सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

प्रधानमन्त्री कपः आर्मीको प्रभावशाली जित

काठमाडौं : शुक्रबारदेखि सुरु प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा विभागीय टिम आर्मीले गण्डकी प्रदेशमाथि ९७ रनको जित दर्ता गर्‍याे । 

किर्तीपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीलाई जित दिलाउन कप्तान विनोद भण्डारीले शतक प्रहार गरे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८७ रनको यागफल तयार पार्दा भण्डारीले अविजित एक सय ११ रन बनाए । जवाफमा गण्डकीले ४८ ओभरमा सम्पूर्ण विकेट गुमाउदै एक सय ८९ रन मात्रै बनाउन सक्यो । 

आर्मीको जितमा भण्डारी बाहेक राजेश पुलामीको पनि योगदान महत्वपूर्ण रह्यो । पुलामीले पाँच विकेट लिए भने ३८ रन जोडे । भण्डारीले ७६ बलको सामना गर्दै एक सय ११ रन बनाउँदा पुलामीसँग ७३ रनको साझेदारी गरेका थिए । आर्मीका लागि ओपनर राजु रिजालले ४५ रनको योगदान गरे भने लोकेश बमले ४२ रन बनाए । 
पराजित गण्डकीका लागि विशाल पौडेल र विपिन खत्रीले दुई–दुई विकेट लिए भने दीपेश खत्री र चन्द्र पौडेलले एक–एक विकेट थपे ।  

उता गण्डकीलाई सस्तैमा समेट्न भिम शार्कीले तनि विकेट लिए । गण्डकीले सुरुवाती विकेट सात रनका लागि गुमाउँदा, अर्जुन कुमालले ३६ रन बनाउँदै आफ्नो टोलीको इनिङ सम्हाल्न खोेजे । तेस्रो नम्बरमा आएका समिर कडेलले ५० रन तथा मध्यक्रमका अर्का ब्याट्सम्यान दिपक डुम्रेले २६ रन बनाए पनि अन्य खेलाडीहरुले गण्डकीको इनिङ उकास्न सकेनन् । कप्तान विपिन खत्रीले अविजित ३७ रन बनाए पनि गण्डकीले लक्ष्य भेट्न सकेन ।  

माघ १७ सम्म हुने प्रतियोगितामा विभागिय तीन सहित कुल १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमहरुलाई दुई समूहमा विभाजित गरिएको छ । समूह ‘ए’ मा आर्मी, एपीएफ, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बी’ मा पुलिस, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल माघ १४ र १५ मा तथा फाइनल माघ १७ मा हुनेछ ।