छाउ हुँदा शौचालय प्रयोग गर्न रोक

मार्तडी- जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाइनन् । छाउ भएका बेला उनी बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्थिन् ।
घर नजिकै बनाइएका शौचालयमा छाउ भएका बेला घरका मान्छेले प्रयोग गर्न नदिँदा जङ्गलको झाडी वा खोलामा धाउन बाध्य भएको रावलको गुनासो थियो । छाउ भएका महिलाले शौचालय प्रयोग नमिल्ले मान्यता रही आएकाले गर्दा धामी झाक्रीले पनि यसै कुरालाई प्रश्चय दिँदै आएको उनको भनाइ थियो ।
उक्त वडाका अधिकांश महिलाले पनि छाउ भएका बेला गोठमै बस्ने र शौचालय प्रयोग गर्न नपाउने गरेको पाइएको छ । छाउ भएका बेला घरभित्र बस्दा देउता रिसाउने र गाईभैँसीले दूध दिन छोड्नेजस्ता कुसंस्कार रही आएकाले महिलालाई घरभित्र बस्न नदिने गरिएको नाम नबताउने एक महिलाको गुनासो थियो ।
उनका अनुसार परम्परादेखि मान्दै आएको प्रचलनलाई तोड्न सकिएको छैन। उक्त वडालाई छाउ गोठमुक्त घोषणाका लागि अनुगमनका क्रममा सम्बद्ध महिलाले आफ्ना समस्या दर्साएका थिए । धार्मिक परम्पराअनुसार महिला छाउ भएपछि घरभन्दा पर बस्नुपर्ने पोषिलो खानेकुरा खान नहुनेजस्ता प्रचलन अझै व्याप्त छ । वर्षाको समयमा त छाउ भएको बेला झनै बस्न गारो हुन्थ्यो भने हिँउदको समयमासमेत छाउगोठमा बस्न निकै समस्या हुने गरेको गौरीले बताइन् ।
उनले भनिन्, 'भुईंमा सुत्नुपर्छ, चिसोले सारै सताउछ, असुरक्षित महसुस हुन्छ, कीराफट्ग्रा र सर्पको निकै डर लाग्छ, आफ्नो समुदायका सबै यही छाउगोठमा आउँछौँ र पराल विछ्याएर सुत्छौ ।'
गौरीले छाउ गोठमा बस्नुमात्र समस्या होइन शौचालयसमेत प्रयोग गर्न नपाउनु अर्को समस्या भएको बताइन् । दिनमा शौच लागे दिसापिसाब च्यापेर रातिसम्म पर्खनुपर्छ, कुसंस्कारलाई हटाउन त हामी चाहान्छौँ तर घरका पुराना मान्छेहरु मान्दैनन् परिवर्तन गर्न खोजे झन उल्टै रिसाउने र डर तथा धम्की दिने गरेको उनको गुनासो थियो ।
ऐडिबाडाकी एक महिलाले पहिलैदेखि देवता मान्दै आएका र छाउ भएको बेला नछुट्टिए देवता लाग्ने डरले हामीले छाउगोठमै बस्ने गरेको बताइन् । उनले यो प्रथा हटाउन त मन भए पनि हामीले देवताका डरले अहिलेसम्म हटाउन सकेका छैनौँ भनिन् ।
छाउगोठ शिक्षितकै घरमा पनि भेटिएका छन् । उक्त वडामा बढीजसो कर्मचारी र सुरक्षाकर्मीका घरमा छाउगोठ देखिएको थियो । नगरपालिकाको छाउपडी गोठमुक्त अभियानअन्तर्गत वडा नं ८ मा यही फागुन २४ गते छाउगोठमुक्त वडा घोषण गर्ने तयारी गरेको पनि घोषणा चुनौतीको विषय भएको बताइएको छ । रासस

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया