देउवाको कुरा सुनेर दाहाल-नेपाल सशंकित

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । बुधबार साँझ उनीहरुले बुढानिलकण्ठ पुगेर देउवालाई भेट गरेका हुन् । प्रतिनिधि सभा विघटनविरुध्द संयुक्त सडक आन्दोलन गर्ने प्रस्ताव लिएर देउवा निवास दाहाल-नेपाल पुगेका थिए ।
‘संसद विघटन गैरसंवैधानिक कदम हो । यसका विरुध्द नेपाली कांग्रेस सडकमै छ’ दाहाल-नेपाललाई देउवाले दिएको जवाफबारे भेटमा सहभागि कांग्रेस नेता रमेश लेखकले इकागजसँग भने, ‘तर नेकपाको कुनै एउटा गुटसँग मिलेर मोर्चाबन्दी गर्ने योजना छैन् । सत्ताको ललिपपमा पनि कांग्रेस फस्दैन ।’
पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर दाहाल-नेपाल नेकपाबाट छुट्टै समूह बनाएर सडक आन्दोलन गरिरहेका छन् ।
प्रतिनिधि सभा विघटनविरुध्द पुस १३ गते देशैभर कांग्रेसले विरोध प्रदर्शन गरेको थियो भने दाहाल-नेपाल पक्षले त्यसको भोलिपल्ट प्रदर्शन गरेको थियो । त्यसयता दुवै पार्टीले दोस्रो चरणका आन्दोलनका कार्यक्रम अगाडी बढाए पनि ओलीविरुध्द संयुक्त मोर्चाबन्दी गर्न सकेका छैनन् ।
प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक भने पनि छुट्टाछुट्टै सडकमा जाँदा आन्दोलन प्रभावकारी बन्न नसकेको टिप्पणी छ । संयुक्त सडक संघर्ष गर्ने प्रस्ताव लिएर बुढानिलकण्ठ पुगेका दाहाल र नेपाललाई देउवाले रित्तो हात फर्काएपछि प्रतिनिधि सभा विघटनविरुध्दको आन्दोलन अब कुन मोडालिटीबाट अगाडी बढ्छ ? भन्नेमा चासो थपिएको छ ।
त्यसमाथि प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला र आगामी चुनावका विषयमा देउवाले दाहाल-नेपाललाई सकारात्मक जवाफ फर्काएका थिए । तत्काल ओलीविरुध्दको मोर्चाबन्दी नगर्ने जनाउ दिँदै देउवाले सत्ताको ललिपपमा पनि नफस्ने प्रष्टोक्ती दिए ।
नेकपा विभाजनदेखि संवैधानिक आयोगमा नियुक्ति र प्रतिनिधि सभा विघटनका साक्षी देउवासँग कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले निरन्तर परामर्श गरिरहेका छन् । दाहाल-नेपालको चर्को घेराबन्दीमा परेका बेला समेत देउवालाई बालुवाटारमै बोलाएर ओलीले गोप्य परामर्श गर्ने गरेका थिए ।
देउवासँग भावी सत्ता सहकार्यका विषयमा समेत विकल्प खुला राखेका ओलीले आफूविरुध्द दाहाल-नेपालको सडक संघर्षमा सहभागि नहुन लबिङ गरिरहेका छन् । ओलीले सुरुवातदेखि नै प्रमुख प्रतिपक्षी दलका सभापतिसँग निकट रहेर परामर्श गरेकै कारण देउवा तत्कालै दाहाल-नेपाल पक्षसँग नजिकिहाल्ने ‘मुड’मा देखिदैनन् ।
सोही कारण पनि सुरुका दिनमा देउवाले दाहाल-नेपाललाई भेट दिएका थिएनन् । प्रतिनिधि सभा विघटन भएको झण्डै एक महिनापछि मात्रै प्रतिपक्षी दलका सभापतिले दाहाल-नेपालका कुरा सुन्नुले पनि नेकपाका दुवै गुटबाट देउवा तानातानको अवस्थामा छन् ।
प्रतिनिधि सभा विघटनविरुध्द थप आन्दोलनका कार्यक्रमबारे केन्द्रीय कमिटी बैठकमा छलफल भइरहेको देउवाले बताए । यसबीचमा अदालतमा मुद्दाको सुनुवाई भइरहेकाले धेरै पक्ष विपक्षमा कुरा गर्न आवश्यक नरहेको पनि देउवाको प्रतिक्रिया थियो ।
देउवाले अदालतको फैसला हेरेर आगामी चुनावमा जाने विषयमा कांग्रेस सकारात्मक रहेको बताएपछि दाहाल-नेपाल पक्ष झन् संशकित बनेको छ । प्रतिपक्षी दलबाट प्रतिनिधि सभा विघटनविरुध्दको आन्दोलनमा साथ नपाउने भएपछि ओलीविरुध्द थप कस्ता रणनीति अघि सार्ने ? भन्ने विषयमा विभाजित नेकपाका दुई अध्यक्षबीच अन्यौलता छ ।
कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दाहाल नेपालको सडक संघर्षलाई समर्थन गरेको संकेत दिए पनि सभापति देउवा भने आगामी चुनावमा नेकपाको कमजोरीमाथि टेकेर बहुमत ल्याउने योजना कार्यान्वयन गर्न ओलीलाई चिढ्याई हाल्ने पक्षमा छैनन् ।
‘अहिले कुनै गुट वा दलसँग मोर्चाबन्दी गर्ने भन्दा कांग्रेस केन्द्रीय समिति बैठकले गर्ने निर्णय कार्यान्वयन गर्ने हो’ देउवाले दाहाल नेपालललाई दिएको जवाफबारे नेता लेखकले सारमा भने, ‘भोलिका लागि सबै विकल्प खुला छन् । तर प्रजातान्त्रिक पार्टी भएकाले चुनावमा जानुपर्छ । अदालतको फैसला पनि मान्नुपर्छ । दाहाल नेपाललाई सभापति ज्युले यही कुरा भन्नु भएको हो ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया