बुधबार २८ जेठ, २०८२
Wednesday, June 11, 2025

जसपामा वरियता विवाद : 'पार्टीमा बस्‍नु छ भने बस बढी बोले पार्टीबाट हटाउँछु' (अडियोसहित)

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) मा वरियताका विषयमा उठेको विवाद गम्भीर रूप लिएको छ । अध्यक्षले कार्यकर्ता र कार्यकर्ताले पार्टीबाटै भगाइ दिने चेतावनीसम्मको अवस्थामा विवाद पुगेको छ ।

वरियताको विषयमा पार्टी अध्यक्ष उपेन्द्र यादव र सिरहाका नेता राजाराम यादवबीच भएको विवाद टेलिफोन सम्वाद समाजिक सञ्जालमा भाइरल भइरहेको छ । माघ ३ गते शनिवार सिरहामा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध जसपा आयोजना गर्न लागेको विरोध सभाको अतिथि सूचीको वरियतामा राजकिशोर यादवको नाम तल राखेपछि विवाद उत्पन्‍न भएको हो ।

राजकिशोरलाइ उनकै गृह जिल्लामा चौँथो स्थानमा राखिएपछि उनका समर्थकहरू विरोधमा उत्रेका हुन । राजकिशोर यादव तत्कालिन राजपा नेपालमा ६ वटा अध्यक्ष मध्येका एक हुन । राजपा र समाजवादी पार्टी एकिकरणपछि जसपामा उनी  कार्यकारिणी सदस्य हुन ।

जसपा सिरहाका नेता राजाराम यादवले फोनमार्फत असन्तुष्टि व्यक्त गर्दा अध्ययक्ष यादवले पार्टीमा बस्‍नु छ भने बस बढी बोलिस भने पार्टीबाट हटाइ दिने धम्की दिएपछि उनले पनि तपाईलाई पार्टीबाट भगाई दिने चेतावनी दिएका छन् ।

विवाद यहांसम्म पुगेको छ कि शनिवार हुने विरोध सभालाई राजकिशोर समुहले कालो झण्डा देखाउने र कार्यक्रमसमेत बिथोल्ने भएका छन् । मैथिली भाषामा गरिएको सो फोन कलमा अध्यक्ष यादवलाई राजारामले वरियताक्रम नसच्याइए कालो झन्डा देखाँउछौं, कार्यक्रम बहिष्कार र बिथोल्ने चेतावनी दिएका छन् ।

फोनकलमा वरियताक्रम मिचेर मधेश आन्दोलनको मर्म र असली कार्यकर्तालाई अपमानित गर्न खोजिएको आरोप लगाएका छन् । टेलिफोन सम्वादमा अध्यक्ष यादवले राजकिशोर यादवलाई केपी ओलीको कार्यक्रममा सहभागी भएको आरोप लगाउँदै हुन राजारामलाई मात्र होइन राजकिशोरसमेतलाई पार्टी छोडेर भाग्‍न चेतावनी दिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पूर्व राजपा पक्षलाई पेल्दै कार्यक्रममा वरियता मिच्‍न थालेपछि कार्यक्रम विवादित बनेको स्थानीय नेता कार्यकर्ताहरुको आरोप छ । पार्टी वरियता क्रममा राजकिशोरभन्दा तल रहेका रेणु यादव, प्रकाश अधिकारी, विजय यादव माथि राखएको छ । तर राजकिशोर उनकै जिल्लामा हेप्‍ने कार्य गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

सिरहामा हुन लागेको सो बिरोधसभामा पहिलो वरियतामा रेणु यादवलाई राखिएको छ भने  दोस्रोमा प्रकाश अधिकारी र तेस्रोमा विजय यादवलाई राखिएको हो । त्यसपछि मात्रै चौथो नम्बरमा नेता राजकिशोर यादवलाई राखिएको हो । माथि वरियतामा राखिएका तीनै जना अध्यक्ष उपेन्द्र यादव पक्षधर हुन् ।