शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

योगेश भट्टराई भन्छन्, - देशमा के हुँदैछ ?

काठमाडौ : सत्तारुढ नेकपा (दाहाल-नेपाल पक्ष)का नेता योगेश भट्टराईले हिजो लोकतन्त्रका पक्षमा बहस गर्ने वकिलले आज प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बहस गरिरहेका बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै निवर्तमान पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीको कदम लोतकन्त्र, गणतन्त्र र संविधान विरोधी भएको बताएका हुन् ।

हिजोका दिनमा लोकतन्त्रको पक्षमा आन्दोलन गर्ने नेताहरुलाई जेलबाट छुटाउनका लागि बहस गर्ने वकिल आज प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गर्नुले प्रधानमन्त्री ओलीको कदम गणतन्त्र, संविधान र संघीयता विरोधी भएको टिप्पणी भट्टराईले गरेका हुन् ।

‘हिजो लोकतन्त्रविरुद्ध र लोकतन्त्रवादीलाई जेल पठाउन बहस गर्ने वकिलहरू आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्’ भट्टराईले ट्वीटमा लेखेका छन्, ‘अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिल जति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा ! देशमा के हुँदैछ ?’

कामचलाउ ओली नेतृत्वको सरकारमा पर्यटनमन्त्री भए पनि प्रतिनिधि सभा विघटन गरेको निर्णयविरुद्ध मन्त्री पदबाट राजीनामा दिएर सडक आन्दोलनमा लागेका भट्टराई हिजो आज ओलीका कटु आलोचकका रुपमा परिचित छन् ।