहाल्नु पर्ने दबाब छैन । त्यसो त अग्वेरो विश्वस्तरिय खेलाडी हुन् । उनी ग्वार्डिओलाले प्रयोग गर्ने शैलीमा राम्रोसँग उपयोग हुनसक्छन् । र, टिममा पहिलो रोजाईको फरर्वाड हुनका लागि मेहेनत गर्न तयार छन् ।  

प्रशिक्षक ग्वार्डिओलाले पटक पटक अग्वेरो टिममा ‘मिस’ भएको भनेर नभनेका होइनन् । तर जारी सिजनको अन्त्यमा अग्वेरोको सिटीसँगको सम्झौता सकिने र नयाँ सम्झौताको खबर अझै नआइसकेको परिपेक्ष्यमा ग्वार्डिओलाले अर्जेन्टिाइन स्ट्राइकरलाई पहिलो रोजाईको बनाएर किन खेलाउने भन्ने प्रश्न उठ्छ । त्यसो त अग्वेरोका एजेन्टले सिटीबाट नयाँ सम्झौताका लागि प्रस्ताव आइनसकेको बताउँछन् । आउँदो जुनमा ३३ वर्ष पुग्ने अग्वेरोलाई नयाँ सम्झौताका लागि प्रस्ताव राख्ने भन्दा उनको ठाउँमा नयाँ खेलाडी ल्याउने दाउमा सिटी रहेको भन्ने बुझ्न ग्राहो छैन । यद्यपी उनी जस्तै प्रतिभाशाली स्ट्राइकर भित्र्याउन सिटीका लागि सजिलो छैन ।

सिटीले बार्सिलोनाका लियोनल मेस्सी र बोरुसिया डर्टमन्डका एर्लिङ हालान्डमाथि आँखा लगाइरहे पनि ती दुबै खेलाडी अन्य ठूला क्लबहरुसँग पनि जोडिँदै आएका छन् । अग्वेरो सिटीमा खुशी रहेको संकेत गरिरहेका छन् । उनी जारी सिजनको दोस्रो चरणमा ग्वार्डिओलाको टिममा प्रभाव पार्ने रणनीतिमा छन् । प्रशिक्षक ग्वार्डिओला पनि अग्वेरोले आवश्यकता परेको बला मैदान प्रवेश गरी टिमका लागि गोल गर्नेमा ढुक्क छन् ।