मुडे-चरिकोट सडक कालोपत्रे गर्न तीन दिन बन्द
चरिकोट : लामो समयदेखि अलपत्र परेको दोलखाको मुडे चरिकोट सडकखण्ड निर्माणको क्रममा अवरुद्ध हुने हुँदा हप्तामा तीन दिन सवारीसाधन आवागमन बन्द गरिने भएको छ । सडक कालोपत्रे गर्नका लागि विभिन्न स्थानबाट एकैसाथ निर्माणको काम भइरहेको हुँदा सवारी साधनलाई समस्या हुने र निर्माण कार्यमा समस्या हुने भएपछि प्रत्येक हप्ताको मङ्गलबार, बुधबार र बिहीबार तीन दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलखबहादुर आलेले बताए ।
जिल्ला प्रशासन कार्यालय दोलखामा आज निर्माण कम्पनी, सरोकार पक्ष, राजनीतिक दल तथा सुरक्षा निकायको बीचमा भएको छलफलमा सडक तीव्र गतिमा निर्माण गर्नुपर्ने बाध्यता रहेको र दिउँसोको समयमा सवारीसाधन आवागमन रोक्ने निर्णय भएको हुँदा उक्त समयमा वैकल्पिक मार्गको प्रयोग गर्न आलेले सवारी चालकलाई आग्रह गरे ।
निर्माणको जिम्मा लिएर छ वर्षदेखि अलपत्र रहेको मुडे चरिकोट सडक नागरिकको चर्को विरोधपश्चात हाल धमाधम निर्माण भइरहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी ३० किलोमिटर सडक निर्माणको जिम्मा दिएको कम्पनीले छ वर्ष बितिसक्दा पनि निर्माण कार्य बीचमा नै छोडी अलपत्र पारेपछि जिल्लावासीले चर्को विरोध गरेपछि निर्माण कम्पनी काममा फर्किएको थियो ।
दुई वर्षमा सक्ने काम छ वर्षसम्म विभिन्न बहानामा तीन पटकसम्म निर्माणका लागि म्याद थप गरे पनि निर्माण हुन सकेको थिएन । भारतीय निर्माण कम्पनी सकिद हैदर र शङ्कर मालि सुनौलो खिम्ती जेभीले निर्माणको जिम्मा लिएकामा केही वर्षअघि पाँच किलोमिटर सडक निर्माण गरी मिटरब्याजी तथा चेक बाउन्सका कारण ठेकेदार सम्पर्कविहीन बनेको थियो ।
जेभी कम्पनी रहेको र निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तथा ठेक्का सम्झौता खारेज गर्नका लागि सडक विभागले प्रक्रिया अगाडि बढाएपछि जेभीवाला अर्को ठेकेदार काममा फर्किएको छ । यो वर्षसम्म सडक निर्माण सम्पन्न गरी सक्नुपर्ने बाध्यता रहेका कारण चरिकोट मुडे बोचलगायत विभन्न ठाउँबाट धमाधम निर्माण कार्य भइरहेको छ । रासस

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया