आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

फाइल तस्‍बिर

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसैगरी  बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ । 

फागुन ८ गते एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठक नै बस्न सकेको छैन । १२ गतेका तोकिएको बैठक सर्दै आएको छ । १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन् ।

प्रतिनिधि सभा बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्नेछ ।