सोमबार ३० असार, २०८२
Monday, July 14, 2025

भारत-अस्ट्रेलिया क्रिकेट : अस्ट्रेलियाको मध्यम प्रदर्शन

ब्रिसबेन : भारत र अस्ट्रेलियाबीचको चौथो तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले ५ विकेटको क्षतिमा २७४ रन बनाएको छ । 

पटक पटक जीवनदान पाएका मार्नस लाबुसानेको १०८ रनको मद्दतले अस्ट्रेलिया ठूलै स्कोरतर्फ अग्रसर भएको हो । अस्ट्रेलियाका अन्य खेलाडीहरुमा डेभिड वार्नरले १, मार्कस ह्यारिसले ५, स्टिभेन स्मिथले ३६ र म्याथ्यु वेडले ४५ रन बनाएका थिए । 

क्यामरुन ग्रीन २८ र कप्तान टिम पेन ३८ रन बनाएर खेलिरहेका छन् । 

यसअघि भएका तीन खेलमध्ये दुबै टिमले १-१ खेल जितेर बराबरीको स्थिति छ । एक खेल भने बराबरीमा समाप्त भएको थियो । बोर्डर-गावस्कर ट्रफी जित्‍न यो टेस्ट अस्ट्रेलियाले जित्‍नै पर्दछ । 

भारतका प्रमुख बलरहरु जसप्रित बुमराह र रविचन्द्रन आश्विन घाइते भएकाले दुई जना नयाँ खेलाडीले यस टेस्टमा मौका पाएका छन् । अर्का तीब्र गतिका भारतीय बलर नवदीप सैनी पनि चोटका कारण दोस्रो सत्रबाट मैदानमा देखिएका छैनन् ।

तुलनात्मक रुपमा कमजोर क्षेत्र रक्षण गरेको भारतले शतक प्रहार गरेका मार्नस लाबुसाने समेतका केही क्याच छोडेपछि भारतीय टीम निराश भएको थियो । (एएफपी)