सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

प्रधानसेनापति ट्रफी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौं : गएको पुस ११ गतेदेखि शुरु ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता-२०७७’ विजेतालाई पुरस्कार वितरण गरिएको छ । जङ्गी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विशेष समारोहका बीच विजेतालाइृ पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, शुटीङ्ग र एथलेटिक्सका गरी ५ वटा विधा समावेश गरिएको थियो । यस्तै आर्चेरीलाई पहिलो पटक डेमोन्सट्रेशन खेलको रुपमा समावेश गरिएको थियो । समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री नं. १६ बाहिनी अड्डा, श्री मध्य पृतना हेडक्वाटर तथा श्री उतर पश्चिम पृतना हेडक्वाटरलाई नगद तथा ट्रफि प्रदान गरिएको थियो ।

गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः श्री जगदल गण, श्री नं. १ जगदल गण र श्री चण्डीदल गणलाई समेत ट्रफि तथा नगद पुरस्कार प्रदान गरिएको थियो । 

यस्तै बलाधिकृत रथी श्री प्रभुराम शर्माले शुक्रबार नै आयोजित गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरे । त्यसै गरी उक्त खेलमा द्वितीय हुने नयाँ गोरख गणका खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले र  तृतीय हुने भैरव प्रसाद गणका खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए ।